इन्जिनियरिङ अनुसन्धानका विज्ञ प्रा. डा. भोला थापा त्रिविको उपकुलपति नियुक्त
असार १९, २०८३ १९:३५
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा नियुक्त भएका छन् । प्रधानमन्त्री समेत रहेका कुलपति बालेन शाहले शुक्रबार डा. थापालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा नियुक्त गरेका हुन् । यसअघि काठमाडौं विश्वविद्यालयका उपकुलपति भएर काम गरिसकेका डा. थापा हाइड्रोलिक मसिनरी, बालुवाका कारण टर्बाइनमा हुने क्षय तथा नवीकरणीय ऊर्जा (रिन्युएबल इनर्जी) सम्बन्धी विशेषज्ञताका लागि शैक्षिक समुदायमा सम्मानित छन् ।
प्रा. डा. थापाको शैक्षिक योग्यता
प्रा. डा. थापा नेपालका एक प्रतिष्ठित प्राज्ञ तथा इन्जिनियरिङ क्षेत्रका अनुभवी शिक्षाविद् हुन् । उनले सन् १९९१ मा नेपाल सरकारको कोलम्बो योजना छात्रवृत्ति अन्तर्गत भारतको चण्डीगढस्थित पञ्जाब विश्वविद्यालय अन्तर्गतको पञ्जाब इन्जिनियरिङ कलेजबाट मेकानिकल इन्जिनियरिङमा स्नातक (ब्याचलर अफ इन्जिनियरिङ) डिग्री हासिल गरेका थिए ।
त्यसपछि उनले सन् १९९९ मा भारतको राजस्थानस्थित बिरला इन्स्टिच्युट अफ टेक्नोलोजी एन्ड साइन्स (बिट्स) पिलानीबाट मेकानिकल इन्जिनियरिङमा स्नातकोत्तर (मास्टर अफ इन्जिनियरिङ) उपाधि प्राप्त गरेका थिए । डा. थापाले सन् २००४ मा नर्वेको नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी (एनटीएनयू), ट्रोन्डहाइमको इन्जिनियरिङ संकाय अन्तर्गतको इन्स्टिच्युट अफ इनर्जी एन्ड प्रोसेस इन्जिनियरिङबाट हाइड्रोलिक मेसिनरीमा बालुवाका कारण हुने क्षय विषयमा विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका थिए ।
डा. थापाले सन् १९९४ मा काठमाडौं विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ विभागमा लेक्चररका रूपमा आफ्नो अध्यापन यात्रा सुरु गरेका थिए । त्यसपछि उनी सन् २००० मा सह–प्राध्यापक नियुक्त भए । सन् २००५ को अप्रिलमा एसोसिएट प्रोफेसरमा पदोन्नति भएका उनी सन् २००८ मा प्राध्यापक बनेका हुन् ।
७ वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त
त्रिभुवन विश्वविद्यालयमा प्रा. डा. भोला थापासँगै अन्य ६ वटा विश्वविद्यालयमा पनि उपकुलपति नियुक्ति भएको छ । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा. सुजनबाबु मरहट्टा र पोखरा विश्वविद्यालयको उपकुलपतिमा प्रा. देवेन्द्र अधिकारीलाई नियुक्त गरिएको छ । यस्तै, मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्रा. राजन सुवाल, सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्रा. किसनदत्त भट्ट, राजर्षी जनक विश्वविद्यालय उपकुलपतिमा प्रा. श्यामनारायण लाभ र कृषि तथा वन विश्वविद्यालयको उपकुलपतिमा प्रा. ऋषिराम कट्टेल नियुक्त भएका छन् ।
पछिल्लो अध्यावधिक: असार १९, २०८३ १९:३५
