कुन फिल्मले कति कमायो ? बक्स अफिस रिपोर्टसहित ४३ सेवा समेटिएको मोबाइल एप सार्वजनिक
असार १७, २०८३ १७:४४
काठमाडौं । चलचित्र विकास बोर्डले आफ्नो आधिकारिक मोबाइल एप्लिकेसन ‘सिनेपा’ सार्वजनिक गरेको छ । मङ्गलबार बोर्डको २६औँ वार्षिकोत्सवको अवसरमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले उक्त एपको उद्घाटन गरे ।
यस एपमार्फत प्रयोगकर्ताले चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न महत्वपूर्ण जानकारीहरू सहजै प्राप्त गर्न सक्ने बोर्डले जनाएको छ । जसमा दैनिक बक्स अफिस कलेक्सन, बोर्डका गतिविधि तथा कार्यक्रमहरू, कलाकारहरूको आधिकारिक विवरण र नेपालमा छायाङ्कन गरिएका विदेशी चलचित्रहरूको तथ्याङ्क समावेश गरिएको छ ।
सूचना मात्र नभई, यो एप सेवाग्राहीका लागि कार्यसम्पादन गर्ने माध्यमसमेत बन्ने बोर्डको विश्वास छ । चलचित्र निर्माण, प्रदर्शन तथा वितरणका लागि आवश्यक पर्ने इजाजतपत्र र विभिन्न किसिमका सिफारिसका लागि अब एपबाटै अनलाइन आवेदन दिन सकिने सुविधा उपलब्ध गराइएको छ ।
बोर्डका अनुसार चलचित्रकर्मी तथा सरोकारवालाहरूले यस एपमार्फत ४३ प्रकारका सेवा प्राप्त गर्न सक्नेछन्।
हाल वेबसाइटमार्फत प्रदान गरिँदै आएका सेवाहरूलाई थप सहज र पहुँचयोग्य बनाउन मोबाइल एप सञ्चालनमा ल्याइएको बोर्डका डिजिटल तथा सूचना प्रविधि अधिकृत प्रवीण पाण्डेले बताए ।
गुगल प्ले स्टोरमा यहाँ क्लिक गरेर र एप स्टोरमा यहाँ क्लिक गरेर यो एप डाउनलोड गर्न सकिन्छ ।
पछिल्लो अध्यावधिक: असार १७, २०८३ १८:२७
