काठमाडौं । चर्चित नेपाली ब्लग माइसन्सार डटकम माल्वेर आक्रमणको शिकार बनेको छ । लगातार रुपमा माल्वेर आक्रमण जारी रहेपछि ‘मेन्टिनेन्स’का लागि भन्दै अहिले अहिले वेबसाइट नै ‘डाउन’ (बन्द) गरिएको छ ।
वर्डप्रेसमा राखिएको माइसन्सारमाथि पछिल्ला केही दिनयता लगातार माल्वेर आक्रमण भइरहेको थियो । माइसन्सारको लिङ्क तथा वेबसाइट खोल्दा रिडाइरेक्ट भएर अर्कै फिशिङ साइटमा पुग्ने गरेको थियो ।
@salokya दाइ के हो यस्तो? pic.twitter.com/aLdGt3Ezjy
— Gopal Saud (@gopals_) March 28, 2022
जसमा आईफोन लगायतका उपहार हात परेको भन्दै बधाई सन्देश देखाएर प्रयोगकर्तालाई झुक्किने अवस्था रहेपछि अहिले वेबसाइट नै डाउन गरिएको छ । तर कति प्रयोगकर्ता यसबाट प्रभावित भए भन्ने कुनै यकिन जानकारी भने छैन ।
अनावश्यक थिम तथा प्लगईन राख्दा यस किसिमको माल्वेयर आक्रमण भएको हुनसक्ने वर्डप्रेसका जानकार टुरुप सङ्ग्रौला बताउँछन् ।
‘यस्तो बेला वर्डप्रेसको लगईन परिवर्तन गर्नु र त्यसमा राखिएका अनावश्यक थिम तथा प्लगईन हटाउनुपर्ने हुन्छ,’ उनी भन्छन्, ‘यस बाहेक होस्ट गरिएको सर्भरलाई समेत सुरक्षित राख्नुपर्ने हुन्छ ।’
उनका अनुसार विशेषगरी जथाभावी प्लगईन राख्दा त्यससँगै माल्वेर आक्रमण हुनसक्छ । ‘यस किसिमको माल्वेर आक्रमणबाट जोगिन अप्रमाणित किसिमका प्लगईन तथा थिम प्रयोग गर्नु हुँदैन,’ सङ्ग्रौला भन्छन् ।
केही दिनदेखि सर्भरमा आक्रमण गरी स्पाम साइटतिर रिडाइरेक्ट गर्ने भइरहेको छ। प्राविधिक ज्ञान खासै नभएको मान्छेलाई यस्तो समस्याले निकै गाह्रो बनाउँछ। केही साथी समस्या समाधान गर्न लागिपरेका छन्। जान्नुहुन्छ भने सघाउनु होला। अहिलेलाई यो ब्लग यता हेर्न सकिन्छ https://t.co/WlcgHejLBz
— salokya (@salokya) March 30, 2022
माई सन्सारका सञ्चालक उमेश श्रेष्ठ ‘सालोक्य’ले ट्वीट गर्दै समस्या समाधान गर्ने प्रयास भइरहेको बताएका छन् ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३
