‘हाई’ को रिप्लाई दिनु रातभर फोन गर्ने अनुमति होइन, अनलाइन दुर्व्यवहारलाई प्रहरीले हल्का लियो: उषा
असार १६, २०८३ २३:२२
काठमाडौं । कलाकार उषा रजकले आफूमाथि अनलाइन दुर्व्यवहार भएको र यसबारेमा उजुरी गर्न खोज्दा प्रहरीले गैरजिम्मेवार जवाफ दिएको दाबी गरेकी छन् । फेसबुकमा एक भिडिओ राख्दै उनले नेपालको साइबर सुरक्षा प्रणाली र प्रहरीको कार्यशैलीमाथि प्रश्न उठाएकी हुन् ।
रजकका अनुसार सञ्जोग कार्की नाम गरेका एक व्यक्तिले उनलाई फेसबुकमा ‘फ्रेन्ड रिक्वेस्ट’ पठाएका थिए । केही म्युचुअल फ्रेन्ड देखेर उनले रिक्वेस्ट एक्सेप्ट गरिन् । त्यसपछि आएको ‘हाई’ को रिप्लाई दिइन् । तर, ती व्यक्तिले रातको ३ देखि ४ बजेको समयमा पटक पटक फोन गरेर मानसिक तनाव दिएको रजकले बताएकी छन् ।
“कसैको ‘हाई’ को रिप्लाई दिनुको अर्थ उसलाई रातभर फोन गरेर ह्यारेस गर्ने अनुमति दिएको होइन,” उनले भिडिओमा भनेकी छन् । मध्यरातमा बिना अनुमति फोन आउँदा महिलाहरूमा कस्तो असर पर्छ बुझ्न आवश्यक रहेको उनको भनाइ छ ।
आफूमाथि भएको दुर्व्यवहारबारे जानकारी गराउन साइबर प्रहरीलाई फोन गर्दा उजुरी लिनुको साटो ‘ब्लक गर्ने’ सल्लाह पाएको उनले बताएकी छन् । प्रहरीले अपशब्द वा गालीगलौज गरेको प्रमाण भएमा मात्र उजुरी दर्ता गर्न सकिने बताएको उनको भनाइ छ । तर, ‘ब्लक गर्नु’ समस्याको समाधान नभएको उनले तर्क गरेकी छन् ।
उनले भर्चुअल स्पेसको तुलना वास्तविक सडकको दुर्व्यवहारसँग गर्दै भनेकी छन्, “पहिले सडकमा जिस्क्याउँदा बाटो परिवर्तन गर भनिन्थ्यो, अहिले अनलाइनमा दुर्व्यवहार हुँदा ब्लक गर भनिन्छ । तर, क्रिमिनल मेन्टालिटी भएको मान्छेले अर्को अकाउन्ट खोलेर फेरि आउन सक्छ । समस्याको जड मान्छे हो । अकाउन्ट होइन ।”
रजकले आफूलाई कल गर्ने व्यक्ति ‘दीपल’ कारको व्यापारिक क्षेत्रसँग आबद्ध रहेको र उनका भाइ गृहमन्त्रीको सचिवालयमा पीए को रूपमा कार्यरत रहेको दाबी गरेकी छन् । उनले भनेकी छिन् , “सायद शक्तिको मात लागेर होला, अर्काको छोरीबेटीलाई रातभर फोन गर्नु उहाँहरूलाई सामान्य लाग्छ ।”
कलाकार रजकले यो विषय आफ्नो व्यक्तिगत समस्या मात्र नभई समग्र महिला सुरक्षाको विषय भएको उल्लेख गरेकी छन् । उनले महिलाका लागि सेफ स्पेस र कडा साइबर नीति ल्याउन खाँचो रहेको बताउँदै भनिन्, “हामी नबोलेकै कारण यस्ता घटनाहरूले ठुलो हिंसाको रूप लिन्छन्। म चाहन्छु कि भोलि हाम्रा छोरीहरूले यस्तो मेन्टल ट्रमा सहनु नपरोस् ।”
पछिल्लो अध्यावधिक: असार १६, २०८३ २३:३७
