सफ्टवेयर कम्पनीको बहानामा पोखराबाट अनलाइन सट्टेबाजी, दैनिक ६ लाख बढी कमाउने गिरोह पक्राउ
असार २८, २०८३ २०:२९
काठमाडौं । कास्कीको पोखरामा सफ्टवेयर कम्पनी खोल्ने भन्दै कोठा भाडा लिएर अनलाइन सट्टेबाजी (बेटिङ) खेलाउँदै आएको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका-१८ सेदीस्थित जीवन श्रेष्ठको घरमा छापा मारेर शुक्रबार प्रहरीले सट्टेबाजीमा संलग्न ८ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दार्चुला घर भई पोखराको सेदी बस्ने ३१ वर्षीय दिनेश सिंह बोहोरा र भारत घर भएका ३४ वर्षिय सत्यम सिंह छन् । यस्तै, २४ वर्षीय हर्ष उसरेटे, २३ वर्षीय विशाल चाउ, २२ वर्षीय जमान सिंह तमार, २७ वर्षीय विक्रान सिंह, २६ वर्षीय अजितेश कुमार मिश्र र २४ वर्षीय सत्यम राजपुत पनि पक्राउ परेका छन् ।
घटनास्थलबाट प्रहरीले ७ थान ल्यापटप, ३१ थान मोबाइल, ३४ थान भारतीय सिमकार्ड, ६ थान मनिटर र सीपीयु, इनभर्टर, ब्याट्री, राउटर र युपीएस लगायतका उपकरण बरामत गरेको छ ।
प्रहरीका अनुसार यो गिरोहले १८ चैत २०८२ देखि सफ्टवेयर कम्पनी चलाउन भन्दै उक्त घरको ७ वटा कोठा भाडामा लिएको थियो । जहाँ बसेर उनीहरूले ‘gurubhai247.pro’ नामको वेबसाइटमार्फत अनलाइन जुवा र सट्टेबाजी खेलाउने गर्थे ।
यो गिरोहले ग्राहक खोज्न र सम्पर्क गर्न टेलिग्राम र ह्वाट्सएप जस्ता सामाजिक सञ्जालका ग्रुपहरू प्रयोग गर्ने गरेको पाइएको छ । यी ग्रुपमा लिङ्क पठाएपछि सट्टेबाजीमा सहभागी हुन चाहने व्यक्तिलाई डिपोजिट वापतको रकम जम्मा गर्न लगाइन्थ्यो र रजिस्ट्रेसन गरेर क्रिकेट, फुटबल र क्यासिनो गेममा बाजी थाप्न दिइन्थ्यो । हारजित भएपश्चात उनीहरूले अनलाइन माध्यमबाटै रकम भुक्तानी र जम्मा गर्ने गर्थे ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट यो गिरोहले विशेषगरी भारतमा सट्टेबाजी खेलाउने गरेको पाइएको छ । पक्राउ परेका समूहले दैनिक ३ देखि ४ लाख भारतीय रुपैयाँ (४ लाख ७९ हजारदेखि ६ लाख ३९ हजार नेपाली रुपैयाँ) सम्म कमाउने गरेका थिए । उनीहरूले कारोबारका लागि भारतीय नागरिकहरूका बैंक खाता भाडामा लिएर प्रयोग गर्ने गरेका थिए । उनीहरूले आन्तरिक हिसाबकिताब राख्न गुगल सिटको प्रयोग गर्ने गरेको पाइएको छ । जहाँ १० करोड रुपैयाँसम्म जम्मा भएको तथ्याङ्क भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्कीका अनुसार यो गिरोहको मुख्य सञ्चालक भारतीय रहेको पाइएपनि नाम भने हालसम्म खुलेको छैन । तर, २७ औं शाखाका रूपमा पोखरामा कार्यालय सञ्चालनमा रहेको थियो ।
प्रहरी उपरीक्षक कार्कीले जानकारी दिएअनुसार भारतमा पनि अनलाइन सट्टेबाजी गैरकानुनी भएकाले भारतीय प्रशासनको नजरबाट बच्न उनीहरूले नेपालको इन्टरनेट प्रयोग गरी पोखरामा बसेर सट्टेबाजी खेलाएका हुन् । उनले भने, “भारतमा अवैध भएपछि त्यहाँको प्रशासनले ट्र्याक गर्ने डरले उनीहरूले नेपालको इन्टरनेट प्रयोग गरेर भारतीय ग्राहकलाई नै मुख्य लक्ष्य बनाएर यो काम गरिरहेका थिए ।”
सुदूरपश्चिमका नेपालीले भारतीय समूहसँग मिलेर पोखरामा यस्तो गतिविधि गरिरहेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको उनले जानकारी दिए । विगत एक महिनादेखि सूक्ष्म निगरानी पछि शुक्रबार प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । बिहान ८:०० बजे गण्डकी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीले घरमा छापा मार्नेक्रममा सट्टेबाजी खेलाइरहेको क्रममा उनीहरू पक्राउ परेका हुन् ।
हाल बरामद गरिएका डिजिटल उपकरणलाई थप प्रमाण सङ्कलनका लागि काठमाडौंस्थित डिजिटल फरेन्सिक ल्याब पठाएको प्रहरीले जनाएको छ । ल्याब रिपोर्ट आएपछि घटनाबारे थप तथ्य खुल्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असार २८, २०८३ २०:५२
