काठमाडौं । अमेरिका स्थित न्याय विभागले डार्क वेबको सबैभन्दा ठुलो मार्केटप्लेस ‘हाइड्रा मार्केट’ बन्द गरेको छ । मंगलबार अमेरिकी न्याय विभाग र जर्मनको संघीय प्रहरीको सहकार्यमा हाइड्राको सर्भर डाउन गरिएको हो । जसमा झन्डै २५ मिलियन डलर बराबरको बिटक्वाइ युक्त क्रिप्टो वालेटसमेत रहेको जनाइएको छ ।
हाईड्रा अनलाइन क्रिमिनल मार्केटप्लेस हो । जसमा सबैभन्दा बढी रसियन प्रयोगकर्ताले गैरकानुनी सामान खरिद बिक्री गर्दै आएका थिए । त्यसैमार्फत गैरकानुनी रुपमा ड्रग, चोरी गरिएका आर्थिक जानकारी, व्यक्तिगत कागजात लगायतका सामान खरिद बिक्री हुन्छ ।
यी सबैको कारोबार क्रिप्टोमार्फत हुने हुँदा सर्भरमा बिटक्वाइन समेत समातिएको जनाइएको छ । सन् २०२१ मा डार्क वेबमा भएको बिटक्वाइन कारोबार मध्य हाइड्राले मात्रै ८० प्रतिशत हिस्सा ओगटेको प्रतिवेदनले देखाएको छ ।
यसरी विश्वकै सबैभन्दा ठुलो डार्क वेबको मार्केट प्लेस डाउन हुँदा रसियन प्रयोगकर्ता सबैभन्दा बढी प्रभावित हुने जनाइएको छ ।