close

अब रोबोटले सिकाउनेछ ट्राफिक नियम, काठमाडौंमा सुरु भयो परीक्षण

टेकपाना टेकपाना

असार ८, २०८३ १७:५३

अब रोबोटले सिकाउनेछ ट्राफिक नियम, काठमाडौंमा सुरु भयो परीक्षण

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक सचेतना अभिवृद्धि गर्न र प्रविधिको उपयोग बढाउन रोबोटिक प्रविधिको सम्भाव्यता अध्ययन तथा परीक्षण सुरु गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले युनिट्री नेपाल (एमएडब्लू फ्युचर टेक) सँगको सहकार्यमा यसको प्रभावकारिता परीक्षण गरिरहेको हो ।

हालै फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालमा ट्राफिक प्रहरी र रोबोटका भिडिओ सार्वजनिक भएसँगै यस विषयमा सर्वसाधारणको चासो बढेको छ । यस सम्बन्धमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले यो कार्य हाल प्रारम्भिक अध्ययन र प्रदर्शन (डेमो) को चरणमा मात्र रहेको जानकारी दिए ।

“हामीले अहिले ‘फेसलेस ट्राफिक’ को अवधारणा ल्याइरहँदा प्रविधिको प्रयोग गरी नागरिकलाई सचेत गराउने र सचेतना कक्षामा रोबोटको प्रयोग गर्न सकिने सम्भावनाबारे अध्ययन सुरु गरेका हौँ,” प्रवक्ता सुवेदीले भने, “यसलाई कसरी र कुन रूपमा अगाडि बढाउन सकिन्छ भन्नेबारे अहिले नै ठोस निर्णय भइसकेको छैन ।”

कार्यालयका अनुसार विशेषगरी बसपार्कमा लामो दूरीको यात्रा गर्ने यात्रुलाई सुरक्षित यात्रा र चालकलाई आवश्यक जानकारीसहितको प्राथमिक सचेतना प्रदान गर्न यो प्रविधिको प्रयोग गर्ने प्रारम्भिक योजना छ । यसका लागि ट्राफिक प्रहरीले सचेतनामूलक सामग्री उपलब्ध गराएको र सोही आधारमा रोबोटलाई प्रशिक्षित गराउने काम भइरहेको छ । परीक्षण सफल भएमा तालुकदार निकायसँग समन्वय गरेर थप प्रक्रिया अगाडि बढाइने एसपी सुवेदीले बताए ।

एमएडब्लू वृद्धि फ्युचर टेक (युनिट्री नेपाल) का प्रतिनिधि सुमन खड्काका अनुसार युनिट्री नेपाल, एमएडब्लू अन्तर्गतकै फ्युचर टेक कम्पनीको ब्रान्ड हो । यो नेपालका लागि युनिट्री रोबोटको आधिकारिक वितरक हो ।

“हामीले ट्राफिक प्रहरीसँगको सहकार्यमा सचेतनामूलक सामग्रीका आधारमा रोबोटलाई डिजिटल रूपमा प्रशिक्षित गराउन सहयोग गरिरहेका छौँ,” खड्काले भने, “यस अन्तर्गत मापसे (मादक पदार्थ सेवन) सम्बन्धी सचेतना, सडक सुरक्षा र जेब्रा क्रसिङ जस्ता कार्यमा रोबोटलाई सचेतना अभियानका लागि प्रयोग गर्न सकिने सम्भावना छ ।”

नेपालको विद्यमान भौतिक पूर्वाधार तत्काल सडकमा रोबोट सञ्चालनका लागि अनुकूल नभएकाले निश्चित अभियानका रूपमा यसलाई सञ्चालन गर्ने योजना रहेको खड्काले स्पष्ट पारे ।

पछिल्लो अध्यावधिक: असार ८, २०८३ १८:२७