सोसल मिडियामा बढ्दो 'कन्टेन्ट चोरी', प्रहरीले भन्योः दर्ता नगरे पनि सर्जकको कपिराइट सुरक्षित हुन्छ
असार २९, २०८३ ८:२४
काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा अर्काका मौलिक रचना कपी गर्ने ट्रेन्ड मौलाइरहेको छ । खासगरी अन्य व्यक्ति वा संस्थाले तयार पारेका भिडिओ, अडियो, फोटो र अन्य सामग्री कपी गर्ने ट्रेन्ड बढ्दो क्रममा छ ।
त्यसबाहेक गीत सङ्गीतको सन्दर्भमा एआईको सहायताले मौलिक सिर्जनालाई तोडमोड गरी आफ्ना सामाजिक सञ्जालमा राखेर आम्दानी गर्ने होड पनि चलिरहेको छ । यही सन्दर्भलाई ध्यानमा राख्दै नेपाल प्रहरीले वास्तविक सर्जकलाई उनीहरूको अधिकार स्मरण गराएको छ ।
नेपाल प्रहरीले आफ्नो आधिकारिक सामाजिक सञ्जालमा एक सचेतनामूलक भिडिओ राख्दै यस विषयमा जानकारी दिएको हो । प्रहरीले सार्वजनिक गरेको भिडिओमा भनिएको छ, “तपाईंले मेहेनत गरेर कुनै गीत-सङ्गीत, भिडिओ, पुस्तक वा अन्य कुनै बौद्धिक सिर्जना गर्नुभयो र अन्य अनधिकृत व्यक्तिले उक्त सिर्जनालाई सार्वजनिक गरिदियो भने यस्तो अवस्थामा नेपालको प्रचलित कानुनले तपाईंलाई विभिन्न अधिकार प्रदान गरेको छ ।”
प्रतिलिपि अधिकार ऐन, २०५९ ले साहित्य, कला, सङ्गीत, चलचित्र, फोटो, सफ्टवेयर, ज्ञान-विज्ञान लगायतका क्षेत्रमा सिर्जना भएका मौलिक रचनालाई कानुनी संरक्षण प्रदान गरेको प्रहरीले स्मरण गराएको छ । सामान्यतया धेरैलाई आफ्नो रचना दर्ता नगरेसम्म कपिराइट (प्रतिलिपि अधिकार) लाग्दैन भन्ने लाग्न सक्छ, तर यो बुझाई गलत रहेको प्रहरीले स्पष्ट पारेको छ । उक्त ऐनको दफा ५ ले कुनै पनि रचना सम्बन्धित निकायमा दर्ता नभए पनि त्यसमा प्रतिलिपि अधिकार स्वतः सुरक्षित हुने व्यवस्था गरेको छ ।
यसैगरी रचनाको पुनरुत्पादन गर्ने, अनुवाद गर्ने, परिमार्जन अथवा संशोधन गर्ने, प्रसारण गर्ने तथा सार्वजनिक रूपमा प्रस्तुत गर्ने लगायतका आर्थिक अधिकार सम्बन्धित सर्जक वा प्रतिलिपि अधिकारधनीलाई मात्र हुने प्रहरीले जनाएको छ । यो अधिकार सर्जकको जीवनभर मात्र नभई, उहाँको मृत्यु भएको ५० वर्ष पछिसम्म पनि कानुनी रूपमा सुरक्षित रहने व्यवस्था छ ।
अरूको बौद्धिक सम्पत्तिबाट आर्थिक लाभ लिने उद्देश्यले अनधिकृत रूपमा प्रकाशन, प्रसारण, बिक्री-वितरण अथवा पुनरुत्पादन गर्नु प्रतिलिपि अधिकारको उल्लङ्घन मानिन्छ । यस्तो कसुर गरेमा कानुन बमोजिम १० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुन सक्छ । यदि कसैले दोहोर्याएर यही कसुर गरेमा सजाय दोब्बरसम्म बढ्न सक्ने कानुनी व्यवस्था रहेको छ । यसका साथै पीडित पक्षलाई उचित क्षतिपूर्तिको समेत व्यवस्था गरिएको छ ।
प्रतिलिपि अधिकार उल्लङ्घन एउटा फौजदारी अपराध हो । यदि कसैले तपाईंको प्रतिलिपि अधिकार उल्लङ्घन गरेको छ भने त्यसको जानकारी पाएको मितिले तीन महिनाभित्र नजिकको प्रहरी कार्यालयमा उजुरी गर्न सकिने प्रहरीले जनाएको छ ।
पछिल्लो अध्यावधिक: असार २९, २०८३ ८:२७
