close

यौनजन्य सामग्री रोक्न एप्पल-गुगललाई बेलायतको अल्टिमेटम, बालबालिकालाई सामाजिक सञ्जाल प्रतिबन्ध हुँदै

टेकपाना टेकपाना

जेठ २६, २०८३ ७:३०

यौनजन्य सामग्री रोक्न एप्पल-गुगललाई बेलायतको अल्टिमेटम, बालबालिकालाई सामाजिक सञ्जाल प्रतिबन्ध हुँदै

काठमाडाैँ । बेलायत सरकारले एप्पल र गुगल जस्ता प्रविधि कम्पनीहरूलाई १८ वर्षभन्दा कम उमेरका बालबालिकाले स्मार्टफोन तथा अन्य उपकरणमार्फत नग्न तस्वीरहरू हेर्न नपाउने व्यवस्था गर्न ३ महिनाको अल्टिमेटम दिएको छ । बेलायती प्रधानमन्त्री किअर स्टार्मरले प्रविधि कम्पनीहरूलाई बालबालिकाले आफ्नो फोन तथा अन्य उपकरणमार्फत यौनजन्य तस्वीर लिन, पठाउन वा हेर्न नपाउने गरी उपकरणमा पहिलेदेखि रहेका सुरक्षा सुविधाहरू सक्रिय गर्न वा सफ्टवेयर अद्यावधिक गर्न निर्देशन दिएका छन् ।

कम्पनीहरूले ३ महिनाभित्र स्वेच्छाले यी सुरक्षा सुविधाहरू लागु नगरे सरकारले कानुनी रूपमा बाध्यकारी बनाउने विधेयक अघि बढाउने चेतावनी दिएको बीबीसीको रिपोर्टमा उल्लेख छ । नियम पालना नगर्ने कम्पनीहरूलाई जरिवाना वा अन्तिम उपायका रूपमा आपराधिक गतिविधिका लागि जिम्मेवार बनाइन सक्ने सरकारको भनाइ छ । यी परिवर्तनहरू बेलायतमा हाल प्रयोगमा रहेका तथा नयाँ बिक्री हुने स्मार्टफोन र ट्याबलेट दुवैमा लागु हुने प्रधानमन्त्री स्टार्मरले बताएका छन् ।

“प्रस्तावित कानुनले अपरेटिङ सिस्टम प्रदायक तथा खुद्रा विक्रेतासहित आपूर्ति शृङ्खलामा संलग्न अन्य पक्षहरूलाई समेत समेट्न सक्छ । तर उमेर प्रमाणित गरी प्रयोग गर्ने वयस्कहरूको उपकरण प्रयोगमा भने कुनै असर पर्ने छैन,” स्टार्मरले भने । गुगल र एप्पलले पहिलादेखि नै आफ्ना डिभाइसहरुमा बालबालिकाका लागि सुरक्षा फिचरहरू दिइरहेका छन् । यद्यपि, स्टार्मरको अल्टिमेटमपछि कम्पनीहरुले कस्तो थप नयाँ फिचर ल्याउँछन् भन्ने स्पष्ट छैन ।

यता, बेलायतले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने नीति पनि सार्वजनिक गर्ने तयारी गरिरहेको छ । प्रधानमन्त्री स्टार्मरले आगामी हप्ता एक वक्तव्यमार्फत सामाजिक सञ्जालसम्बन्धी नयाँ नीति सार्वजनिक गर्ने योजना रहेको बीबीसीले उल्लेख गरेको छ ।

पछिल्लो अध्यावधिक: जेठ २६, २०८३ ७:३९