'एआईका फाइदा' बारेको प्रतिवेदन एआईलाई नै लेख्न लगाएपछि विश्वको चौथो ठुलो अडिट कम्पनी विवादमा
जेठ ३१, २०८३ १७:५९
काठमाडौं । विश्वको चौथो ठुलो अडिट तथा व्यावसायिक सेवा प्रदायक संस्था केपीएमजीले एआईका फाइदा बारेको रिपोर्ट एआईलाई नै लेख्न लगाएको पाइएपछि विवादमा तानिएको छ । केपीएमजीले अक्टोबर सन् २०२५ मै सार्वजनिक गरेको “रेडिफाइनिङ एक्सिलेन्स इन द एज अफ एजेन्टिक एआई” (एजेन्टिक एआईको युगमा उत्कृष्टताको पुनःपरिभाषा) शीर्षकको प्रतिवेदनको अधिकांश हिस्सा एआईले लेखेको भेटिएको हो ।
एआईलाई लेख्न लगाएपछि विवादमा तानिएको केपीएमजीले अहिले उक्त प्रतिवेदन फिर्ता लिएको र वेबसाइटबाटै हटाएको फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ । विभिन्न कम्पनी र संस्थाहरूले आफ्नो एआई प्रयोगबारे प्रतिवेदनमा गरिएका दाबीहरू झुटा रहेको बताएपछि केपीएमजीले उक्त प्रतिवेदन फिर्ता लिएको हो । प्रतिवेदनमा भएका त्रुटिहरू सुरुमा प्रविधि अनुसन्धान समूह जिपिटिजिरो ले पत्ता लगाएको थियो भने फाइनान्सियल टाइम्सले त्यसको पुष्टि गरेको थियो ।
जिपिटिजिरोले फाइनान्सियल टाइम्सलाई बताएअनुसार ती त्रुटिहरू एआई ह्यालुसिनेसन (एआईले भ्रमवश दिने गलत सूचना) का कारण सिर्जना भएका हुन् । यसको अर्थ, केपीएमजीले एआईकै बारेमा प्रतिवेदन तयार पार्नका लागि एआईकै सहयोग लिएको देखिन्छ । केपीएमजीको प्रतिवेदनले विश्वव्यापी संस्थाहरूले जटिल र स्वचालित कार्यहरू सम्हाल्नका लागि अत्यधिक उन्नत एआई एजेन्टहरू सफलतापूर्वक परिचालन गरिरहेको दाबी गरेको थियो ।
यद्यपि, रिपोर्टमा उल्लेख गरिएका संस्थाहरूले त्यसको खण्डन गरेका छन् । स्विजरल्यान्डको बहुराष्ट्रिय इन्भेष्टमेन्ट बैंक युबिएस, बेलायतको नेसनल हेल्थ सर्भिस, स्विस फेडरल रेलवे र ट्रान्सपोर्ट फर लन्डन सबैले प्रतिवेदनमा उनीहरूको एआई प्रयोगबारे गरिएका दाबीहरू कि त असत्य कि त भ्रामक रहेको बताएका छन् । बिग फोर भनेर चिनिएका विश्वका ठुला अडिट कम्पनीहरूले एआईबाट प्रतिवेदन तयार पारेको यो दोस्रो ठुलो घटना हो ।
अघिल्लो महिना मात्र केपीएमजीको प्रतिस्पर्धी संस्था अर्न्स्ट एन्ड यङ्ग (EY) पनि आफ्नो एक प्रमुख अध्ययन प्रतिवेदन फिर्ता लिन बाध्य भएको थियो । जिपिटिजिरोले उक्त प्रतिवेदनको पाठमा नक्कली फुटनोटहरू र एआईद्वारा सिर्जित अन्य त्रुटिहरू फेला पारेपछि अर्न्स्ट एन्ड यङ्गले प्रतिवेदन फिर्ता लिएको थियो । अन्य कम्पनी र विभिन्न देशका सरकारहरूले समेत यी ठुला अडिट कम्पनीहरूलाई अत्यधिक विश्वसनीय मान्दै आएका छन् । तर आफ्नै कामको तथ्य जाँच गर्न चुक्दा यसले एउटा खतरनाक तरङ्ग पैदा गर्ने देखिएको छ ।
पछिल्लो अध्यावधिक: जेठ ३१, २०८३ १८:१८
