close

प्रधानमन्त्रीविरुद्ध अश्लील सामग्री बनाएको आरोपमा मुद्दा खेपेका युट्युबर पोखरेल धरौटीमा रिहा

टेकपाना टेकपाना

साउन १, २०८३ १९:३९

प्रधानमन्त्रीविरुद्ध अश्लील सामग्री बनाएको आरोपमा मुद्दा खेपेका युट्युबर पोखरेल धरौटीमा रिहा

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र उनको परिवारको मान-प्रतिष्ठामा आँच पुग्ने गरी अश्लील सामग्री प्रसारण गरेको आरोपमा मुद्दा खेपेका युट्युबर रोशन पोखरेल २५ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् । उच्च अदालत विराटनगर इलाम इजलासले बिहीबार धरौटीमा छाड्ने अन्तरिम आदेश जारी गरेसँगै  पोखरेल रिहा भएका हुन् । 

पाँचथरको फाल्गुनन्द गाउँपालिका-७ दोबाटे बस्ने २४ वर्षीय पोखरेल प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लगायत विभिन्न राजनीतिक व्यक्तिलाई गालीगलौज गरी कन्टेन्ट बनाएको आरोपमा २६ चैतमा पक्राउ परेका थिए । 

उनीविरुद्ध असार १८ मा जिल्ला सरकारी वकिलको कार्यालय पाँचथरले साइबर अपराधको मुद्दा दायर गरेको थियो । सोही दिन जिल्ला अदालत पाँचथरका न्यायाधीश कुमार मास्केको इजलासले उनलाई मुद्दाको किनारा नलागुन्जेलसम्मका लागि थुनामा पठाउन आदेश दिएको थियो । 

तर उक्त आदेशमा असन्तुष्टि जनाउँदै पोखरेलले २५ जेठमा उच्च अदालत विराटनगर, इलाम इजलासमा पुनरावेदन दर्ता गराएका थिए । जसमा बिहीबार (३२ साउन) न्यायाधीशद्वय किरण पोखरेल र काजीबहादुर राईको संयुक्त इजलासले जिल्ला अदालतको थुनामा पठाउने आदेश बदर गर्दै धरौटीमा रिहा गर्न आदेश दिएको हो । अब पोखरेलले थुनाबाहिर रहेर नै मुद्दा लड्न पाउनेछन् । 

 

पछिल्लो अध्यावधिक: साउन १, २०८३ १९:३९