काठमाडौं । सामाजिक सञ्जाल फेसबुक आईडी ह्याक गरी रकम ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको लिखु गाउँपालिका वडा नं. ४ स्थायी घर भई हाल काठमाडौंको बालाजु बस्ने १९ वर्षीय विवेक सुनार रहेका छन् ।
उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले बुधबार नियन्त्रणमा लिएको हो । ब्युरोका अनुसार सुनारले विभिन्न व्यक्तिको फेसबुक प्रोफाइल ह्याक गर्ने र त्यसपछि सोही प्रोफाइलको वास्तविक धनीको पहिचान दुरुपयोग गरी तिनका आफन्त तथा साथीभाइलाई विभिन्न बहानामा भ्रममा पारेर रकम माग गर्ने गरेका थिए ।
पीडितहरूले दिएको उजुरीका आधारमा ब्युरोबाट खटिएको टोलीले गरेको प्राविधिक अनुसन्धान र डिजिटल विश्लेषणबाट सुनारको संलग्नता पुष्टि भएको हो ।
पक्राउ परेका सुनारमाथि थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ ।
उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको साइबर ब्युरोका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) दिलीप कुमार गिरीले जानकारी दिएका छन् ।
पछिल्लो अध्यावधिक: असार २५, २०८३ १९:५०
