close

फ्याक्टचेकः रास्वपा महामन्त्रीको नियुक्तिसम्बन्धी अभिव्यक्ति विवादित, ड्यामेज कन्ट्रोल गर्न भ्रामक शीर्षकको सहारा

फ्याक्टचेकः रास्वपा महामन्त्रीको नियुक्तिसम्बन्धी अभिव्यक्ति विवादित, ड्यामेज कन्ट्रोल गर्न भ्रामक शीर्षकको सहारा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री तथा सांसद कविन्द्र बुर्लाकोटीले सरकारी नियुक्तिको सवालमा दिएको अभिव्यक्ति केही दिनदेखि सामाजिक सञ्जालमा भाइरल छ । जसमा उनले रास्वपालाई चुनावमा जिताउन भूमिका खेल्नेहरूलाई नियुक्तिका क्रममा प्राथमिकता दिइने कुरा बताएको भनिएको छ । 

२६ जेठ २०८३ (९ जुन २०२६) मा हेटौँडामा आयोजित रास्वपाको बागमति प्रदेश अधिवेशनमा बुर्लाकोटीले सो मन्तव्य दिएका थिए । तर उनकै सचिवालयले भने सोही भिडिओ क्लिप शेयर गर्दै स्थानीय तह उम्मेदवार छनोटको सवालमा बुर्लाकोटीले सो अभिव्यक्ति दिएको आशयसहितको दाबी गरेको छ । सामाजिक सञ्जालमा दुई किसिमका फरक अर्थ लाग्ने दाबीसहित एउटै भिडिओ क्लिप फैलिएको पाइएपछि टेकपानाले यसको फ्याक्टचेक गरेको छ । त्यस क्रममा अन्य सामाजिक सञ्जाल पेज तथा सञ्चार माध्यमले नभई महामन्त्री बुर्लाकोटीकै सचिवालयले भिडिओमार्फत भ्रम फैलाएको पुष्टि भएको छ । 

दाबी

रास्वपाका महामन्त्री तथा सांसद कविन्द्र बुर्लाकोटी सचिवालयको फेसबुक पेज 'Kabindra Burlakoti Secretariat कविन्द्र बुर्लाकोटी सचिवालय' मा ११ जुनदेखि १५ जुनको बिचमा बागमती प्रदेश अधिवेशनमा उनले दिएको मन्तव्यका ८ वटा छुट्टाछुट्टै भिडिओ क्लिप राखिएका छन् । १३ जुन २०२६ को दिन उक्त पेजमा त्यसमध्येको एउटा भिडिओ पोस्ट भएको छ । जसको क्याप्सन छ, 'अरु सरह योग्य र इमान्दार पनि साथै पार्टीमा पनि योगदान भए स्थानीय तह उम्मेदवार छनोटमा १ नम्बर थप हुन्छ । पार्टीमा योगदान गरेकालाई पन्छाउने नीति छैन ।' ३६ सेकेन्ड लामो सो भिडिओमा उनले दिएको भाषणको ट्रान्सक्रिप्सन यस्तो छः

"अब पार्टीमा नजोडिएको, इमान्दार भएर विश्वविद्यालयमा पढाएको, योग्य व्यक्ति छ तर राष्ट्रिय स्वतन्त्र पार्टीको झण्डा बोकेर हिँडेको छैन । अरु पार्टीको पनि झण्डा बोकेर हिँडेको छैन-एक । त्यत्तिकै योग्य छ तर राष्ट्रिय स्वतन्त्र पार्टीले जित्नुपर्छ भनेर अलिकति सहयोग पनि गरेको, क्षेत्रमा जाँदा आफ्नो घर वरिपरि भनिदिने पनि गरेको, अब जसले जिते पनि के फरक पर्छ भनेर काठमाडौंमै नबसेको, रास्वपाले नै जितोस् भनेर गाउँमा गएर भोट हाल्न प्रेरित गरेको छ भने एक नम्बर त्यस्ता व्यक्तिको नाममा थपिन्छ ।"

हेर्नुहोस् बुर्लाकोटीको सचिवालयको फेसबुक पेजमा भएको ३६ सेकेन्डको भिडिओ र त्यसको स्क्रिनशटः 

अनुसन्धान

बुर्लाकोटीको भाइरल भिडिओ क्लिपलाई विभिन्न फेसबुक पेज तथा अनलाइन सञ्चार माध्यमहरूले भने उनको सचिवालयले क्याप्सनमा लेखेको भन्दा फरक अर्थ लाग्ने गरी सम्प्रेषण गरेको पाइयो । १४ जुन २०२६ को दिन रातोपाटीले 'रास्वपाको मेरिटोक्रेसी : पार्टीलाई सहयोग गर्नेलाई १ नम्बर थप' शीर्षकमा समाचार लेखेको छ । रातोपाटीमा प्रकाशित समाचार र त्यसको स्क्रिनशट ।

सोही मितिमा जनआस्थाले ‘विश्वविद्यालयमा रास्वपाकरण ?’ शीर्षकमा समाचार लेखेको छ । हेर्नुहोस् समाचार र त्यसको स्क्रिनशटः 

यसैगरी १४ जुन २०२६ को मितिमा मकालुखबर नामक फेसबुक पेजमा ‘रास्वपाको नियुक्ति दिने नीति, झन्डा बोक्नेलाई १ नम्बर !’ क्याप्सन सहित बुर्लाकोटीको भिडिओ राखेको भेटियो । हेर्नुहोस्, ४६ सेकेन्ड लामो भिडिओ र त्यसको स्क्रिनशट । 

१५ जुन २०२६ को मितिमा अनलाइन खबरले ‘रास्वपाका सहयोगीलाई नियुक्तिमा ग्रेसमार्क’ शीर्षकमा समाचार लेखेको छ । हेर्नुहोस्, समाचार, त्यसको स्क्रिनशट र फेसबुकमा राखिएको ४९ सेकेन्ड लामो भिडिओ ।  

खोज्दै जाने क्रममा Info Nepal TV नामक युट्युब च्यानलफेसबुक पेजमा ‘रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीको ‘एक नम्बर’ किन विवादित बन्यो ? के भनेका थिए ?’ शीर्षकमा राखिएको दुई मिनेट ३८ सेकेन्ड लामो बुर्लाकोटीको भिडिओ भेटियो । सम्पादन पश्चात् सो भिडिओ राख्ने फेसबुक पेजमा रहेको मोबाइल नम्बरमा सम्पर्क गरी त्यस विषयमा टेकपाना फ्याक्टचेक डेस्कले थप बुझ्ने प्रयास गर्‍यो । त्यसका सञ्चालकले भिडिओ आफूहरूले नै खिचेको र त्यसको असम्पादित केही लामो भर्सन समेत रहेको सुनाए । त्यसपछि हामीले उनलाई सो भिडिओको ओरिजिनल फाइल उपलब्ध गराइदिन अनुरोध गर्‍यौँ । ६ मिनेट ५८ सेकेन्ड लामो असम्पादित भिडिओको पुरा ट्रान्सक्रिप्सन यस्तो छः 

तल हेर्नुहोस् Info Nepal TV बाट टेकपानालाई प्राप्त विस्तृत भिडिओ

११ जुन २०२६ को साँझ ७ः४३ बजेको समयमा पोस्ट भएको बुर्लाकोटीको भिडिओ क्लिप विवादित भएपछि उनको सचिवालयले १४ जुन राति १०ः३४ बजेको समयमा त्यसको शीर्षक सम्पादन गरेको देखियो । सुरुमा ‘एक नम्बर थपिन्छ’ भन्ने शीर्षक राखिएको र पछि फरक लाग्नेगरी त्यसलाई सम्पादन गरिएको स्पष्ट हुन्छ । 

हेर्नुहोस्, भिडिओको शीर्षक सम्पादन गरिएको विवरणः  

रास्वपा महामन्त्री बुर्लाकोटीले दिएको भाषणको असम्पादित भिडिओबाट उनले सरकारी नियुक्तिमा पार्टीलाई सहयोग गर्नेहरूलाई प्राथमिकता दिने बताएको स्पष्ट हुन्छ । अन्य सामाजिक सञ्जाल प्रयोगकर्ता र सञ्चार माध्यमहरूले नभई स्वयं उनकै सचिवालयले बुर्लाकोटीको अभिव्यक्ति विवादित भएपछि बचाउमा फरक अर्थ लाग्नेगरी शीर्षक सम्पादन गरेको पुष्टि भएको हो । 

दाबी 

रास्वपा महामन्त्री तथा सांसद कविन्द्र बुर्लाकोटीले दिएको अभिव्यक्ति सरकारी नियुक्तिमा नभई स्थानीय तह उम्मेदवार छनोटको विषय भएको आशय ।

दाबीकर्ता 

‘Kabindra Burlakoti Secretariat कविन्द्र बुर्लाकोटी सचिवालय’ फेसबुक पेज ।

तथ्य 

बुर्लाकोटीको ९ जुन २०२६ मा दिएको भाषणको ६ मिनेट ५८ सेकेन्ड लामो असम्पादित भिडिओमा उनले सरकारी नियुक्तिका सन्दर्भमा पार्टीलाई जिताउन सहयोग गर्ने व्यक्तिको नाममा ‘एक नम्बर थपिने’ बताएका छन् । उक्त अभिव्यक्ति विवादित बनेपछि सचिवालयले पहिले ‘एक नम्बर थपिन्छ’ शीर्षकमा पोस्ट गरिएको भिडिओको क्याप्सन सम्पादन गरी स्थानीय तह उम्मेदवार छनोटसँग सम्बन्धित विषय भएको आशय प्रस्तुत गरेको छ ।

निष्कर्ष 

बुर्लाकोटीको अभिव्यक्ति सरकारी नियुक्तिसम्बन्धी सन्दर्भमै रहेको । त्यसलाई स्थानीय तह उम्मेदवार छनोटसँग सम्बन्धित देखाउने गरी सचिवालयले पछि शीर्षक सम्पादन गरेर फरक अर्थ दिने प्रयास गरेको पाइएकाले उक्त दाबी भ्रामक छ ।


 

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, ​युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असार २, २०८३ २०:३