काठमाडौँ । विश्वमै सर्वाधिक प्रयोग हुने ब्राउजर क्रोमले नयाँ कोशेढुंगा पार गरेको छ । हालै गुगलले क्रोमको ‘भर्सन १००’ सार्वजनिक गरेको छ । भर्सन १०० मा अपडेट भएसँगै गुगल क्रोमको आइकनमा पनि केही बदलाव आएको छ ।
सन् २००८ मा पहिलो पटक गुगल क्रोम सार्वजनिक भएको थियो । सार्वजनिक भएको १४ वर्षपछि गुगल क्रोम भर्सन १०० मा अपडेट भएको हो ।
विगतमा गुगल क्रोम प्रत्येक छ हप्तामा नयाँ भर्सनमा अपडेट हुने गरेको थियो । गत वर्षबाट भने चार हप्तामा नयाँ भर्सनमा अपडेट हुन थालेको हो ।
प्रयोगकर्ताले कम समयमा नयाँ फिचर अनुभव गर्न सकून् भन्दै गुगलले नयाँ अपडेट चार हप्तामा ल्याउन सुरु गरेको हो ।
गुगलले भर्सन १०० को क्रोम विन्डोज, म्याक, लिनक्स, एन्ड्रोइड र आईओएसमा उपलब्ध भएको बताएको छ । विभिन्न नयाँ फिचरमा उपलब्ध भएको भर्सन १०० मा विशेषगरी क्रोमको नयाँ आइकन देख्न सकिन्छ ।
हाल सार्वजनिक भएको आइकन सन् २०१४ मा सार्वजनिक भएको आइकनजस्तै देखिए पनि त्यसमा केही बदलाव आएको बाहिरबाटै प्रष्ट देख्न सकिन्छ ।
नयाँ डिजाइनमा स्याडोईङ डिटेल्स हटाइएको छ, जसले गर्दा गुगल क्रोमको नयाँ डिजाइन गुगलका अन्य सेवाका एपसँग मिल्दोजुल्दो देखिन्छ ।
भर्सन १०० मा अपडेट भएसँगै गुगल क्रोमले एन्ड्रोइड भर्सनमा भएको लाइट मोड हटाएको छ । लाइट मोडले कम डेटा खपत गर्नुका साथ साथै प्रयोगकर्तालाई इन्टरनेट स्लो हुदाँ जानकारी छिटो उपलब्ध गराउँन सहयोग गर्ने गर्थ्यो ।
हाल डेटाको मूल्य तुलनात्मक हिसाबले कम भएको र प्रायः ठाउँमा तीव्र स्पीडको इन्टरनेट पुगेकाले सो फिचर आवश्यक नभएको भन्दै गुगल क्रोमले लाइट मोड हटाएको हो ।