काठमाडौं । कोरोना महामारी सुरु भएदेखि वर्क फ्रम होममा गएका कर्मचारीलाई गुगलले निःशुल्क इलेक्ट्रिक स्कुटर सहित यसै सातादेखि कार्यालय फर्काउने तयारी गर्दैछ ।
प्रविधिको दिग्गज कम्पनी गुगलले यसका लागि ई-स्कुटर निर्माता कम्पनी उनागीसँग मिलेर ‘राइड स्कुट’ नामक नयाँ कार्यक्रम सार्वजनिक गरेको छ ।
जसअन्तर्गत अमेरिकामा रहेका गुगलका अधिकांश कर्मचारीले उनागीको स्टाइलिस ‘मोडेल वन’ स्कुटरका लागि तिर्नुपर्ने मासिक ग्राहक शुल्क पाउनेछन् ।
उक्त ‘मोडेल’ वानको खुद्रा मूल्य ९९० अमेरिकी डलर अर्थात् करिब एक लाख २० हजार रुपैयाँ रहेको छ । हलुका तौल रहेको यो स्कुटरमा दुई ओटा मोटर राखिएका छन् ।
अधिकतम २० किलोमिटर प्रतिघण्टाको गतिमा कुद्ने यो स्कुटरको रेञ्ज १५.५ माइल अर्थात करिब २५ किलोमिटर रहेको छ ।