close

फिफा विश्वकपमा पहिलोपटक ह्युमनोइड रोबोट, खेलमैदानमा ‘एटलस’ ले पुर्‍यायो ‘म्याच बल’

टेकपाना टेकपाना

असार २२, २०८३ १४:४८

फिफा विश्वकपमा पहिलोपटक ह्युमनोइड रोबोट, खेलमैदानमा ‘एटलस’ ले पुर्‍यायो ‘म्याच बल’

काठमाडौं । फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता ‘फिफा विश्वकप २०२६’ मा पहिलोपटक ह्युमनोइड (मानवरूपी) रोबोटले प्रत्यक्ष खेल वातावरणमा सहभागिता जनाएको छ । दक्षिण कोरियाली अटोमोबाइल कम्पनी हुन्डाई मोटर र यसको रोबोटिक्स कम्पनी ‘बोस्टन डाइनामिक्स’ ले विकास गरेको एटलस रोबोटले ब्राजिल र नर्वेबिचको अन्तिम-१६ को खेलमा रेफ्रीलाई म्याच बल हस्तान्तरण गर्दै विश्वकप इतिहासमा नयाँ प्रविधिगत अध्याय थपेको हो ।

हुन्डाई मोटर जारी विश्वकप फुटबल प्रतियोगिताको आधिकारिक रोबोटिक्स साझेदार हो । फुटबलको सबैभन्दा ठुलो मञ्चमा पहिलोपटक ह्युमनोइड रोबोटमार्फत हाफटाइम कार्यक्रम सञ्चालन गर्दै हुन्डाईले आफ्नो अत्याधुनिक रोबोटिक्स प्रविधि विश्वभरका दर्शकमाझ प्रत्यक्ष प्रदर्शन गरेको छ ।

रोबोटिक्स र विश्वव्यापी खेलकुदका लागि महत्वपूर्ण उपलब्धि

हुन्डाई मोटरको यो उपलब्धिलाई रोबोटिक्स र विश्व खेलकुद दुवैका लागि महत्त्वपूर्ण कोशेढुंगाको रूपमा हेरिएको छ । यसअघि ह्युमनोइड रोबोटहरू मुख्यतः प्रयोगशाला वा औद्योगिक वातावरणमा सीमित थिए । तर पहिलोपटक विश्वकै सबैभन्दा धेरै हेरिने खेल प्रतियोगिताको प्रत्यक्ष वातावरणमा रोबोटको सफल प्रयोगले रोबोटिक्स प्रयोगशालाबाट वास्तविक जीवनमा प्रवेश गरिरहेको संकेत दिएको छ ।

 

 

यस प्रदर्शनले रोबोटिक्स क्षेत्रमा दुई महत्त्वपूर्ण कोशेढुंगा कायम गरेको कम्पनीको दाबी छ । पहिलो, एटलस ह्युमनोइड रोबोटको उत्पादन संस्करण (Production Version) को वास्तविक संसारमा चल्न र काम गर्न सक्ने क्षमताको पहिलो सार्वजनिक प्रदर्शन हो । कम्पनीले यो रोबोटलाई पहिलो पटक सन् २०२६ को जनवरीमा आयोजित ‘कन्ज्युमर इलेक्ट्रोनिक्स प्रदर्शनी’ (सीईएस) सार्वजनिक गरेको थियो । दोस्रो, उपपब्धि फिफा विश्वकपको प्रत्यक्ष खेल वातावरणमा ह्युमनोइड रोबोटलाई पहिलोपटक सफलतापूर्वक समावेश गरिनु रहेको कम्पनीले जनाएको छ । 

 

हुन्डाई मोटरका अनुसार प्रत्यक्ष खेल वातावरणमा रोबोटिक्स प्रविधिको प्रयोगमार्फत कम्पनीले आफ्नो ‘मानवताका लागि प्रगति’ (Progress for Humanity) भन्ने अवधारणालाई अघि बढाएको छ । रोबोटिक्स नवप्रवर्तनले विश्वभरका मानिसका लागि अर्थपूर्ण र नयाँ अनुभव सिर्जना गर्न सक्ने सम्भावना प्रदर्शन गरेको पनि कम्पनीले जनाएको छ ।

ब्राजिल र नर्वेबिचको अन्तिम-१६ को खेलमा रोबोटले के गर्‍यो ?

हाफटाइममा एटलस ह्युमनोइड रोबोट खेलाडीहरू मैदान प्रवेश गर्ने सुरुङ (Player Tunnel) बाट मैदानमा प्रवेश गरेको थियो । त्यसपछि यसले विश्वप्रसिद्ध फुटबलरहरू ह्यारी केन, अर्लिङ हालान्ड, माथेउस कुन्ह्या र सन ह्युङ-मिनका चर्चित गोल सेलेब्रेसनको शैली प्रस्तुत गर्दै रंगशालामा उपस्थित दर्शकको ध्यान आकर्षित गरेको थियो । यस प्रदर्शनले खेलको माहोललाई थप रोमाञ्चक बनाउनुका साथै एटलसको उन्नत गतिशीलता र मानवजस्तै अभिव्यक्ति प्रदर्शन गर्ने क्षमतासमेत देखाएको कम्पनीले जनाएको छ ।

 

प्रदर्शनपछि एटलसले उच्च सटीकता र नियन्त्रणका साथ रेफ्रीलाई औपचारिक रूपमा ‘म्याच बल’ हस्तान्तरण गर्दै दोस्रो हाफको सुरुआत गराएको थियो । प्रत्यक्ष रूपमा विश्वभर प्रसारण भएको उक्त कार्यक्रममार्फत एटलसले जटिल र समन्वित गतिविधि सफलतापूर्वक सम्पन्न गर्न सक्ने क्षमता देखाएको कम्पनीले जनाएको छ । साथै, ठुला अन्तर्राष्ट्रिय खेल प्रतियोगिताको गतिशील वास्तविक वातावरणमा पनि भरपर्दो रूपमा सञ्चालन हुन सक्ने क्षमता प्रदर्शन गरेको कम्पनीको दाबी छ ।

एटलसले फुटबलरहरूबाट प्रेरित गतिविधि प्रदर्शनमा प्रयोग गरेको प्रविधि

कम्पनीका अनुसार एटलसको हाफटाइम प्रदर्शनलाई सफल बनाउन तीन प्रमुख रोबोटिक्स प्रविधिको प्रयोग गरिएको थियो । पहिलो, रिटार्गेटिङ प्रविधि मार्फत मानवका गतिविधि, हाउभाउ र फुटबल खेलाडीहरूको गोल उत्सवलाई रोबोटको शारीरिक संरचनाअनुकूल रूपान्तरण गरी प्रदर्शन गर्न सकिने बनाइएको थियो । दोस्रो, रिइन्फोर्समेन्ट लर्निङ अन्तर्गत हजारौं कम्प्युटर सिमुलेसनमार्फत एटलसलाई विभिन्न गतिविधिको अभ्यास गराइएको थियो । यस प्रक्रियाले वास्तविक वातावरणमा परिचालन गर्नुअघि उसका गतिविधिलाई परिष्कृत र थप सटीक बनाएको थियो ।

तेस्रो, होल-बडी कन्ट्रोल प्रविधिले रोबोटको सम्पूर्ण शरीरका जोर्नी र अंगहरूको गतिविधिलाई एकैसाथ समन्वय गरी सन्तुलित, सहज र गतिशील रूपमा हिँड्न, घुम्न तथा विभिन्न गतिविधि गर्न सक्षम बनाइएको थियो । कम्पनीका अनुसार यी तीन वटै प्रविधिको संयोजनले एटलसलाई जटिल कार्य सम्पन्न गर्न, बदलिँदो वातावरणअनुसार आफूलाई अनुकूल बनाउन तथा वास्तविक परिस्थितिमा पनि स्थिर र भरपर्दो रूपमा सञ्चालन हुन सक्षम बनाएको थियो ।

पछिल्लो अध्यावधिक: असार २२, २०८३ १४:४८