close

औपचारिक तालिम बिनै १५ वर्षको उमेरमा फुलस्ट्याक डेभलपर बने पोखराका अर्जित

सञ्जीवन राई सञ्जीवन राई

माघ ८, २०८० १७:४९

औपचारिक तालिम बिनै १५ वर्षको उमेरमा फुलस्ट्याक डेभलपर बने पोखराका अर्जित

 

काठमाडौं । पोखराका अर्जित पौडेल भर्खरै १५ वर्ष लागे । उमेरले कलिलै भए पनि प्रोग्रामिङको क्षेत्रमा उनी परिपक्व बन्दै गइरहेका छन् । फुर्सदको समयमा सिकेको प्रोग्रामिङले उनलाई नयाँनयाँ उचाइमा पुर्‍याइरहेको छ ।

पोखरा-१६ बाटुले चौरमा अवस्थित प्रगति माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत पौडेल कक्षामा पहिलो भइरहन्छन् । अहिले माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारीमा रहेका उनले प्रोग्रामिङमा त्यति धेरै समय दिन भ्याइरहेका छैनन् । 

यद्यपि पोखरामा हालै सम्पन्न छैटौं संस्करणको वर्डक्याम्पमा भने उनी सहभागी भए । उनी आफैंले स्थापना गरेको एभिसाइट नेपाल (Avisite Nepal) मा ‘रियाक्ट नेटिभ डेभलपर’को भूमिकामा पनि संलग्न छन् ।

गेमबाट प्रोग्रामिङ

प्रोग्रामिङको उनको यात्रा कोभिड महामारीसँगै सुरु भएको हो । विद्यालय बन्द भएका कारण सबै जना घरमै बस्न विवश थिए । त्यति बेला उनी सात कक्षामा पढ्दै थिए । 

मोबाइल तथा कम्प्युटर गेम खेल्नु उनको दैनिकी थियो । तर गेम कसरी बन्छन् भन्ने प्रश्न उनको मनमा बेलाबेला आइरहन्थ्यो । उक्त जिज्ञासा मेटाउन खोज्ने क्रममा प्रोग्रामिङबाट गेमहरू बन्ने उनले थाहा पाए । 

त्यसपछि विस्तारै गेम खेल्न छाडेर उनी प्रोग्रामिङ सिक्न थाले । “म पहिले खुबै गेम खेल्थें । तर गेम कसरी बन्छन् भन्ने प्रश्न मनमा आए पछि मेरो रुचि फेरियो,” उनी भन्छन्, “त्यसपछि विस्तारै अनलाइनबाट प्रोग्रामिङ सिक्न थालें ।” 

विद्यालयका कक्षा कोठामा हुने पढाइ बन्द भए पनि उनी अध्ययनरत स्कुलले अनलाइन कक्षा सुरु गर्‍यो । उनले पनि आफ्ना बुबाको ल्यापटपबाट अनलाइन कक्षा लिन थाले । 

विद्यालयको कक्षा अनलाइनबाट लिने र बाँकी समय अनलाइनबाटै प्रोग्रामिङ सिक्ने उनको नयाँ दैनिकी बन्यो । सो समय उनी एक्लै नभएर छिमेकी दाइहरूसँग सहकार्य गरेर प्रोग्रामिङ सिकिरहेका थिए । 

प्रोग्रामिङमा नयाँ यात्रा

एचटीएमएल र सीएसएस सिकेर उनले प्रोग्रामिङको यात्रा थालेका थिए । यी विषयहरू उनको विद्यालयको पाठ्यक्रममा पनि समावेश थिए । 

प्रोग्रामिङमा उनले जाभा स्क्रिप्ट पनि सिक्न ‍थाले । २०७७ सालतिर सात कक्षा उत्तीर्ण हुँदैगर्दा उनले जाभास्क्रिप्टका कोडहरू लेख्न सिकिसकेका थिए । साथै एचटीएमएल, सीएसएस र जाभास्क्रिप्ट प्रयोग गरेर 'स्टाटिक पेज' बनाउन सक्ने भइसकेका थिए ।

त्यसपछि गेम र वर्डप्रेस डेभलपमेन्ट तिर पनि उनले हात हाले । तर गेम डेभलपमेन्टको क्षेत्रमा सोचे जस्तो काम गर्न नसकेको उनी बताउँछन् । "गेम डेभलपमेन्टमा भने मैले थप काम गर्न सकिनँ । तर वर्ड प्रेस मलाई निकै रमाइलो लाग्यो । अनि त्यसमै अलि गम्भीर भएर सिक्न थालें," उनी भन्छन् ।

अर्जित अहिलेसम्म प्रोग्रामिङ सिक्नका लागि कुनै इन्स्टिच्युटमा गएका छैनन् । बरु उनी युट्युब र इन्टरनेटमा उपलब्ध विभिन्न नि:शुल्क कोर्सहरू हेरेर प्रोग्रामिङ सिक्छन् । घर नजिकैका दाइहरू, जो प्रोग्रामिङको क्षेत्रमा छन्, उनीहरूसँग आफ्ना जिज्ञासा मेट्छन् । 

पढाइसँगै काम 

छोटो समयमा प्रोग्रामिङको क्षेत्रमा राम्रो हुँदै गएपछि पोखरामै रहेको ब्ल्याक टेक नामक एक कम्पनीमा जोडिए । त्यहाँ उनले केही परियोजनामा काम समेत गरे । 

त्यही क्रममा अर्जितले फ्रन्ट एन्ड डेभलपमेन्टको काम गर्न थालेका थिए । त्यहींबाट कोडिङ र वेब एप्लिकेसनको वास्तविक क्षेत्रमा प्रवेश गरेको उनी सुनाउँछन् । फ्रन्ट एन्ड डेभलपमेन्टमा काम गर्न उनले रियाक्ट जेएस र टाइप स्क्रिप्ट सिकेका छन् ।

त्यसपछि अर्को आईटी कम्पनी लञ्चमीअपमा उनले इन्टर्नशिप गरे। त्यहाँ फ्रन्ट एन्ड डेभलपरकै भूमिकामा उनले काम गरेका थिए । त्यही कम्पनीमा इन्टर्नशिप गरिरहँदा ब्याक एन्ड डेभलपमेन्टको काममा पनि संलग्न हुन थाले । 

त्यसपछि उनी डेटा रिसर्च काउन्सिल फर स्टुडेन्ट (डीआरसीएफएस) मा जोडिए । डीआरसीएफएस विद्यार्थीको सक्रिय संस्था हो । यस संस्थाले विद्यार्थीहरू बीच विभिन्न गतिविधि गर्दै आएको छ । 

यो संस्थामा जोडिएपछि अहिलेसम्म उनले आफ्नो सक्रियतामा दुई ओटा बुटक्याम्प आयोजना गरिसकेका छन् । त्यस्तै अहिले विद्यालयको आईटी क्लब र प्रगति आईटी सोसाइटीको अध्यक्षका रूपमा पनि उनी काम गरिरहेका छन् । 

जहाँ उनी अरू विद्यार्थीहरूलाई आफूले जानेका कुरा सिकाउने गर्छन् । अहिले उनी टाइप स्क्रिप्ट, नेक्स्ट जेएस, एक्सप्रेस जेएस, रियाक्ट नेटिभ सबैमा पोख्त हुँदै गएका छन् । सङ्‌क्षिप्तमा भन्दा उनी अहिले फुल स्ट्याक डेभलपर भएका छन् । अब भविष्यमा पनि फुल स्ट्याक डेभलपर भएरै काम गर्न चाहन्छन् । 

प्रोग्रामरको यात्रामा घर र विद्यालय

२० भन्दा बढी व्यक्तिगत प्रोजेक्ट र केही कम्पनीमा काम गरिसकेका किशोर प्रोग्रामर अर्जितसँग अहिले पनि आफ्नो छुट्टै ल्यापटप र स्मार्टफोन भने छैन । बुबाकै ल्यापटपबाट उनले प्रोग्रामिङसँग सम्बन्धित काम गरिरहेका छन् । 

कतै कार्यक्रममा जानु परेको खण्डमा आमाको स्मार्टफोन प्रयोग गर्छन् । नत्र फिचर फोनले काम चलाइरहेका हुन्छन् ।  

एसईईपछि मात्रै छोराका लागि छुट्टै स्मार्टफोन र ल्यापटप किनिदिने उनका बुबा अर्जुन पौडेल बताउँछन् । “अहिलेसम्म उसले मैरै ल्यापटपबाट काम गरिरहेको छ । त्यसमा मेरो खासै काम हुँदैन,” उनी भन्छन् ।  ल्यापटप कम्प्युटर किन्न त्यस्तो सहयोग नगरेको भन्ने होइन । हामी उसको भविष्य सुन्दर बनाउन सकेको सबै गरिरहेका छौं ।” 


अर्जितका बुबाआमा दुवै शिक्षण पेशामा छन् । बुबा पोखराको वाराही माध्यमिक विद्यालय र आमा पृथ्वीनारायण क्याम्पसमा कार्यरत छन् । अबको भविष्य आईटी नै भएको अर्जितका बुबाले राम्रोसँग बुझेका छन् । 

पढाइबाहेक अर्जितलाई एभिसाइट नेपाल स्थापनामा  सहयोग गर्ने उनको बुबाले जनाए । जुन अर्जितले सुरु गर्न लागेको स्टार्टअपको नाम हो ।

आफ्नो यात्रामा विद्यालयले पनि ठूलो सहयोग गरिरहेको अर्जित सुनाउँछन् । विद्यालयका प्रधानाध्यापक दिनेश कुमार श्रेष्ठ र कम्प्युटर शिक्षक सुमन कार्कीले महत्त्वपूर्ण सहयोग गरेको उनले बताए । 

यता विद्यालयका लागि समेत अर्जित महत्त्वपूर्ण विद्यार्थी हुन् । विद्यालयले पनि आईटी कार्यक्रममा उनैलाई पठाउने, स्रोत उपलब्ध गराउने जस्ता सहयोग गरिरहेको छ । 

“अर्जित आफ्नो कक्षामा प्रथम भइरहने विद्यार्थी हुन् । विद्यालयको आईटी क्लबमा उनले अरूलाई सिकाउने काम गरिरहेका छन्,” विद्यालयका प्रधानाध्यापक श्रेष्ठ भन्छन् । "उमेर सानो हुँदा उनले जुन सफलता पाएका छन्, त्यसले उनलाई धेरै माथि पुर्‍याउँछ भन्ने विश्वास छ । अहिले नै उ धेरैका लागि प्रेरणाको स्रोत बनिसकेको छ ।

अर्जितले आफ्नो नाममा छुट्टै वेबसाइट पनि बनाएका छन् । त्यस्तै आफूले काम गरेका परियोजना गिटहबमा संग्रह समेत गरेका छन् । 

पछिल्लो अध्यावधिक: माघ ८, २०८० १७:४९