close

बोल्न-सुन्न नसके पनि भ्लगर, राइडर अनि सेफ बनेका सुन्दर पौडेल: भन्छन्- अपाङ्गता असक्षमता होइन

टेकपाना टेकपाना

असार ८, २०८३ १५:३

बोल्न-सुन्न नसके पनि भ्लगर, राइडर अनि सेफ बनेका सुन्दर पौडेल: भन्छन्- अपाङ्गता असक्षमता होइन

काठमाडौं । गठ्ठाघर, भक्तपुर । ५ जेठ शनिबार, दिउँसोको ठीक १ः२५ बजेको समय । बागमती प्रदेश ०२-०५८ प-९८४३ नम्बरको स्कुटरमा एक युवक कसैको पर्खाइमा थिए । स्कुटरको अगाडिपट्टि राखिएको मोबाइल होल्डरमा रहेको फोनमा ‘नोट एप’ खुला थियो । त्यसैमा औंला दौड्याइरहेका थिए उनी । केही समयमै एक यात्रु आइपुगे । यात्रुले खोजेकै नम्बरको स्कुटर थियो त्यो । ती चालकले हातकै इसाराले यात्रुलाई फोनमा नाम देखाउन भने ।

नाम भेरिफाई गरेपछि यात्रुलाई ठुलो अक्षरले ठाउँठाउँमा ‘SUNDARVL’ को स्टिकर टाँसिएको स्कुटरमा राखेर उनी चाबहिलतिर लम्किए । वास्तवमा उनी राइड शेयरिङ प्लेटफर्ममा आवद्ध राइडर हुन् २६ वर्षीय सुन्दर पौडेल हुन् ।

फरक क्षमताका उनी न सुन्न सक्छन्, न बोल्न नै । यो उनको एक पटकको राइड थियो । यसरी उनले अहिलेसम्म छ हजार भन्दा बढी राइड गरिसकेका छन् ।

बोल्न र सुन्न नसके पनि चितवनका सुन्दर आफ्ना दिनभरिका कथा र व्यथा भ्लगमार्फत संसारलाई सुनाउँछन् । उनी एक राइडर र सेफ पनि हुन् । 

आफूले भेटेका यात्रुसँगको यात्रा र अनुभवलाई भिडिओमा कैद गर्दै उनी इन्स्टाग्राम, टिकटक र फेसबुक जस्ता सामाजिक सञ्जालमा राख्ने गर्छन् । यदि कुनै यात्रुलाई भिडिओ खिचेको असहज लागे वा चित्त नबुझे उनी त्यसलाई ब्लर गरिदिन्छन् ।

राइड गर्दा उनले लगाउने हेल्मेटमा प्रस्ट रूपमा अङ्ग्रेजीमा लेखिएको छ, ‘म बोल्न र सुन्न सक्दिनँ (I Can’t speak and hear)’ अनि ठुलो अक्षरमा लेखिएको छ, ‘डिफ (Deaf)’ ।

सुन्दर हाल काठमाडौँको बूढानीलकण्ठमा बसेर स्नातक तहको तेस्रो वर्षमा अध्ययन गरिरहेका छन् । उनको दैनिकी निकै व्यस्त र सङ्घर्षपूर्ण छ । भन्छन्, “मेरो दिन धेरै व्यस्त हुन्छ । बिहान ६ बजेदेखि १२ बजेसम्म सेफको रूपमा काम गर्छु । दिउँसो इनड्राइभ र याङ्गो राइडरको रूपमा काम गर्छु । त्यसपछि बेलुका ६ बजेदेखि १० बजेसम्म फेरि सेफको काम गर्छु । समय मिलाएर पढाइ पनि जारी राख्छु ।”

विगत पाँच वर्षदेखि सेफको रूपमा काम गर्दै आएका उनले राइडरका रूपमा काम गर्न थालेको भने करिब तीन वर्ष भयो । 

यस अवधिमा उनले काठमाडौँमा ६ हजारभन्दा बढी राइड पूरा गरिसकेका छन् । आफूलाई बाइक चलाउन मन पर्ने, समयको लचकता दिने र परिवार, शिक्षा तथा भविष्यका लक्ष्य पूरा गर्न आम्दानी हुने भएकाले यो पेसा रोजेको उनी बताउँछन् ।

सडकमा निस्किँदा उनलाई सुरुमा सहज भने थिएन । ट्राफिकका आवाज सुन्न नसक्ने भएकाले सुरुमा उनको परिवारका सदस्य निकै चिन्तित थिए । तर, यो कठिन मोडमा उनलाई साथी समीर देशेमारुले ठुलो साथ दिए । 

उनीप्रति कृतज्ञता व्यक्त गर्दै सुन्दर भन्छन्, “समीर मेरो नजिकको साथी हुनुहुन्छ । उहाँले सुरुदेखि नै यो आइडियालाई सपोर्ट गर्नुभयो । यसलाई सफल बनाउन चाहिने सबै कुरा उहाँलाई थाहा थियो र उहाँले मलाई यहाँसम्म पुर्‍याउन धेरै मद्दत गर्नुभयो । उहाँ मलाई जीवनमा सफल भएको हेर्न चाहनुहुन्थ्यो । म उहाँले गर्नुभएको सबै साथ र विश्वासको लागि साँच्चै नै आभारी छु । थ्याङ्क यु समीर, तपाईंको सपोर्ट र विश्वासको लागि ।”

सुन्दरका साथी समीर देशेमारु 

समीरले नै उनलाई ट्राफिक नियम र सडक सुरक्षाबारे धेरै कुरा सिकाएका थिए । सडकमा निस्किँदा सुन्दरको ध्यान पूर्ण रूपमा यात्रामै केन्द्रित हुन्छ । बारम्बार साइड मिरर हेर्छन्, ट्राफिक नियम पालना गर्छन् र सुरक्षित दूरी कायम राख्छन् । उनले सधैँ सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर सुरक्षित रूपमा काम गरिरहेको देखेपछि मात्र परिवारले पनि उनीमाथि विश्वास गर्न थालेको उनी सुनाउँछन् ।

बोल्न र सुन्न नसक्ने भएकाले यात्रुसँग उनी प्रायः मेसेजमार्फत कुराकानी गर्छन् । उनी एपकै बिल्टइन फिचर वा एसएमएसमार्फत मेसेज पठाउँदै आफू बोल्न तथा सुन्न नसक्ने कुरा जानकारी गराउँछन् । 

साथै आफ्नो लोकेसन पठाएर ‘म यहाँ छु, कृपया यहीँ आउनुहोस्, म पर्खिरहेको छु’ भन्ने मेसेज पठाउँछन् । कहिलेकाहीँ यात्रुले फोन गर्दा उनी फोन काट्छन् र फेरि मेसेज पठाएर आफू बहिरो भएको जानकारी दिँदै मेसेज पढ्न अनुरोध गर्छन् । 

उनको संघर्ष बुझेपछि युनिराइड निर्मल सिग्देल (युनिराइड टीभीएस)ले जीन्दगीभर सुन्दरलाई निःशुल्क सर्भिसिसङ गर्ने र त्यसका लागि आवश्यक पर्ने सामग्री पनि निःशुल्क उपलब्ध गराउने प्रतिवद्धता दिएका छन् ।

निर्मल सिग्देल र सुन्दर पौडेल

उनी पूर्ण रूपमा आफू र प्रविधिमै निर्भर भएको सुनाउँछन् । त्यसमा पनि राइड शेयरिङ एपमा भएका विभिन्न फिचर उनका लागि थप उपयोगी भएका छन् । जीपीएस र म्याप्स प्रयोग गरेर सही स्थान पत्ता लगाउने उनी इनड्राइभको फोटो पठाउने सुविधाबाट निकै सन्तुष्ट छन्, किनकि यसले लोकेसनको फोटो पठाउन सजिलो बनाउँछ ।

तर कहिलेकाहीँ यात्रुले गलत लोकेसन राख्दा अर्डर नै रद्द गर्नुपर्ने बाध्यता पनि उनलाई आउँछ । राइड शेयरिङ एप उपयोगी भए पनि बहिरा राइडरका लागि अझ राम्रो टेक्स्ट कम्युनिकेसन सुविधा र यात्रुलाई राइडर बहिरो हो भन्ने स्वतः जानकारी दिने सुविधा भए अझ राम्रो हुने उनको सुझाव छ ।

उनी भन्छन्, “यी राइड शेयरिङ एप धेरै उपयोगी छन् । तर बहिरा राइडरका लागि अझ राम्रो टेक्स्ट कम्युनिकेसन सुविधा र यात्रुलाई राइडर बहिरो हो भन्ने स्वतः जानकारी दिने सुविधा भए राम्रो हुन्थ्यो ।”

सुरुमा धेरै यात्रुहरू उनको अवस्था देखेर अचम्म मान्छन् । “सुरुमा धेरै यात्रु मेरो यो अवस्था देख्दा अलमलमा पर्छन्, कोही अचम्मित हुन्छन्,” उनी अगाडि भन्छन्, “तर उनीहरूले मेरो अवस्था बुझेपछि धेरैजसो सम्मानजनक, सहयोगी र हौसलादायी व्यवहार गर्छन् ।”

कुराकानी गर्न यात्रुहरूले प्रायः मेसेज, सामान्य हातका सङ्केत, आधारभूत साङ्केतिक भाषा वा प्राकृतिक इसारा प्रयोग गर्ने गर्छन् र उनीहरू सधैँ एकअर्कालाई बुझ्ने उपाय खोज्छन् ।

“कहिलेकाहीँ मानिसहरूले बहिरा व्यक्तिले काम गर्न सक्दैनन् भन्ने सोच राख्छन्, जसले मलाई दुःखी बनाउँछ,” सुन्दर आफ्नो मनको कुरा खोल्छन्, “तर म सधैँ बहिरा व्यक्ति पनि सक्षम छन् भन्ने प्रमाणित गर्ने प्रयास गर्छु । यात्रुले मेरो मेहनेतको प्रशंसा गरेर हौसला दिएको अनुभवले मलाई धेरै खुसी बनाएको छ ।”

आर्थिक रूपमा आत्मनिर्भर भएपछि सुन्दरको आत्मविश्वास निकै बढेको छ । दिनभर राइडर र बेलुका सेफको काम गरेर जीवन अगाडि बढाइरहेका उनी सामाजिक सञ्जालमा भ्लगरका रूपमा सक्रिय भएपछि अहिले धेरैले चिन्न र सहयोग गर्न थालेको बताउँछन् । 

आफ्नै कमाइले परिवारलाई सहयोग गर्न र पढाइ जारी राख्न पाउँदा उनी आफ्ना उपलब्धिमा गर्व गर्छन् । समाजमा बिस्तारै परिवर्तन भइरहेको उनी महसुस गर्छन् ।

“हो, समाज बिस्तारै परिवर्तन भइरहेको छ,” उनी आफ्नो भोगाइ सुनाउँछन्, “पहिले धेरै मानिसले बहिरा व्यक्तिले काम गर्न सक्दैनन् भन्ने सोच्थे । अहिले धेरै मानिसले अपाङ्गता भएका व्यक्ति पनि पढ्न, काम गर्न र समाजमा योगदान दिन सक्छन् भन्ने बुझ्न थालेका छन् । तर सरकारले अझै रोजगारी र समान अधिकारका लागि धेरै काम गर्न आवश्यक छ ।”

आफूले गरिरहेका हरेक कामा आफूलाई गर्व भएको उनी उल्लेख गर्छन् । आफ्ना तमाम संघर्षबाट अरू प्रेरित हुन् भन्ने उनको चाहना छन् । सुन्दर भन्छन्, “आफ्नो सपना कहिल्यै छाड्न नहुने रहेछ । अपाङ्गता भनेको असक्षमता होइन भन्ने बुझ्नुपर्छ । मिहिनेत गरियो, आफूमाथि विश्वास भयो, सिकाइलाई निरन्तरता दिइयो र अरूको नकारात्मक सोचबाट प्रभावित भइएन भने लक्ष्य पूरा हुन्छ जस्तो लाग्छ ।”

सामाजिक सञ्जालमा सुन्दर 

फेसबुक

इन्स्टाग्राम

टिकटक

युट्युब

पछिल्लो अध्यावधिक: असार ८, २०८३ १६:१५