काठमाडौं । बीमा समिति अन्तर्गत बीमा सर्भेयर तथा बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण डिजिटल माध्यमबाट हुने भएको छ । आज एक औपचारिक समारोहमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले यो सेवा सुरुवात गरे ।
यस अन्तर्गत अब समितिलाई गरिने वार्षिक इजाजत पत्र नवीकरणको भुक्तानीका निम्ति काउन्टरमा लाईन बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ भने अनलाइनबाट नै एनसीएचएलको कनेक्ट आईपीएस तथा कर्पोरेटपे प्रणालीहरु मार्फत आफ्नो बैंक/वित्तीय संस्थाको खाताबाट भुक्तानी गर्न सकिने भएको छ ।
विद्युतीय माध्यमबाट नवीकरण शुल्क लगायतका भुक्तानी सम्बन्धी कारोबारहरु नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट गर्न केही समयअघि बीमा समितिले एनसीएचएलसँग नेसनल पेमेन्ट स्वीच अन्तर्गतको नेसनल पेमेन्ट इन्टरफेससँग जोडिने सम्झौता भएको थियो ।
उक्त सम्झौता अनुरुप पहिलो चरणमा अभिकर्ता तथा सर्भेयरको इजाजतपत्र नवीकरणको भुक्तानी सेवा अनलाइनबाट गर्न सकिने भएको छ ।
त्यस्तै पछिल्लो चरणमा समितिका सेवा शुल्क, बीमा कम्पनी दर्ता तथा वार्षिक नवीकरण शुल्क, बीमा सभेर्यर तथा अभिकर्ता दर्ता, प्रमाणपत्र तथा तालिम शुल्क, तलब, भेण्डर भुक्तानी लगायतका विभिन्न कारोबारहरु बैंक खाताहरुबाट सोझै गर्नसक्ने गरी कार्य अघि बढाइएको छ ।
एनसीएचएलमा आबद्ध भुक्तानी सेवा प्रदायकका वालेटबाट समेत उक्त भुक्तानी गर्न मिल्ने गरी नेसनल पेमेन्ट स्विच अन्तर्गतको बिलर गेटवेमा जोडिने कार्य समेत हुँदैछ ।
यसले समितिका सम्पूर्ण भुक्तानीहरु पूर्ण स्वचालित रुपमा हुनुका साथै हिसाब मिलान गर्न पनि सजिलो हुने बताइएको छ ।
कसरी लिने सेवा ?
अभिकर्ता तथा सर्भेयरको इजाजत पत्र नवीकरण भुक्तानीका लागि प्रयोगकर्ताले कनेक्टआइपीएस (वेबसाइट वा मोबाइल एप) मा लगईन गरी आफ्नो युजरनेम र पासवर्ड प्रयोग गरी प्रणालीमा रहेको ‘Government of Nepal’ अन्तर्गत “Semi-Government/Sansthan” भित्र “Beema Samiti” छनोट गर्नुपर्ने हुन्छ ।
त्यसपछि आफ्नो भुक्तानी आवश्यकता अनुरुप “Agent Payment” वा “Surveyor Payment” छनोट गर्ने, भुक्तानी गर्ने आफ्नो बैंक खाता छनोट गरी “Agent Payment” का निम्ति Licence Number, Issue Date, Type of Agent र Issuer Name को विवरण दाखिला गरी आफ्नो Transaction Password÷OTP प्रयोग गरी बैंक वित्तीय संस्थाको खाताबाटै सजिलै भुक्तानी गर्न सकिन्छ ।
त्यसैगरी “Surveyor Payment” का निम्ति Surveyor Code, License Issue Date र Type of Surveyor को विवरण दाखिला गर्नुपर्ने हुन्छ ।
कर्पाेरेट पे प्रणाली प्रयोग गर्ने बीमा कम्पनी वा निकायले समेत आफ्नो युजर लग–इन गरी Real-Time Payment अन्तर्गत Government Payment भित्र Beema Samiti छनोट गरी भुक्तानी गर्न सक्दछन् ।