close

३.३ लाख पर्ने ‍स्पेक्स एआर चस्मा, १० फिट टाढा राखिएको ११५ इन्चको पर्दामा मुभी हेरेको अनुभव दिने

टेकपाना टेकपाना

असार ३, २०८३ १४:३१

३.३ लाख पर्ने ‍स्पेक्स एआर चस्मा, १० फिट टाढा राखिएको ११५ इन्चको पर्दामा मुभी हेरेको अनुभव दिने

काठमाडौं । स्न्यापले सर्वसाधारणलाई लक्षित गर्दै आफ्नो पहिलो अग्मेन्टेड रियालिटी (AR) स्पेक्स चस्मा सार्वजनिक गरेको छ । मङ्गलबार आयोजित 'अग्मेन्टेड वर्ल्ड एक्स्पो २०२६' मार्फत कम्पनीले यो नयाँ प्रविधि बजारमा ल्याएको हो ।

यसअघि डेभलपरहरूलाई मात्र लक्षित गर्ने कम्पनीले यस पटक भने आम उपभोक्ताका लागि यो चस्मा उपलब्ध गराएको छ । यसको मूल्य २,१९५ अमेरिकी डलर (३ लाख ३१,४४५ रुपैयाँ) तोकिएको छ भने ग्राहकले २०० डलर अग्रिम भुक्तानी गरेर SPECS.COM बाट प्रि-अर्डर गर्न सक्नेछन् ।

स्मार्टफोनपछिको युग !

स्न्यापका सीईओ इभान स्पिगलका अनुसार मानिसहरू अब स्मार्टफोनको स्क्रिनमा मात्र सीमित रहन चाहँदैनन् । "आईफोन सार्वजनिक भएको झन्डै २० वर्षपछि मानिसहरू कम्प्युटिङलाई नयाँ दृष्टिकोणबाट हेर्न तयार छन्," स्पिगलले सिएनबीसीसँगको अन्तर्वार्तामा भनेका छन् । उनका अनुसार उत्कृष्ट प्रविधि त्यही हो, जुन आवश्यकता पर्दा सहयोगी बन्छ र अन्य समयमा सामान्य जीवनयापनमा बाधा पुर्‍याउँदैन ।

यो नयाँ चस्माले प्रयोगकर्तालाई आफ्नो वरपरको भौतिक संसार र मानिसहरूसँग जोडिएर डिजिटल सुविधाहरू प्रयोग गर्न मद्दत गर्नेछ । नयाँ स्मार्ट चस्मा पूर्ण रूपमा स्ट्यान्डअलोन डिभाइस हो, जसमा कुनै तार वा अतिरिक्त उपकरण जोडिएको हुँदैन । यो उच्च गुणस्तरको स्विस TR90 पोलिमरबाट बनाइएको छ । ४७ एमएम (जसको तौल १३२ ग्राम छ) र ५२ एमएम (जसको तौल १३६ ग्राम छ) गरी यो दुईवटा आकारमा उपलब्ध छ ।

यसमा स्न्यापकै प्रोप्राइटरी लिक्विड क्रिस्टल अन सिलिकन प्रविधि प्रयोग गरिएको छ । जसले ५१-डिग्री फिल्ड अफ भ्यु र १ करोड ६० लाख रङहरू प्रदान गर्ने दाबी गरिएको छ । यो चस्मा लगाएर काम गर्दा २४ इन्चको डेस्कटप मनिटर तथा चलचित्र हेर्दा झन्डै १० फिट टाढा राखिएको ११५ इन्चको होम सिनेमा स्क्रिनजस्तो महसुस हुने कम्पनीले जनाएको छ ।

साथै, बोइङ ७८७ ड्रिमलाइनर विमानको झ्यालमा प्रयोग हुने प्रविधि यसमा राखिएको छ । जसले गर्दा लेन्सहरू १० सेकेन्डमै पारदर्शीबाट रङ्गीन बन्न सक्छन् ।

प्रोसेसर, एआई र ब्याट्री क्षमता

भौतिक संसारलाई राम्रोसँग बुझ्न यो चस्मामा दुईवटा स्न्यापड्रागन प्रोसेसर जडान गरिएका छन् । जसमध्ये एउटा कम्प्युटर भिजनका लागि र अर्को लेन्सहरू सञ्चालन गर्नका लागि हो । यसमा रहेको एआईले प्रयोगकर्ताले देखेको कुरा बुझ्न सक्छ र आवश्यकता अनुसार तत्कालै (Real-time) सहयोग गर्न सक्छ ।

ब्याट्रीको कुरा गर्दा, यसले करिब ४ घण्टासम्मको निरन्तर प्रयोग धान्न सक्छ । यसको चार्जिङ केसले थप ४ पटकसम्म चार्ज गर्ने सुविधा दिन्छ, जसबाट समग्रमा २० घण्टासम्म चस्मा प्रयोग गर्न सकिन्छ ।

बजारमा मेटा र गुगल जस्ता ठुला कम्पनीहरूसँग स्न्यापको प्रतिस्पर्धा हुनेछ । तर, मेटा र गुगल जस्ता कम्पनीहरूसँग बलियो विज्ञापन व्यवसाय र प्रशस्त पुँजी छ । जबकि स्न्यापले शेयर बजारमा सङ्घर्ष गरिरहेको छ । यो घोषणापछि स्न्यापको शेयर मूल्य करिब ४ प्रतिशतले घटेको थियो ।

बढ्दो महँगीको समयमा यति महँगो उत्पादन बेच्न कम्पनीलाई चुनौती हुन सक्ने विश्लेषकहरूको भनाइ छ । विशेषगरी स्न्यापका मुख्य प्रयोगकर्ताहरू युवा पुस्ता भएकाले उनीहरूका लागि २,१९५ डलर निकै महँगो हुन सक्छ । तर सीईओ स्पिगल भने यो नयाँ प्रविधि र अनुभवका लागि मानिसहरू तयार रहेको कुरामा विश्वस्त छन् ।

कम्पनीले किशोरकिशोरीहरूको सुरक्षालाई ध्यानमा राख्दै आगामी दिनमा प्यारेन्टल कन्ट्रोल टुलहरू पनि ल्याउने योजना बनाएको छ । जसले गर्दा अभिभावकहरूले आफ्ना बच्चाहरूलाई सीमित फिचरहरू मात्र प्रयोग गर्न दिन सक्नेछन् ।

यो नयाँ स्पेक्स चस्मा यसै अङ्ग्रेजी वर्षको अन्त्यतिर अमेरिका, बेलायत र फ्रान्समा डेलिभरी हुने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: असार ३, २०८३ १४:३१