काठमाडौं । के तपाईंको ‘एङ्ग्री बर्ड’ सबैभन्दा पुरानो भर्सन याद छ ? यदि याद छ र तपाईं अझै पनि त्यही पुरानो भर्सन नै खेल्न रुचाउनुहुन्छ भने कम्पनीले लामो समयपछि फेरि यो गेमको पुरानो अर्थात सबैभन्दा सुरुमा सार्वजनिक भएको भर्सन एप स्टोरहरूमा अपडेट गरेको छ ।
यसबीच ‘एङ्ग्री बर्ड’ को थुप्रै फरक भर्सनहरूसँगै फिल्म पनि सार्वजनिक भएको थियो । तर प्रयोगकर्ताले पुरानो भर्सन नै माग गर्न थालेपछि भने एङ्ग्रीबडको निर्माता कम्पनी रोभियोले यसको पुरानो भर्सन पुनः ल्याएको छ ।
गत वर्ष एक विज्ञप्ति जारी गर्दै अहिलेको नयाँ प्रविधि सहितको मोबाइलहरूमा यो गेम उपयुक्त नभएको र यसको डिजाइनहरू पनि पुरानो भइसकेको कारण अब पुरानो भर्सन उपलब्ध नगराउने घोषणा गरेको थियो ।
तर प्रयोगकर्ताहरूको माग ओरिजिनल भर्सनको लागि नै धेरै भएपछि कम्पनीले यस गेमको पुरानो अनुभव सहित यसलाई अपडेट गरेर पुनः उपलब्ध गराउन बाध्य भएको हो । अब भने ‘एङ्ग्री बर्ड’ पुरानो भर्सन फेरि एप स्टोर र प्ले स्टोरमा दुवैमा उपलब्ध भएको छ ।