त्रिविले भोलिदेखि समकक्षताको प्रमाणपत्र नदिने, अब विश्वविद्यालय अनुदान आयोगबाट लिनुपर्ने
असार ३२, २०८३ १०:२
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले शैक्षिक योग्यताको समकक्षता (Equivalency) निर्धारण गर्ने कार्य बन्द गर्ने भएको छ ।
त्रिवि पाठ्यक्रम विकास केन्द्रले सूचना जारी गर्दै केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२ अन्तर्गत विश्वविद्यालय अनुदान आयोग ऐन, २०५० मा संशोधन भएपछि उच्च शिक्षाको उपाधिको समकक्षता निर्धारण गर्ने जिम्मेवारी विश्वविद्यालय अनुदान आयोग (यूजीसी) मा सरेको जनाएको छ ।
सोही कानुनी व्यवस्थाअनुसार २०८३ साउन १ गतेदेखि समकक्षता निर्धारणको कार्य विश्वविद्यालय अनुदान आयोगले गर्ने व्यवस्था भएकाले पाठ्यक्रम विकास केन्द्रले शुक्रबार (२०८३ साउन १ गते) देखि समकक्षताका लागि नयाँ आवेदन नलिने जनाएको छ ।
त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले विगत तीन दशकदेखि विद्यार्थीलाई समकक्षताको प्रमाणपत्र दिँदै आएको थियो । गत वर्ष नेपाल ऐन संशोधनमार्फत विश्वविद्यालय अनुदान आयोग ऐन २०५० मा संशोधन गरिएपछि समकक्षता दिने अधिकार आयोगले पाएको हो ।
पछिल्लो अध्यावधिक: असार ३२, २०८३ १०:१९
