close

आईफोन १२ मा कल सुन्ने स्थानमा समस्या, निःशुल्क बनाइदिने एप्पलको घोषणा

टेकपाना टेकपाना

भदौ १२, २०७८ १०:१०

आईफोन १२ मा कल सुन्ने स्थानमा समस्या, निःशुल्क बनाइदिने एप्पलको घोषणा

काठमाडौं । एप्पलले आईफोन १२ र आईफोन १२ प्रोको रिसिभरमा देखिएको समस्या समाधान गर्न नयाँ ‘सर्भिस प्रोग्राम’ घोषणा गरेको छ ।

कम्पनीको भनाइ अनुसार अक्टुबर २०२० देखि अप्रिल २०२१ बीच बनेका मिनी तथा म्याक्स बाहेकका फोनमा ‘इयरपिस’ (कलको आवाज सुन्ने स्पिकर) मा कल गर्दा वा रिसिभ गर्दा आवाज नआउने समस्या हुनसक्छ ।

नयाँ कार्यक्रम अन्तर्गत कम्पनीले यस्तो समस्या निःशुल्क समाधान गरिदिने भएको हो । एप्पलका अनुसार रिसिभर मोड्युलको खराबीका कारण यस्तो समस्या देखिने गरेको हो ।

एप्पलको पेजमा बताइएको छ कि ‘एकदमै थोरै प्रतिशत’ उपकरण यो समस्याबाट प्रभावित भएका हुनसक्छन् । यदि तपाईंको आईफोनको ‘इयरपिस’ अर्थात फोनको आवाज सुन्ने ठाउँमा समस्या छ भने त्यसलाई समाधान गर्ने यो एउटा राम्रो अवसर हुन सक्छ ।

त्यसो त आईफोन १२ का सबै फोनको एक वर्षे वारेन्टी अवधि अझै घर्किसकेको छैन । तर एप्पलको यो नयाँ कार्यक्रमले थप अतिरिक्त एक वर्ष सहित आईफोन खरिद गरेको दुई वर्षसम्मको समस्यालाई समेट्नेछ ।

एउटा अर्को कुरा पनि छ, यदि तपाईंले यस्तो समस्या भोगिरहनु भएको छ र आफ्नो आईफोन सर्भिसिङका लागि पठाउँदै हुनुहुन्छ भने स्क्रिन क्य्राक भएको खन्डमा रिसिभर मर्मत गर्नु अघि नै त्यसलाई समाधान गर्नुपर्नेछ ।

त्यसैले ख्याल गर्नुहोस्, रिसिभर मर्मत निःशुल्क भए पनि स्क्रिनमा पुगेको क्षतिका लागि भने तपाईंले पैसा तिर्नुपर्ने हुनसक्छ । एप्पलले यो पनि भनेको छ कि यो कार्यक्रमका लागि योग्य हुनका लागि त्यस्तो फोनमा ‘कुनै पनि सर्भिस गर्नुअघि परीक्षण गरिनेछ’ ।

सम्भवतः यसको अर्थ यदि तपाईंको आईफोनको रिसिभर दुर्घटनावश बिग्रिएको वा तातो तरल पदार्थ पसेको छ भने तपाईंले निःशुल्क मर्मत सम्भारको सुविधा पाउनु हुनेछैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१