close

अध्यागमन विभागले भिसा म्याद थप र रुपान्तरणका लागि 'डिजिटल अपोइन्टमेन्ट' अनिवार्य गर्दै

टेकपाना टेकपाना

असार १९, २०८३ १८:२५

अध्यागमन विभागले भिसा म्याद थप र रुपान्तरणका लागि 'डिजिटल अपोइन्टमेन्ट' अनिवार्य गर्दै

काठमाडौं : अध्यागमन विभागले भिसा सम्बन्धी सेवालाई थप व्यवस्थित, छिटो र सहज बनाउन ‘डिजिटल अपोइन्टमेन्ट’ व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याएको छ । आगामी साउन १ गतेदेखि भिसा सेवाका लागि सेवाग्राहीले अनिवार्य रूपमा अनलाइनमार्फत समय बुक गर्नुपर्ने विभागले जनाएको छ ।

यो व्यवस्था विशेषगरी भिसा म्याद थप (Visa Extension) र भिसा रूपान्तरण (Visa Conversion) सेवाका लागि सेवाग्राहीको भीड व्यवस्थापनमा सन्तुलन कायम गर्न लागू गरिएको हो । हाल यी सेवाहरूका लागि प्रचलित अध्यागमन कानुन बमोजिम भौतिक रूपमै उपस्थित हुनुपर्ने भएकाले कुनै दिन अत्यधिक भिडभाड हुने र कुनै दिन सेवाग्राहीको उपस्थिति अत्यन्तै न्यून हुने गरेको विभागले जनाएको छ ।

सोही असन्तुलनलाई हटाउन र कार्यालय समयमा सेवाग्राहीको चापलाई व्यवस्थित गर्न विभागले यो डिजिटल प्रणाली विकास गरेको हो । विभागले पदयात्रा अनुमति (Trekking Permit) र इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन (eTA) जस्ता सेवाहरूलाई यसअघि नै पूर्ण रूपमा अनलाइन बनाइसकेको छ ।

यो अपोइन्टमेन्ट प्रणाली गत असार १२ गतेदेखि नै परीक्षणको रूपमा सञ्चालनमा रहेको छ । हाल ‘नेपालीपोर्ट’ मार्फत भिसा आवेदन दिँदा ‘आवरली अपोइन्टमेन्ट स्लट’ उपलब्ध गराइँदै आएको छ । साथै, कोटा निर्धारण नगरिएको र अपोइन्टमेन्ट स्लिप नभएका सेवाग्राहीलाई पनि सेवा प्रवाह भइरहे पनि आगामी साउन १ गतेदेखि अपोइन्टमेन्ट अनिवार्य गरिने विभागले जनाएको छ ।

यससँगै, अब विदेशी पासपोर्ट भएका तथा सम्बन्धित सरोकारवालाहरूले आफ्नो अनुकुलता अनुसार उपलब्ध टाइम स्लट बुक गरेर सोही निश्चित समयमा मात्र विभागमा उपस्थित हुनुपर्नेछ ।

पछिल्लो अध्यावधिक: असार १९, २०८३ १८:२५