काठमाडौं । यतिबेला डेटा स्टोरेज सबैभन्दा ठूलो चुनौती बन्दै गएको छ । विश्वमा डेटाको महत्व बढ्दै जाँदा त्यसलाई सुरक्षित स्टोरेज गर्नुपर्ने बाध्यता बढ्दै गएको छ ।
जसको प्रतिफल विभिन्न कम्पनीले ठूला-ठूला डेटा सेन्टर सञ्चालनमा ल्याएका छन् । भने, क्लाउड स्टोरेजको प्रयोग व्यापक रुपमा बढेको छ ।
हुन त यी डेटा सेन्टर तथा क्लाउड ठूला व्यवसायका लागि बढी प्रयोग हुने गरेका छन् । तर, हाम्रो कम्प्युटर तथा ल्यापटपमा भएको डेटालाई स्टोरेज गर्नुपर्यो भने के गर्ने त ? त्यसका लागि अहिले हामीमध्ये धेरैले प्रयोग गर्दै आएको भनेको हार्ड ड्राइभ हो ।
यो एउटा राम्रो विकल्प भएपनि त्यति भरपर्दो भने हुँदैन । यस्तोमा वैज्ञानिकहरूले अब डीएनएमा आधारित स्टोरेज बनाउने भएका छन् ।
यदि त्यो भएको खण्डमा ठूला साइजका फिल्म पनि एउटा सानो फाइलको रुपमा भण्डारण गरी सुरक्षित राख्ने सकिने छ । जुन हजारौं वर्षसम्म बिना कुनै असर सुरक्षित गर्न सकिने जनाइएको छ ।
यसका लागि हाल अमेरिकी वैज्ञानिकहरूले काम गरिरहेको र त्यसको पहिलो सफलता हात पारेको बताइएकाे छ ।
वैज्ञानिकहरूका अनुसार डीएनएमा सूचना भण्डारण गर्ने हाल बजारमा उपलब्ध विकल्पहरूको क्षमतालाई सय गुणा सुधार गर्न सकिने गरी एउटा चिप विकास भएकाे छ, जुन अन्य प्रविधिको तुलनामा धेरै खँदिलो र दीर्घकालीन हुनेछ ।