close

चर्चित शिक्षक तथा युट्युबर खान सरको कोचिङ सेन्टरमा गोली प्रहार

टेकपाना टेकपाना

जेठ २०, २०८३ १२:४४

चर्चित शिक्षक तथा युट्युबर खान सरको कोचिङ सेन्टरमा गोली प्रहार

काठमाडौँ । विहारको राजधानी पटनामा रहेको चर्चित शिक्षक तथा युट्युबर खान सरको कोचिङ सेन्टर बाहिर मङ्गगलबार गोली प्रहार हुनुका साथै तोडफोडको भएको छ । पटनाको मुसल्लहपुर हाट क्षेत्रमा रहेको सेन्टर बाहिर भएको आक्रमणमा एक सुरक्षाकर्मी घाइते भएका छन् । उनको हाल अस्पतालमा उपचार भइरहेको उल्लेख छ ।

खान सरले दिएको जानकारी अनुसार बिहार पुलिस भर्तीको नतिजामा उनका हजारौँ विद्यार्थीहरू उत्तीर्ण भएपछि उनको टोली व्यस्त र थकित थियो । त्यही समयमा केही 'असामाजिक तत्त्वहरू' संस्थानमा आएर कर्मचारीहरूलाई धम्की दिनुका साथै सुरक्षाकर्मीहरूमाथि कुटपिट सुरु गरेका थिए ।

खान सरले सुरुमा ८ देखि १० राउण्ड गोली चलेको दाबी गरे पनि पछि उनले उक्त कुरा सुरक्षाकर्मीहरूको भनाइको आधारमा बोलेको र कोलाहलका कारण आफू पूर्ण रूपमा स्पष्ट नभएको बताएका छन् ।

उनले यो घटनाको पछाडि नजिकैका प्रतिद्वन्द्वी कोचिङ सेन्टरहरूको हात रहेको गम्भीर आरोप लगाएका छन् । उनका अनुसार प्रतिद्वन्द्वी कोचिङ सेन्टरहरूले दुई दिनभित्र उनको कोचिङ सेन्टर उडाइदिने धम्की समेत दिएका थिए ।

खान सरले आफ्नो संस्थानमा न्यून शुल्कमा गुणस्तरीय शिक्षा दिएर राम्रो नतिजा ल्याएको कारण अन्य व्यावसायिक कोचिङ सेन्टरहरू उनीसँग रुष्ट रहेको र उनलाई दबाउन खोजेको दाबी गरेका छन् ।

 

 

घटनापछि सार्वजनिक भएको सीसीटिभी फुटेजमा केही व्यक्तिहरूले ढुङ्गा प्रहार गरेको, तोडफोड गरेको र खान सरको कोचिङ सेन्टरका ब्यानरहरू उखेलेर फालेको देखिएको छ । खान सरले उक्त फुटेज अधिकारीहरूलाई बुझाइसकेका छन् र दोषीहरूको पहिचान भइसकेको बताएका छन् ।

प्रहरीले यस घटनालाई गम्भीरतापूर्वक लिएको छ । एसपी कार्तिकेय शर्माका अनुसार घाइते सुरक्षाकर्मी र स्थानीय बासिन्दाहरूको बयान लिने काम भइरहेको छ । हाल यसलाई भौतिक आक्रमणको मुद्दाको रूपमा अनुसन्धान अगाडि बढाइएको छ ।

यद्यपि सेन्ट्रल एसपी दीक्षाले प्रहरीले गोलीप्रहारको ठोस प्रमाण खोजिरहेको र सीसीटीभी फुटेजको सूक्ष्म विश्लेषण गरिरहेको जानकारी दिएकी छिन् । घटनाको भोलिपल्ट खान सरका विद्यार्थीहरूले ठुलो सङ्ख्यामा सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका छन् ।

विद्यार्थीहरूको आक्रोशलाई ध्यानमा राख्दै उक्त क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी बल परिचालन गरिएको छ । खान सरले प्रशासनसँग सुरक्षाको माग गर्दै गरिब विद्यार्थीहरूलाई पनि पढ्ने अधिकार रहेको र यस्ता तत्त्वहरूले उनीहरूको भविष्यमा बाधा पुर्‍याउन नहुने बताएका छन् ।

प्रहरीले कोचिङ सेन्टरहरूबिचको प्रतिस्पर्धा र वर्चस्वको लडाइँ लगायतका सबै पक्षहरूलाई समेटेर अनुसन्धान गरिरहेको छ । मुसल्लहपुर हाट क्षेत्र पटनाको शैक्षिक हब मानिन्छ । जहाँ हजारौँ विद्यार्थीहरू प्रतिस्पर्धात्मक परीक्षाको तयारीका लागि आउने गर्छन् ।

 

पछिल्लो अध्यावधिक: जेठ २०, २०८३ १२:४७