काठमाडौं । फुटबलको यो सबैभन्दा ठुलो महाकुम्भको विजेता अनुमान गर्नु कहिल्यै सहज हुँदैन । सन् १९५४ को फाइनलमा बलियो मानिएको हंगेरीलाई पश्चिम जर्मनीले हराएको खेलदेखि लिएर यस वर्षको प्रतियोगितामा सेमिफाइनलबाटै फ्रान्स बाहिरिएको घटनासम्मलाई हेर्दा, फुटबलको खेलमा पूर्वअनुमान वा निश्चितता भन्ने कुरा भ्रम मात्र हो ।
यसको अनिश्चितताले खेल विश्लेषकका बलिया पूर्वानुमानलाई पनि फगत एउटा अनुमानमा सीमित गरिदिन्छ । आइतबार न्यु जर्सीको मेटलाइफ स्टेडियममा हुने फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई हराउँदै युवा खेलाडी लामिन यामाल सम्मिलित स्पेनले उपाधि जित्नेमा केही विश्लेषकहरू बढी विश्वस्त देखिन्छन् । अर्कोतर्फ, लियोनेल मेस्सीले आफ्नो खेल जीवनको अन्त्यतिर अर्जेन्टिनालाई लगातार दोस्रो पटक उपाधि दिलाउँदै ‘गोल्डेन बुट’ समेत जित्ने अनुमान गर्ने प्रशंसक पनि उत्तिकै छन् ।
तर के हामी परम्परा, भावना र विश्लेषकका अंक भन्दा माथि उठेर विशुद्ध तथ्याङ्क र आधुनिक प्रविधिको प्रयोग गरी यस महाभिडन्तको ठोस अनुमान लगाउन सक्छौँ ?
अहिले प्रविधि जगतमा एआईको होडबाजी चलिरहेको छ । यसै सन्दर्भमा सीनेट नामक अनलाइनले विश्वका प्रमुख पाँच च्याटबटलाई खेलकुद विश्लेषकको भूमिकामा उतार्दै आगामी फाइनल खेलको नतिजा पूर्वानुमान गर्न लगाएको छ ।
कसरी गरियो परीक्षण? (प्रम्प्ट र मापदण्ड)
च्याटबटले प्रायः अस्पष्ट वा सामान्य उत्तर दिने गर्छन् । त्यसैले सटीक नतिजा, गोलकर्ता, प्लेयर अफ द म्याच र खेल कति समयमा सकिन्छ (९० मिनेट, थप समय वा पेनाल्टी सुटआउट) भन्ने कुरा पत्ता लगाउन सीनेटले विशेष मापदण्डसहितको प्रम्प्ट तयार पारेको थियो ।
च्याटबटलाई केवल अनुमानमा मात्र सीमित नभई टिमको हालैको प्रदर्शन, चोटपटक, हेड-टु-हेड इतिहास, रंगशालाको अवस्था र फाइनल खेलाउने रेफ्री स्लाभ्को भिन्चिकको निर्णय गर्ने शैली जस्ता पक्षको विश्लेषण गर्न भनिएको थियो ।
प्रम्प्टः
सीनेटल क्लाउड, जेमिनाई, च्याटजीपीटी, पर्प्लेक्सिटी र माइक्रोसफ्ट कोपाइलटमा परीक्षण गरेको थियो ।
१. क्लाउड
एन्थ्रोपिक कम्पनीको ‘क्लाउड’ ले दिएको पूर्वानुमान यस्तो छ:
-
अन्तिम नतिजा: स्पेन २-१ अर्जेन्टिना (९० मिनेटभित्र)
-
गोलकर्ता: स्पेनका लागि लामिन यामाल (५२’) र मिकेल ओयारजाबाल (८१’); अर्जेन्टिनाका लागि लियोनेल मेस्सी (६५’ पेनाल्टी)
-
थप समय/पेनाल्टीको सम्भावना: थप समयको सम्भावना ३०%, पेनाल्टीको सम्भावना १५%
-
प्लेयर अफ द म्याच: लामिन यामाल
-
मुख्य विश्लेषण: स्पेनको टोलीमा युवा जोस र ताजगी छ, जसले गर्दा अर्जेन्टिनाको थाकेको रक्षापंक्तिविरुद्ध खेलको अन्तिम २०-३० मिनेटमा स्पेन हाबी हुन सक्छ । यामाल र मेस्सीबीचको व्यक्तिगत भिडन्तमा यामालको प्रभाव बढी देखिनेछ ।
२. जेमिनाई
गुगलको जेमिनाईले अन्य च्याटबटभन्दा फरक नतिजा अनुमान गरेको छ:
-
अन्तिम नतिजा: अर्जेन्टिना २-१ स्पेन (थप समयमा, ९० मिनेटसम्म १-१ को बराबरी)
-
गोलकर्ता: स्पेनका लागि लामिन यामाल (४१’); अर्जेन्टिनाका लागि लियोनेल मेस्सी (६८’ पेनाल्टी) र जुलियन अल्भारेज (१०४’)
-
थप समय/पेनाल्टीको सम्भावना: थप समयको सम्भावना ५५%, पेनाल्टी सुटआउटको सम्भावना २५%
-
प्लेयर अफ द म्याच: लियोनेल मेस्सी
-
मुख्य विश्लेषण: जेमिनाईका अनुसार अर्जेन्टिना कठिन परिस्थिति र दबाब झेल्न खप्पिस छ । रेफ्री भिन्चिकको कडा निर्णय शैलीका कारण मेस्सीले पेनाल्टी वा फ्रिकिकमार्फत फाइदा उठाउन सक्नेछन् । अतिरिक्त समयमा जुलियन अल्भारेज र लाउटारो मार्टिनेजको ऊर्जाले अर्जेन्टिनालाई फाइदा पुर्याउनेछ ।
३. च्याटजीपीटी
ओपनएआईको ‘च्याटजीपीटी’ को विश्लेषण यस्तो छ:
-
अन्तिम नतिजा: स्पेन २-१ अर्जेन्टिना (थप समयमा)
-
गोलकर्ता: स्पेनका लागि लामिन यामाल (३४’) र मिकेल ओयारजाबाल (१०८’); अर्जेन्टिनाका लागि जुलियन अल्भारेज (६७’)
-
थप समय/पेनाल्टीको सम्भावना: थप समयको सम्भावना ४३%, पेनाल्टी सुटआउटको सम्भावना २४%
-
प्लेयर अफ द म्याच: लामिन यामाल
-
मुख्य विश्लेषण: स्पेनको बलियो मिडफिल्ड (रोड्री, पेड्री र फाबियन रुइज) ले खेलको लय नियन्त्रणमा राख्नेछ । अर्जेन्टिनाले कडा चुनौती दिए पनि अतिरिक्त समयमा खेलाडीको थकानका कारण स्पेनले नतिजा आफ्नो पक्षमा पार्नेछ ।
४. पर्प्लेक्सिटी
गहन विश्लेषणका लागि परिचित ‘पर्प्लेक्सिटी’ को पूर्वानुमान:
-
अन्तिम नतिजा: स्पेन २-१ अर्जेन्टिना (९० मिनेटभित्र)
-
गोलकर्ता: स्पेनका लागि मिकेल ओयारजाबाल (३४’) र लामिन यामाल (७१’); अर्जेन्टिनाका लागि लियोनेल मेस्सी (५६’ पेनाल्टी)
-
थप समय/पेनाल्टीको सम्भावना: खेल ९० मिनेटमै सकिने सम्भावना ५५%, थप समयको सम्भावना ४५%
-
प्लेयर अफ द म्याच: लामिन यामाल
-
मुख्य विश्लेषण: स्पेनको डिफेन्स र मिडफिल्डको तालमेल उत्कृष्ट छ । स्पेनको ‘हाई-प्रेस’ शैलीले अर्जेन्टिनाको काउन्टर-अट्याक रोक्न मद्दत गर्नेछ । १९ वर्षीय यामालको गति र ड्रिब्लिङ अर्जेन्टिनाको डिफेन्स तोड्न निर्णायक बन्नेछ ।
५. माइक्रोसफ्ट कोपाइलट
कोपाइलटको संक्षिप्त र तथ्याङ्कमा आधारित पूर्वानुमान:
-
अन्तिम नतिजा: स्पेन २-१ अर्जेन्टिना (थप समयमा, ९० मिनेटसम्म १-१ को बराबरी)
-
गोलकर्ता: स्पेनका लागि ड्यानी ओल्मो (३२’) र लामिन यामाल (१०७’); अर्जेन्टिनाका लागि जुलियन अल्भारेज (६७’)
-
थप समय/पेनाल्टीको सम्भावना: थप समयको सम्भावना ४५%, पेनाल्टीको सम्भावना २५%
-
प्लेयर अफ द म्याच: लामिन यामाल
-
मुख्य विश्लेषण: स्पेनका खेलाडी शारीरिक रूपमा बढी फिट छन् । अर्जेन्टिनाका मेस्सी, मार्टिनेज र रोमेरो जस्ता मुख्य खेलाडीहरू सामान्य चोट र थकानसँग जुधिरहेकाले खेल लम्बिँदा स्पेनलाई फाइदा पुग्ने देखिन्छ ।
पाँचमध्ये चारवटा च्याटबट (क्लाउड, च्याटजीपीटी, पर्प्लेक्सिटी र कोपाइलट) ले २-१ को गोलअन्तरमा स्पेनको जितको भविष्यवाणी गरेका छन् । गुगलको जेमिनाईले मात्र अर्जेन्टिनाले २-१ ले उपाधि रक्षा गर्ने फरक मत राखेको छ ।
धेरैजसो एआई मोडेलले स्पेनका युवा स्टार लामिन यामाललाई ‘प्लेयर अफ द म्याच’ का रूपमा रोजेका छन् भने जेमिनाईले लियोनेल मेस्सीलाई । अब वास्तविक मैदानमा कुन च्याटबटको अनुमान सही साबित हुनेछ, त्यो भने खेल सकिएपछि नै थाहा होला ।
पछिल्लो अध्यावधिक: साउन २, २०८३ २१:८
