काठमाडौँ । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । टिकटक र विभिन्न युट्युब च्यानलमा ‘नेपाली ब्रो’ नामले चिनिने ४२ वर्षीय कुमार थापा श्रीमती ईश्वरी भुजेलको हत्या आरोपमा पक्राउ परेका हुन् ।
प्रहरीले शनिबार सार्वजनिक गरेको सूचना अनुसार घटना शुक्रबार रातिको हो । काठमाडौँको तारकेश्वर नगरपालिका-०६ लोलाङ पैँयुटारमा राति करिब १०:१० बजे घरायसी विवादका क्रममा थापाले ४२ वर्षीया श्रीमती ईश्वरी भुजेलमाथि फलामको रड प्रहार गरेका थिए ।
रड प्रहारबाट गम्भीर घाइते भएकी भुजेलको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । “शुक्रबार राति १०:१० बजे रड प्रहारबाट गम्भीर घाइते भएकी भुजेलको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मृत्यु भएको हो,” प्रहरीले सूचनामा भनेको छ, “रड प्रहार गर्ने कुमार थापालाई नियन्त्रणमा लिई प्रहरी वृत्त बालाजुमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।”
आरोपी थापाले सामाजिक सञ्जालमा विवादास्पद र अश्लील हर्कत गर्दै अन्तर्वार्ता दिने गर्थे । साथै उनी रेस्लिङ खेलमा पनि आबद्ध थिए ।
पछिल्लो अध्यावधिक: जेठ २३, २०८३ ९:३०
