close

नेपाली बजारमा भित्रियो जीडब्लूएमको प्रिमियम ‘ओरा ५’ ईभी, एक पटकको फुल चार्जमा ५२० किमि गुड्ने

टेकपाना टेकपाना

असार ८, २०८३ २३:३३

नेपाली बजारमा भित्रियो जीडब्लूएमको प्रिमियम ‘ओरा ५’ ईभी, एक पटकको फुल चार्जमा ५२० किमि गुड्ने

काठमाडौं । अटोमोबाइल ब्राण्ड जीडब्लूएम (ग्रेट वाल मोटर) को नेपालस्थित आधिकारिक वितरक भिजी इम्पेक्स प्रालिले आफ्नो प्रिमियम इलेक्ट्रिक एसयूभी 'ओरा ५' भित्र्याएको छ । राजधानीमा सोमबार आयोजित एक कार्यक्रमका बीच यो नयाँ गाडी सार्वजनिक गरियो ।

चीन र थाइल्याण्डको सफल बजार विस्तारपछि नेपाललाई आफ्नो अन्तर्राष्ट्रिय रणनीतिको महत्त्वपूर्ण बजारको रूपमा छनोट गर्दै यो मोडेल भित्र्याएको कम्पनीले जनाएको छ ।

‘डिजाइन विथ इन्टेलिजेन्स, सेप्ड बाई एलिगेन्स’ को मूल मन्त्रमा आधारित गाडीले नेपाली विद्युतीय सवारीको बजारमा नयाँ आयाम थप्ने कम्पनीको विश्वास छ ।

विशेषगरी प्रविधि र विलासिता खोज्ने ग्राहकलाई लक्षित गरिएको ओरा ५ ईभीमा एक पटकको फुल चार्जमा ५२० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज उपलब्ध छ ।

यसमा २०० एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ भने गाडीभित्र प्यानोरामिक मुनरुफ र ३३ वटा विभिन्न स्टोरेज स्पेस छन् । सुरक्षा र सुविधाका लागि यसमा ३६०-डिग्री सराउन्ड भ्यु क्यामेराका साथै गाडीको तल्लो भागको अवस्था देखाउने १८०-डिग्री चेसिस-भ्यु क्यामेरा र कोरिँदा आफैं हराउने 'सेल्फ-हिलिङ पेन्ट' जस्ता प्रविधि समावेश गरिएका छन् ।

सुरक्षाको मामलामा ओरा ५ ले अन्तर्राष्ट्रिय स्तरको एनकाप र युरो एनकाप दुवै परीक्षणमा ५-स्टार रेटिङ प्राप्त गरेको छ। यस गाडीमा २५ भन्दा बढी एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास) सुविधाहरू रहेका छन्, जसमा लेन किप असिस्ट, अटोमेटिक इमरजेन्सी ब्रेकिङ, एडाप्टिभ क्रुज कन्ट्रोल र ट्राफिक साइन रिकग्निसन जस्ता सुरक्षा प्रविधिहरू समावेश छन् । यी विशेषताहरूले चालक र यात्रुलाई सुरक्षित र स्मार्ट यात्राको अनुभव प्रदान गर्नेछन् ।

कम्पनीले ओरा ५ ईभीलाई दुईवटा भेरियन्टमा उपलब्ध गराएको छ, जसमा मिड भेरियन्टको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ र टप भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

 

पछिल्लो अध्यावधिक: असार ८, २०८३ २३:५१