close

फ्याक्टचेकः व्यवसायी चन्द्र ढकालले महिनामा १५ लाख कमाइ हुने भन्दै प्रचार गरेको देखिने भिडिओ 'डिपफेक'

रञ्जिता उप्रेती रञ्जिता उप्रेती

साउन ८, २०८३ १६:५७

फ्याक्टचेकः व्यवसायी चन्द्र ढकालले महिनामा १५ लाख कमाइ हुने भन्दै प्रचार गरेको देखिने भिडिओ 'डिपफेक'

काठमाडौं । पछिल्ला केही दिनयता सामाजिक सञ्जाल फेसबुकमा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल जोडिएको एउटा भिडिओ चर्चामा छ । भेरिफाइड समेत रहेको एक अकाउन्टबाट पोस्ट गरिएको झन्डै तीन मिनेट लामो उक्त भिडिओमा ढकालले एउटा सरकारी प्लेटफर्मको प्रचार गरेको देखाइएको छ । 

तर, टेकपानाले गरेको तथ्यजाँचबाट यो भिडिओ ‘डिपफेक’ भएको पाइएको छ । ढकालले त्यस्तो कुनै पनि प्लेटफर्मको प्रचार गरेका छैनन् । उनले कान्तिपुरको टेलिभिजनमा दिएको अन्तर्वार्तालाई तोडमोड गरी मिथ्या सूचना फैलाइएको तथ्यजाँचका क्रममा पुष्टि भएको छ । यसअघि सोही अकाउन्टले उद्यमी विनोद चौधरीको पनि नक्कली भिडिओ बनाएर प्रचार गरेको थियो ।

दाबी

२१ जुलाई (मङ्गलबार) बिहान ७ः२५ बजे ‘Paulo Battista’ नामको भेरिफाइड फेसबुक पेजले एक भिडिओ राखेको छ । जहाँ मानिसमा कौतूहलता जगाउने किसिमको क्याप्सन लेखिएको छ । क्याप्सनमा अङ्ग्रेजीमा लेखिएको छ, “A surprise announcement has sparked controversy across the country: here's how it will affect you.” (अचानक गरिएको एउटा घोषणाले देशभर विवाद निम्त्याएको छ: यसले तपाईंलाई कसरी असर गर्नेछ, यहाँ हेर्नुहोस् ।) 

उक्त भिडिओको थम्नेलमा सरकारले हप्ताको पाँच लाख ३५ हजार ५०० रुपैयाँ आम्दानीको सुनिश्चितता प्रदान गर्ने प्लेटफर्म ल्याएको दाबी गर्ने क्याप्सन राखिएको छ । 

सार्वजनिक भिडिओमा सबैभन्दा पहिले टेलिभिजन प्रस्तोता ‘रुपेश श्रेष्ठ’ बोलेको देखाइएको छ । त्यसमा उनले अङ्ग्रेजीमा बोलेका छन् । जसलाई नेपालीमा रूपान्तरण गर्दा यस्तो सुनिन्छ, “४० वर्षमाथिका युवाले आफ्नो जागिरबाट अवकाश लिइरहेका छन् । यो सबैको श्रेय नयाँ फाइनान्सियल प्लेटफर्मलाई जान्छ जुन सरकारले विकास गरेको हो ।”

त्यसपछि व्यवसायी ढकालले अङ्ग्रेजीमा बोलेको देखाइएको छ । जसमा सुरुवाती चरणमा ३८,०८० रुपैयाँ लगानी गरेर प्रतिहप्ता १ लाख ५४ हजार ७०० भन्दा बढी कमाउन सकिने दाबी गरिएको छ । यो अवसर सबैका लागि उपलब्ध नभएको र यस वेबपेजलाई बन्द गरेमा यो अवसर सधैंका लागि गुम्न सक्ने चेतावनी समेत दिइएको छ ।

यस प्रणालीलाई कुनै पिरामिड स्किम वा फरेक्स व्यापार नभएर एक स्थापित कम्पनीको एआई प्रविधिमा आधारित स्वचालित व्यापार सफ्टवेयर भनिएको छ । यो सफ्टवेयर जुनसुकै कम्प्युटर वा मोबाइल फोनमा चल्ने र यसले बजारको उतारचढाव विश्लेषण गरी आफैं व्यापार गर्ने दाबी गरिएको छ, जसमा प्रयोगकर्ताले केवल नतिजा मात्र हेर्नुपर्ने हुन्छ ।

परीक्षण समूहका सहभागीले पहिलो हप्तामै २ लाख ३८ हजारभन्दा बढी कमाएको जानकारी दिइएको छ । यदि पहिलो हप्तामा तोकिएको आम्दानी हुन नसकेमा  व्यवसायी ढकालले आफ्नै गोजीबाट पैसा फिर्ता दिने ग्यारेन्टी समेत गरिएको देखाइएको छ । यसमा सहभागी हुनका लागि इच्छुक व्यक्तिले वेबसाइटमा आफ्नो विवरण दर्ता गर्नुपर्नेछ र त्यसपछि आउने मेनेजरको फोन कलमार्फत आफ्नो स्थान सुरक्षित गर्नुपर्ने हुन्छ भनिएको छ ।

यो सामग्री तयार पार्दासम्म सो पोस्टमा १८५ रियाक्सन आएका छन् भने ३७ पटक कमेन्ट गरिएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, स्क्रिनशट र स्क्रिन रेकर्ड ।

अनुसन्धान

सार्वजनिक भिडिओमा प्रस्तोता श्रेष्ठ र ढकालको आवाज रोबोटिक्स सुनिन्छ । त्यसबाहेक भिडिओमा दर्शकहरूलाई प्रलोभन देखाउँदै लगानी गर्न उक्स्याइरहेको सुनिन्छ जुन शङ्कास्पद पनि छ ।

त्यसपछि हामीले सोही अन्तर्वार्ता खोज्न भिडिओको स्क्रिनशट लिएर गुगल रिभर्स इमेज सर्च गरेर खोज्यौं । ‘Government investment platepform’, ‘53,5500 per week’ लगायतका कीवर्ड राखेर विभिन्न सामाजिक सञ्जालमा सर्च गर्दा अन्य प्रयोगकर्ताले सो भिडिओ राखेको फेला परेन । 

तथ्यजाँच गर्ने क्रममा हामीले यो पोस्ट गर्ने ‘Paulo Battista’ नामको अकाउन्ट विश्लेषण गर्‍यौं । अकाउन्ट खोलेर हेर्दा त्यहाँ यो भिडिओ देखिँदैन । अकाउन्टबाट सार्वजनिक रूपमा हेर्न मिल्ने पोस्ट नै अन्तिम पटक १६ नोभेन्बर २०२४ मा सार्वजनिक भएको देखियो । दाबीमा उल्लेखित भिडिओ खोल्दा अकाउन्टको तलपट्टि सेटिङको आइकन देखा पर्छ । यसको अर्थ यस भिडिओलाई लिङ्कबाट मात्र एक्सेस गर्न सकिने बनाइएको छ । बुस्ट गरेको पोस्टहरूमा यस्तो देखिन्छ । 

कुनै पनि विदेशी अकाउन्टले नेपालका व्यवसायीको कुरालाई शुल्क तिरेर बुस्ट गरेर प्रचार गर्नु अस्वाभाविक देखिन्छ । 

हामीले ‘हाइभ मोडरेसन’ टुलमा राखेर भिडिओको परीक्षण गर्‍यौं । टुलले यसमा भएको आवाज एआई सिर्जित हुने सम्भावना ९९ प्रतिशतभन्दा बढी भएको देखायो । 

हामीले रुपेश श्रेष्ठले लिएको व्यवसायी चन्द्र ढकालको अन्तर्वार्ताको भिडिओ खोज्यौं । भिडिओ कान्तिपुर टेलिभिजनको युट्युब च्यानलमा २० जनवरी २०२५ मा प्रसारण भएको पाइयो । हेर्नुहोस् भिडिओ ।​


यो भिडिओमा पूर्ण रूपमा दुई जनाबिच अङ्ग्रेजीमा संवाद भएको छैन । तर अन्तर्वार्तामा भएको स्थान र पहिरनले भने अन्तर्वार्ताबाट आवाज निकालेर त्यसलाई डिपफेक अडियो बनाइएको सङ्केत गर्‍यो । र सोही अन्तर्वार्ताबाट दुई मिनेटको क्लिप लिएर अडियोसँग सिङ्क गरियो । 

यसअघि  ‘Paulo Battista’ नामको पेजले नै उद्यमी एवम् राजनीतिज्ञ विनोद चौधरीको यस्तै डिपफेक अडियो बनाइ वास्तविक भिडिओमा सिङ्क गरेर यही शैलीको सूचना फैलाएको थियो । टेकपानाको तथ्यजाँचबाट उक्त भिडि‌ओ र भिडिओमा गरिएको दाबी मिथ्या भएको पुष्टि भइसकेको छ । हेर्नुहोस् तथ्यजाँच । 

त्यही अकाउन्टले फैलाएको यो अर्को मिथ्या सूचना हो । यसमा भने लिङ्क फरक राखिएको छ । तर, पहिलेको जस्तै यसमा पनि ‘द काठमाडौं पोस्ट’को वेबपेजलाई क्लोन गरेर त्यसमा मासिक लाखौं कमाइ हुने दाबी गरिएको प्लेटफर्मको चर्चा गरिएको छ । सर्वसाधारणलाई भ्रममा पार्न मानिसहरूले घर बनाएको, गाडी किनेको देखिने एआई सिर्जित तस्बिर प्रयोग गरिएको छ ।

प्लेटफर्मको अन्तिमपट्टि दर्ता गर्न भनिएको छ । ५०० जना क्षमतामा जम्मा ९६ जनाको लागि मात्र सिट बाँकी भएकाले छिटो आवेदन दिन भनिएको छ । यसमा नाम, ईमेल र फोन नम्बर मागिएको छ । र, अन्तिममा नक्कली कमेन्टहरू राखिएको छ । 

उद्यमी चन्द्रप्रसाद ढकालले पनि सामाजिक सञ्जाल फेसबुकमा पोस्ट राख्दै आफूले कुनै पनि प्लेटफर्मको प्रचार नगरेको भन्दै झुटा प्रलोभनमा नफस्न आग्रह गरेको पाइयो । २२ जुलाईमा एक पोस्ट सार्वजनिक गर्दै उनले लेखेका छन्, “जरुरी सूचना!

कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोग गरी मेरो भिडियो अन्तर्वार्ता जस्तो देखिने सामग्री बनाई, निश्चित रकम लगानी गरेपछि साप्ताहिक रूपमा ठूलो रकम आम्दानी गर्न सकिने भन्ने झुटा र भ्रामक प्रचार फेसबुक लगायत सामाजिक सञ्जालमा फैलाइएको थाहा हुन आएको छ।

यस्ता झुटा तथा भ्रामक सामग्री तयार गर्ने, प्रसारण गर्ने तथा सर्वसाधारणलाई ठगी गर्ने प्रयासमा संलग्न व्यक्तिहरूमाथि आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा उजुरी गरिसकिएको व्यहोरा समेत जानकारी गराउन चाहन्छु।

यस्ता भ्रामक भिडियो वा विज्ञापनको विश्वास नगरिदिनुहुन,  सही र आधिकारिक जानकारीका लागि मेरो आधिकारिक फेसबुक पेज एवं सम्बन्धित संस्थाका आधिकारिक माध्यमबाट प्रकाशित सूचनालाई मात्र विश्वास गरि दिनुहुन हार्दिक अनुरोध गर्दछु ।” हेर्नुहोस् पोस्ट । 

दाबी

व्यवसायी चन्द्र ढकालले सरकारद्वारा विकसित एआई प्रविधिमा आधारित एक नयाँ वित्तीय प्लेटफर्मको प्रचार गरिरहेका छन् । यस प्लेटफर्ममा सुरुमा ३८,०८० रुपैयाँ लगानी गरेर प्रतिहप्ता लाखौं कमाउन सकिने बताएका छन् । 

दाबीकर्ता

'Paulo Battista' नामको भेरिफाइड फेसबुक पेज ।

तथ्य

एआई सिर्जित अडियो: एआई डिटेक्सन टुल ‘हाइभ मोडरेसन’ ले यस भिडिओमा प्रयोग गरिएको आवाज एआई सिर्जित हुने सम्भावना ९९ प्रतिशतभन्दा बढी रहेको देखाएको छ । 

अन्तर्वार्ता तोडमोड गरिएको: यो भिडिओ कान्तिपुर टेलिभिजनको युट्युब च्यानलमा २० जनवरी २०२५ मा प्रसारित प्रस्तोता रुपेश श्रेष्ठले उद्यमी चन्द्र ढकालसँग लिएको अन्तर्वार्ताको भिडिओ क्लिप हो । उक्त मूल अन्तर्वार्तामा कतै पनि पूर्ण रूपमा अङ्ग्रेजीमा संवाद भएको छैन र यस्तो प्लेटफर्मको बारेमा कुरा गरिएको छैन । सोही अन्तर्वार्ताको दृश्यलाई तोडमोड गरी एआई अडियोसँग सिङ्क गरिएको हो ।

नक्कली वेबसाइट : भिडिओमा दिइएको लिङ्क खोल्दा 'द काठमाडौं पोस्ट' को आधिकारिक वेबसाइट जस्तो देखिने नक्कली वेबसाइट (क्लोन) देखा पर्छ । जहाँ मानिसहरूलाई प्रलोभन देखाउन एआई सिर्जित तस्बिर र नक्कली कमेन्ट राखिएका छन् ।

शंकास्पद प्रचार शैली: यो भिडिओ पोस्ट गर्ने पेजको टाइमलाइनमा यो सामग्री देखिँदैन। यसलाई केवल लिङ्क मार्फत मात्र हेर्न र दर्ता गर्न मिल्ने गरी फेसबुकमा बुस्ट गरिएको छ ।

चन्द्र ढकालको स्पष्टीकरण: ढकालले सामाजिक सञ्जालमा पोस्ट राख्दै आफूले कुनै पनि प्लेटफर्मको प्रचार नगरेको र आफ्नो नाम तथा भिडिओ दुरुपयोग गरी प्रचार गरिएको भिडिओ एआई सिर्जित भएको बताएका छन् ।

निष्कर्ष

व्यवसायी चन्द्र ढकालले हप्तामा लाखौं कमाउन सकिने भन्दै कुनैपनि प्लेटफर्मको प्रचार गरेका छैनन् । फेसबुक लगायतका माध्यममा प्रसारित भिडिओ डिपफेक प्रविधिको प्रयोग गरेर बनाइएको मिथ्या सूचना हो ।

 

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, ​युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: साउन ८, २०८३ १७:४