close

पद्मा अर्यालको प्रश्न- ‘प्रधानमन्त्रीलाई संसदमा ल्याउन ‘हेलो सरकार’ मा निवेदन दिनुपर्ने हो ?’

टेकपाना टेकपाना

असार २४, २०८३ १४:३५

पद्मा अर्यालको प्रश्न- ‘प्रधानमन्त्रीलाई संसदमा ल्याउन ‘हेलो सरकार’ मा निवेदन दिनुपर्ने हो ?’

काठमाडौं । नेकपा (एमाले)की सांसद पद्मा अर्यालले सरकारको कार्यशैली र जनगुनासो सम्बोधनको प्रक्रियामाथि प्रश्न उठाएकी छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारले आफ्ना उपलब्धिलाई शब्दको खेलमात्र बनाएको आरोप लगाइन् ।

सरकारले आफ्नो १०० दिनको कार्यकाल पूरा भएको अवसरमा सार्वजनिक गरेको रिपोर्टमा ‘हेलो सरकार’ का ६० प्रतिशत गुनासा फर्स्यौट भएको दाबी गरेको थियो । सोही दाबीमाथि प्रश्न उठाउँदै अर्यालले भनिन्, “हेलो सरकारका ६० प्रतिशत गुनासो सुनुवाइ भयो भनेर सरकार रोमाञ्चित भइरहेको छ । मलाई सोध्न मन लाग्छ- के सम्माननीय प्रधानमन्त्रीलाई यो संसदमा उपस्थित बनाउनको निमित्त हामीले पनि हेलो सरकारमा निवेदन हाल्नुपर्ने हो ?”

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नेपाल र भारतबिचको सिमाना सम्बन्धी दिएको अभिव्यक्तिका कारण प्रतिपक्षी सांसदहरू विरोधमा छन् । संसदमा आएर प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनीहरूको माग छ ।

एमाले सांसद अर्यालले सरकारले तथ्याङ्क र प्रतिवेदनमा सफलता देखाए पनि व्यवहारमा जनताले त्यसको महसुस गर्न नसकेको टिप्पणी गरिन् । विशेषगरी काठमाडौंका सडक र चोकहरूमा सुकुम्बासीहरूको उचित व्यवस्थापन हुन नसकेको र उनीहरू अलपत्र परेको विषयमा उनले सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद अर्यालले सरकारलाई प्रतिवेदनमा मात्र सीमित नभई जनताको वास्तविक अनुभूतिलाई आधार मानेर आत्मसमीक्षा गर्न सुझाव दिइन् । उनले भनिन्, “सरकारले आफ्नो प्रगतिको समीक्षा गर्दै गर्दा आफूले निर्माण गरेका शब्दको खेलबाट नभई दिनानुदिनमा जनताको अनुभूति के छ, जनताको त्यो अनुभूतिबाट सरकारले आफ्नो समीक्षा गर्नु उपयुक्त हुन्छ भन्ने मलाई लाग्छ । त्यसरी मात्रै साँचो समीक्षा हुन सक्छ ।”

 

पछिल्लो अध्यावधिक: असार २४, २०८३ १४:३५