पुरा भएन ४५ दिनभित्र नागरिक एपबाटै पासपोर्ट र ड्राइभिङ लाइसेन्सको आवेदन दिने सुविधाको वाचा
असार २१, २०८३ १०:४५
काठमाडौं । नागरिक एपबाटै पासपोर्ट र ड्राइभिङ लाइसेन्स लगायतको आवेदन दिन सकिने सेवा ४५ दिनभित्र सञ्चालनमा ल्याउने सरकारको बाचा ९० दिनमा समेत पुरा हुन नसकेको पाइएको छ । शनिबार सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले प्रगति विवरण सार्वजनिक गर्दै प्रणाली सञ्चालनमा ल्याउने यसअघिको बाचालाई प्रणाली आबद्ध गरिएको रूपमा पन्छाएका हुन् ।
सरकारले १३ चैत २०८२ मा शासकीय सुधारसम्बन्धी १०० दिने कार्यसूची स्वीकृत गरेको थियो । जसअन्तर्गत नतिजामा आधारित शासकीय प्रबन्ध (Delivery-Based Governance) लागु गर्दै नागरिकलाई विभिन्न सरकारी सेवाहरू सहज र डिजिटल रूपमा उपलब्ध गराउने प्रतिबद्धता जनाइएको थियो ।
कार्यसूचीको बुँदा ३१ मा पनि नागरिक एपले केन्द्रीय रूपमा डेटा भण्डारण (Centrally Data Store) नगर्ने गरी स्थानीय विवरणका आधारमा प्रहरी प्रतिवेदन, राहदानी र सवारी चालक अनुमति पत्रका लागि आवेदन दिन सकिने व्यवस्था ४५ दिनभित्र मिलाउने स्पष्ट कार्य योजना तय गरिएको थियो ।
सोही विषयलाई कार्यान्वयन गर्ने उद्देश्यका साथ सञ्चार मन्त्रालयले २३ चैत २०८२ मा विषय क्षेत्र सम्बन्धी छुट्टै १० वटा प्रमुख कार्यसहितको सुधारात्मक कार्य योजना स्वीकृत गरेको थियो । कार्य योजनाको पहिलो बुँदामै लेखिएको थियो, "मन्त्रालयले नागरिक एपमार्फत प्रहरी प्रतिवेदन, राहदानी तथा सवारी चालक अनुमति पत्र लगायत सरकारी सेवाहरूलाई अन्तर आबद्ध गरी ४५ दिनभित्र एकीकृत आवेदन प्रणाली सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।" तर, ४५ दिनमा यो सुविधा सञ्चालनमा ल्याउने बाचा गरेको मन्त्रालयले १०० दिन बितिसक्दा समेत सञ्चालनमा ल्याउन नसकेको हो ।
यद्यपि, मन्त्री तिमिल्सिनाले शनिबार प्रगति विवरण सार्वजनिक गर्दै प्रहरी प्रतिवेदन, राहदानी र सवारी चालक अनुमति पत्रका लागि नागरिक एपमार्फत आवेदन दिन मिल्ने गरी प्रणाली आबद्ध भइसकेको दाबी गरेका छन् । तर, प्राविधिक रूपमा प्रणाली आबद्ध भएको दाबी गरिए पनि सर्वसाधारणका लागि भने यो सेवा अझै उपलब्ध हुन सकेको छैन ।
जब कि प्रहरी प्रतिवेदनका लागि आवेदन दिने व्यवस्था भने २०७७ सालदेखि नै नागरिक एपमा उपलब्ध छ । ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिने सुविधाको एप टेस्टिङ समेत सुरु हुन बाँकी रहेको मन्त्रालय स्रोतले जनाएको छ ।
४५ दिनको समयसीमा नाघेर १०० दिन कटिसक्दा पनि सेवा सुरु नभएपछि मन्त्रालयले आन्तरिक रूपमा अब नयाँ आर्थिक वर्षको सुरुवातलाई यसको नयाँ लक्ष्य बनाएको छ । "अहिले नयाँ आर्थिक वर्ष (१ साउन २०८३) देखि यो सेवा सुरु गर्ने उद्देश्यका साथ तयारी चलिरहेको छ," मन्त्रालय स्रोतले भन्यो, "आशा गरौं, सबै कुरा सोचेअनुसार अगाडि बढ्यो भने १ साउनदेखि ड्राइभिङ लाइसेन्सको आवेदन नागरिक एपबाट दिन सकिने व्यवस्था हुन सक्छ ।"
पछिल्लो अध्यावधिक: असार २१, २०८३ १०:५१
