स्वास्थ्यमा खेलबाड नगर्न भन्दै सामाजिक सञ्जालका 'भाइरल डाक्टर' विरुद्ध उभियो चिकित्सक सङ्घ
असार १६, २०८३ ९:३०
काठमाडौँ । ‘डा. चेतना पौडेल’ पक्राउ परेपछि अहिले सामाजिक सञ्जालमा चिकित्सकको अधिकार, कार्यक्षेत्र र प्राकृतिक चिकित्सा (नेचुरोप्याथी) बारे गहिरो बहस छेडिएको छ । एकातिर नेचुरोपेथिक अर्थात् प्राकृतिक चिकित्सक र उनीहरूका समर्थकले चेतनाको पक्राउको चर्को विरोध गरिरहेका छन् भने अर्कोतर्फ नेपाल चिकित्सक सङ्घ (एनएमए) ले सामाजिक सञ्जालमा आफूलाई डाक्टर दाबी गर्दै नागरिकको स्वास्थ्यसँग खेलबाड गर्ने कथित चिकित्सकहरूविरुद्ध कडा रूपमा उभिएको छ ।
नेपाल चिकित्सक सङ्घले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमार्फत गैरचिकित्सकहरूले चिकित्सकीय अभ्यास गर्ने र औषधि सिफारिस गर्ने कार्यले आमनागरिकको स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै गम्भीर ध्यानाकर्षण जनाएको छ । सङ्घले नेपाल मेडिकल काउन्सिल ऐन, २०२० को दफा २७ (१) को व्यवस्थालाई स्मरण गराउँदै आधुनिक औषधि सम्बन्धी चिकित्सा काम गर्ने हेतुले आधिकारिक डिग्री, डिप्लोमा, सर्टिफिकेट वा लाइसेन्स नपाएका व्यक्तिले आफ्नो नामको अगाडि 'डाक्टर' लेख्न वा सो उपाधि जोड्न नपाउने कुरा स्पष्ट पारेको छ ।
आधिकारिक डिग्री प्राप्त गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूबाट मात्रै आधुनिक चिकित्सकीय अभ्यास गरिनुपर्ने भन्दै सङ्घले 'एन्टी-क्वाकरी' (नक्कली वा गैरकानुनी चिकित्सक विरोधी) अभियानमा नेपाल चिकित्सक सङ्घ सदैव अडिग रहने स्पष्ट पारेको छ ।
केही दिनअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चन्द्रागिरि नगरपालिका-८ स्थित स्पार्क इन्टरनेसनल हेल्थ रिसोर्ट सञ्चालन गर्दै आएकी चेतना पौडेललाई पक्राउ गरेको थियो । फेसबुकमा एक लाख २४ हजार र टिकटकमा १२ हजारभन्दा बढी फलोअर बनाएर आफूलाई 'नेपालको पहिलो नेचुरोपेथिक विशेषज्ञ' र 'फङ्सनल मेडिकल विशेषज्ञ' दाबी गर्दै उनले सामाजिक सञ्जालबाट स्वास्थ्य परामर्श दिँदै आएकी थिइन् ।
तर, मेडिकल काउन्सिलको अनुमति बिना नै आधुनिक चिकित्सा पद्धति (एलोपेथिक) बाट बिरामी जाँच्ने र औषधि पुर्जी (प्रेस्क्रिप्सन) लेख्ने गरेको प्रमाण नेपाल मेडिकल काउन्सिलको नियमित अनुगमनबाट फेला परेको थियो । काउन्सिलकै उजुरीका आधारमा सीआईबीले उनलाई पक्राउ गरी मुलुकी अपराध संहिता, २०७४ को ‘इलाज सम्बन्धी कसुर’ अन्तर्गत अनुसन्धान गरिरहेको छ ।
सामाजिक सञ्जालमा छेडिएको बहस
चेतनाको पक्राउ लगत्तै जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीले सामाजिक सञ्जाल फेसबुकमा 'सपोर्ट टु नेचुरोप्याथ' भन्दै प्रहरी हस्तक्षेपको विरोध गरिन् । उनले चेतनासँग बिरामी जाँच्ने र उपचार गर्ने पूर्ण कानुनी अधिकार भएको दाबी गर्दै, अभ्यासमा कुनै समस्या भए सम्बन्धित काउन्सिलले हेर्नुपर्नेमा प्रहरी किन लगाइयो भन्दै प्रश्न उठाएकी छिन् ।
डा. उप्रेतीको यस भनाइपछि सामाजिक सञ्जालमा सर्वसाधारण र स्वास्थ्यकर्मीहरू दुई ध्रुवमा बाँडिएका हुन् । चेतनाका समर्थकहरूले उनले प्राकृतिक चिकित्सा, खानपान र योगामार्फत धेरैको सुगर र अन्य रोग नियन्त्रण गरेको अनुभव साट्दै, यो कारबाहीलाई 'मेडिकल माफियाको चलखेल' को संज्ञा दिएका छन् ।
प्राकृतिक उपचार पद्धतिलाई नेपालमा बेवास्ता गरिएको उनीहरूको गुनासो छ । तर, अधिकांश चिकित्सा पेसाकर्मी र सचेत नागरिकले भने कानुन र क्षेत्राधिकारको कुरा औंल्याएका छन् । जनस्वास्थ्यमा स्नातकोत्तर (MPH) वा प्राकृतिक चिकित्सा पढेको भरमा आधुनिक चिकित्सा (एलोप्याथी) को अभ्यास गर्न र औषधि सिफारिस गर्न नपाइने उनीहरूको तर्क छ ।
नेपाल मेडिकल काउन्सिल (NMC) मा दर्ता नभई आफ्नो नामको अगाडि 'डा.' उपाधि राख्नु र बिरामीलाई आधुनिक औषधि लेख्नु गैरकानुनी मानिन्छ । प्राकृतिक चिकित्सकले आहारविहार, योग, व्यायाम र प्राकृतिक विधिबाट उपचार गर्न पाउने भए पनि एन्टिबायोटिक, स्टेरोइड जस्ता औषधि लेख्ने अधिकार उनीहरूलाई हुँदैन ।
आफूले पढेको र जानेको विषयभन्दा बाहिर गएर रोगको निदान गर्नु नै मुख्य कानुनी उल्लङ्घन भएको धेरैको बुझाइ छ । "आयुर्वेदले आयुर्वेदकै प्राक्टिस गर्ने हो, एलोप्याथीले एलोप्याथिककै, आ-आफ्नो डोमेनमा बस्नुपर्छ," सामाजिक सञ्जालमा एक प्रयोगकर्ताले लेखेका छन् ।
यो घटनाले नेपालमा स्वास्थ्य सेवाको नियमन, विभिन्न चिकित्सा पद्धतिबिचको क्षेत्राधिकार र सामाजिक सञ्जालमा हुने 'इन्फ्लुएन्सिङ' को जोखिमलाई सतहमा ल्याइदिएको छ । यसै सन्दर्भलाई जोड्दै नेपाल चिकित्सक सङ्घले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न काउन्सिलहरूबिच सहकार्य गरी दर्ता र क्षेत्राधिकार सम्बन्धमा देखिएका आपसी समस्या समाधानतर्फ लाग्न अपिल समेत गरेको छ ।
नागरिकको ज्यान र स्वास्थ्य प्रत्यक्ष जोडिएको विषय भएकाले सामाजिक सञ्जालको प्रभावमा परेर जोसुकैबाट आधुनिक औषधिको सिफारिस नखान आम नागरिकलाई सचेत गराइएको छ ।
पछिल्लो अध्यावधिक: असार १६, २०८३ ९:३०
