मासिक ३५ सय भत्ता सहित ४८० विद्यार्थीलाई निःशुल्क पढाउँदै सीटीईभीटी, यसरी दिनुहोस् आवेदन
असार १०, २०८३ ८:१०
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले प्राविधिक विषयमा अध्ययन गर्न चाहने पिछडिएका र विपन्न वर्गका विद्यार्थीहरूलाई मासिक ३५ सय रुपैयाँ भत्ता सहित पूर्ण छात्रवृत्तिको आवेदन आह्वान गरेको छ । सीटीईभीटीले डिप्लोमा र प्रि-डिप्लोमा तहका विभिन्न २६ वटा प्राविधिक विषयमा ४८० कोटामा निःशुल्क छात्रवृत्तिको आह्वान गरेको हो ।
छात्रवृत्तिका लागि डिप्लोमा तथा प्रमाणपत्र तहमा ४५७ र प्रि-डिप्लोमा तहमा २३ सिट निर्धारण गरिएको छ । डिप्लोमा तहमा इन्जिनियरिङ तर्फ सिभिलमा ८०, मेकानिकलमा २३, इलेक्ट्रिकलमा ३०, इन्फर्मेसन टेक्नोलोजीमा ३० र अटोमोबाइल इन्जिनियरिङमा २१ कोटामा आवेदन माग गरिएको छ । यस्तै, प्रि-डिप्लोमा तहमा अटोमोबाइल इन्जिनियरिङमा सात जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्न लागिएको हो ।
सीटीईभीटीका अनुसार छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीहरूले निःशुल्क पढ्न पाउनुका साथै अध्ययन अवधिभर निर्वाह भत्ता बापत प्रति महिना ३५ सय रूपैयाँ प्राप्त गर्ने छन् । साथै, शैक्षिक सामग्री र पोसाकका लागि वार्षिक २५ सय रुपैयाँ र यातायात खर्च बापत वार्षिक १५ सय रुपैयाँ प्रदान गरिने छ ।
छात्रवृत्तिमा आवेदन दिन योग्यता पुगेका इच्छुक व्यक्तिहरूले १८ असार राति ११:५९ बजेसम्म सीटीईभीटीको वेबसाइट ‘https://itms.ctevt.org.np:5580/’ मार्फत आवेदन दिन सक्नेछन् । आवेदन दिँदा नागरिकता वा जन्मदर्ता, शैक्षिक योग्यताको मार्कसिट, र लक्षित वर्ग खुल्ने आधिकारिक सिफारिस पत्र अनिवार्य रूपमा अपलोड उल्लेख गरिएको छ ।
विद्यार्थीहरूको अन्तिम छनोट एसईई वा एसएलसी परीक्षामा प्राप्त गरेको औसत ग्रेड पोइन्टको आधारमा तयार पारिने योग्यताक्रम सूचीमार्फत गरिने बताइएको छ । यसरी छनोट गर्दा सरकारी वा सामुदायिक विद्यालयबाट उत्तीर्ण हुनेहरूलाई विशेष प्राथमिकता दिइने उल्लेख गरिएको छ । आवेदनका लागि कुनै पनि शुल्क नलाग्ने सीटीईभीटीले जनाएको छ । छात्रवृत्ति सम्बन्धी सीटीईभीटीले सार्वजनिक गरेको सूचना यहाँ क्लिक गरेर पढ्न सकिन्छ ।
पछिल्लो अध्यावधिक: असार १०, २०८३ ८:१५
