फ्याक्टचेक: मन्त्री महावीर पुनले अर्जेन्टिनाको जर्सी लगाएर किताब बेचेका होइनन्, भाइरल भिडिओ ‘एडिटेड’
असार ८, २०८३ १६:४७
काठमाडौं । पछिल्लो समय समाजिक सञ्जालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले अर्जेन्टिनाको जर्सी लगाएर पुस्तक बेचिरहेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ । मन्त्री पदमै रहँदा काठमाडौंको धरहरा अगाडि बसेर पुस्तक बेचिरहेको दाबी सहित भिडिओ भाइरल भएको हो ।
टेकपाना फ्याक्टचेक डेस्कले गरेको अनुसन्धानका क्रममा मन्त्री पुनले जर्सी लगाएको भिडिओ भ्रामक रहेको पाइएको छ । पुनले मन्त्री पद सम्हाल्नु भन्दा पहिले नै अर्थात् डेढ महिना अघि (१ मे) धरहरामा पुस्तक बेचेको भिडिओ आफ्नो टिकटकमा शेयर गरेका थिए । उक्त भिडिओमा उनले रातो टिसर्ट, फुल प्यान्ट र चप्पल लगाएका थिए । सोही भिडिओलाई एडिट गरेर अर्जेन्टिनाको जर्सी लगाएको जस्तो देखिने गरी भ्रम फैलाइएको पुष्टि भएको हो ।
दाबी
सामाजिक सञ्जाल ‘एक्स’ प्रयोगकर्ता ‘अन्टसन्ट विज्ञ’ ले २२ जुन बिहान ७:१४ मा मन्त्री महावीर पुनको १५ सेकेन्ड लामो भिडिओ शेयर गरेका छन् । उक्त भिडिओमा पुन अर्जेन्टिनाको जर्सी र कट्टुमा देखिएका छन् । जर्सीमा दुईवटा स्टार समेत देखिन्छ ।
भिडिओ शेयर गर्दै उनले मन्त्री बनेपछि पुस्तक बेचेको भन्दै उक्त कामलाई ‘भिख माग्नु’को संज्ञा दिएका छन् । उनले लेखेका छन्, “यिनलाई चै भिख माग्न काठमाण्डौँमा नै छाडेर सारा सबै 🔔 चितवन गएछन । 😂😂 थुईक्क Research and Innovation मन्त्रीको गति 😝”
भिडिओमा महावीर पुनले भनिरहेका छन्, “महावीर पुनको किताब आएको छ । किताब किन्न चाहनेहरू आउनुस् । केही छैन ल हेर्नुस् । किताब बेचेर आएको पैसाले वीरगञ्ज कृषि औजार कारखाना चलाएको छ । ल आउनुस् ।”
भिडिओको पछाडि धरहरा देखिएको छ । ‘अन्टसन्ट विज्ञ’ ले शेयर गरेको भिडिओमा यो सामग्री तयार पार्दासम्म १११ लाइक आएको छ । भिडिओलाई १३ हजार ५०० भन्दा धेरै पटक हेरिएको छ । हेर्नुहोस् पोस्ट, रेकर्डेड भिडओ र स्क्रिनशट ।

अनुसन्धान
‘aavashmedia’ नामको युट्युबबाट पनि रिल्स बनाएर सोही भिडिओ शेयर भएको पाइयो । उक्त भिडिओको क्याप्सनमा लेखिएको छ, “अब केही होलान् दाई पनि गोल पेरेमि हुनुहुन्छ दामि दामि” । हेर्नुहोस् भिडिओ र स्क्रिनशट ।

‘Routine Of Banepa’ नामको फेसबुक पेजले २२ जुलाई मध्यान्ह १२:२६ मा पुनको धरहरा अगाडि नै अर्जेन्टिनाको जर्सो लगाएको तस्बिर राखेको छ । उक्त पोस्टमा लेखिएको छ, “TEAM ARGENTINA:- Minister Mahabir Pun was seen selling his own book while wearing Argentina jersey adding World Cup touch.” हेर्नुहोस् पोस्ट र स्क्रिनशट ।

‘DpSan S Magar’ नामका फेसबुक प्रयोगकर्ताले पनि सोही भिडिओ अपलोड गरेको भेटियो । हेर्नुहोस् पोस्ट र स्क्रिनशट ।

पुनले जर्सी लगाएको दाबी गरिएको अधिकांश पोस्टमा ‘K HO YO?’ लेखिएको वाटरमार्क देखिएको छ । त्यसपछि हामीले विभिन्न सामाजिक सञ्जालमा उक्त नामको अकाउन्ट वा पेज खोज्यौँ । टिकटकमा ‘@khoyo02’ नामको युजर आईडीबाट पुनको उक्त भिडिओ राखेको फेला पर्यो ।
२१ जुनमा शेयर गरिएको उक्त भिडिओलाई यो सामग्री तयार पार्दासम्म एक लाख पाँच हजार बढीले लाइक गरेका छन् भने ४९ हजारभन्दा धेरै पटक शेयर गरिएको छ । त्यस्तै १४ लाखभन्दा धेरै पटक हेरिएको छ ।
हेर्नुहोस् भिडिओ, रेकर्डेड भिडिओ र स्क्रिनशट ।

हामीले ‘k ho yo’ ले शेयर गरेको भिडिओबाट किफ्रेम निकालेर हेर्यौँ । जहाँ पुनले जर्सी र कट्टुमात्र नभएर मोजा समेत अर्जेन्टिना फुटबल टोलीको लगाएको देखियो । तर, जुत्ता भने लगाएको देखिँदैन ।

अहिले फिफा विश्वकप २०२६ चलिरहेको छ । यस्तोमा समर्थकले जर्सी लगाएर मन परेको देशको समर्थन गर्नु स्वाभाविक भए पनि कट्टु, मोजा लगाउनु र जुत्ता वा चप्पल नलगाउनु अस्वाभाविक देखिन्छ ।
हामीले ‘सिन्थ आईडी’, ‘हाइभ मोडरेसन’, ‘भेरिफाइ ओपन एआई जेनेरेटेड इमेज’, 'वाज इट एआई' जस्ता डिटेक्सन टुलमार्फत भिडिओ जाँच गर्दा सुरुमा एआईको प्रयोग भएको स्पष्ट संकेत मिलेन।
त्यसपछि हामीले सामाजिक सञ्जालमा महावीर पुनको भिडिओहरू खोजी गर्यौँ । खोज्ने क्रममा १ मे मा टिकटकमा महावीर पुनले धरहरा अगाडि किताब बेचिरहेको भिडिओ शेयर गरेको फेला पर्यो । हाल भाइरल भइरहेको भिडिओ जस्तै पुनले शेयर गरेको भिडिओ पनि धरहरा अगाडि नै खिचिएको हो । पुन २६ जेठ (९ जुन) मा मन्त्री पदमा नियुक्त भएका थिए ।
पुनले शेयर गरेको भिडिओमा यस्तो भनेका छन्, “महावीर पुनको किताब आएको छ । किताब किन्न चाहनेहरू आउनुस् । केही छैन ल हेर्नुस् । किताब बेचेर आएको पैसाले वीरगञ्ज कृषि औजार कारखाना चलाएको छ । ल आउनुस् । किताब किन्न चाहनेहरू आउनुस्” यत्ति भनेपछि पुन पेटीमा बसेका छन् ।
भाइरल भिडिओमा पनि माथि उल्लिखित कुरा नै पुनले बोलेको सुनिएको छ । २८ सेकेन्ड लामो उक्त भिडिओमा पुनले टाउकोमा ह्याट लगाएका छन् भने छातीमा चस्मा झुन्डिएको छ । पुनले रातो टिसर्ट, फुल प्यान्ट र चप्पल लगाएका छन् । हेर्नुहोस् पोस्ट र स्क्रिनशट ।
हामीले भाइरल भिडिओ र पुनले शेयर गरेको भिडिओबाट स्क्रिनशट लिएर तुलना गर्यौँ । भिडिओको स्थान र पुनको हाउभाउ दुरुस्तै देखियो । हेर्नुहोस् तुलना:

दाबी
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले काठमाडौंको धरहरा अगाडि अर्जेन्टिनाको जर्सी लगाएर पुस्तक बेचे ।
दाबीकर्ता
सामाजिक सञ्जाल ‘एक्स’ प्रयोगकर्ता ‘अन्टसन्ट विज्ञ’, फेसबुक पेज ‘Routine Of Banepa’, ‘DpSan S Magar’, टिकटक अकाउन्ट ‘@khoyo02’ लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ता ।
तथ्य
महावीर पुनले डेढ महिना पहिले (१ मे) मा धरहरा अघि किताब बेचेको भिडिओ टिकटकमा शेयर गरेका थिए । जहाँ पुनले रातो रङको टिसर्ट, फुल प्यान्ट र चप्पल लगाएका छन् भने उनको छातीमा चस्मा झुन्डिएको र टाउकोमा ह्याट देखिन्छ । त्यसबेला उनी विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री पदमा नियुक्त भइसकेका थिएनन् ।
निष्कर्ष
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले मन्त्री हुनुभन्दा पहिले नै रातो टिसर्ट लगाएर पुस्तक बेचिरहेको वास्तविक भिडिओलाई एडिट गरेर अर्जेन्टिनाको जर्सी लगाएको बनाइएको हो । अतः मन्त्रीले जर्सी लगाएर पुस्तक बेचेको भन्दै फैलाइएको दाबी भ्रामक र गलत छ ।

प्रतिक्रिया
तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।
पछिल्लो अध्यावधिक: असार ८, २०८३ १८:३१
