सामसङको बजार मूल्य १ ट्रिलियन डलर पार, यो उपलब्धि हासिल गर्ने दोस्रो एसियाली कम्पनी
बैशाख २४, २०८३ ०:१२
काठमाडौँ । दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङको बजार मूल्याङ्कन एक ट्रिलियन अमेरिकी डलर नाघेको छ । यससँगै सामसङ यो आँकडा पार गर्ने एसियाकै दोस्रो कम्पनी बन्न सफल भएको छ ।
सीएनबीसीका अनुसार सामसङ इलेक्ट्रोनिक्सको बजार मूल्य १५ सय ट्रिलियन कोरियन वन अर्थात् करिब १.०३ ट्रिलियन अमेरिकी डलर पुगेको छ । एसियामा यसअघि ताइवानको चिप निर्माता कम्पनी टीएसएमसीले मात्रै यो सफलता प्राप्त गरेको थियो ।
कम्पनीले हालै सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय प्रतिवेदन उत्साहजनक देखिएपछि लगानीकर्ताहरूमा नयाँ तरंग देखिएको छ । प्रतिवेदन सार्वजनिक भएसँगै शेयर बजारमा कम्पनीको मूल्य एकै दिनमा करिब १५ प्रतिशतले बढेको थियो । सामसङको इतिहासमा एकै दिन शेयर मूल्यमा यति ठुलो वृद्धि भएको यो पहिलो पटक हो ।
वित्तीय विवरणअनुसार सामसङको सञ्चालन नाफा गत वर्षको सोही अवधिको तुलनामा आठ गुणाभन्दा बढीले वृद्धि भई ५७.२ ट्रिलियन वन पुगेको छ । त्यस्तै, कम्पनीले १३३.९ ट्रिलियन वन आम्दानी गरेको छ, जुन अहिलेसम्मकै उच्च रेकर्ड हो ।
पछिल्लो समय सामसङले आर्टिफिसियल इन्टेलिजेन्सका लागि आवश्यक मेमोरी चिप बजारमा आफ्नो उपस्थितिलाई आक्रामक रूपमा अघि बढाएको छ । यसै रणनीति अन्तर्गत कम्पनीले गत फेब्रुअरीदेखि एचबीएम४ (HBM4) चिपको व्यावसायिक उत्पादन सुरु गरिसकेको छ । यी चिप एनभिडियाका आगामी एआई सिस्टमहरूमा प्रयोग हुने अपेक्षा गरिएको छ ।
बजार विश्लेषकहरूका अनुसार एआई मेमोरी चिपको बढ्दो माग, सीमित आपूर्ति र सामसङको नयाँ चिप प्रविधिप्रतिको विश्वसनीयताका कारण बजार मूल्यमा तीव्र उछाल आएको हो ।
यसैबिच, अमेरिकी प्रविधि कम्पनी एप्पलले आफ्ना उपकरणका लागि अमेरिकामै चिप उत्पादन गर्ने विषयमा सामसङ र इन्टेलसँग छलफल अगाडि बढाएको खबरले पनि बजार तातिएको छ । यदि यो सम्झौता भएमा एप्पलको टीएसएमसीमाथिको एकल निर्भरता घट्ने र सामसङको बजार अझ विस्तार हुने अनुमान लगानीकर्ताहरूले गरेका छन् ।
पछिल्लो अध्यावधिक: बैशाख २४, २०८३ ०:१२
