एन्थ्रोपिककी इन्जिनियर भन्छिन्- एआईको बढ्दो प्रयोगले प्रोग्रामरहरूमा एक्लोपन बढ्यो
असार ११, २०८३ ७:५०
काठमाडौं । सफ्टवेयर निर्माण र कोडिङलाई सामान्यतया एकल प्रयासका रूपमा लिइन्छ । तर, पछिल्लो समय एआई एजेन्टको बढ्दो प्रयोगले यस क्षेत्रमा कार्यरत जनशक्तिबिच सामाजिक दुरी र एक्लोपन बढाउँदै लगेको पाइएको छ ।
एआई क्षेत्रमा सक्रिय कम्पनी एन्थ्रोपिककी इन्जिनियरिङ लिडर फियोना फङले हालै यस विषयमा आफ्ना अनुभव बाँडेकी छन् । हाल उनी एन्थ्रोपिकमा ‘क्लाउड कोड’ र ‘क्लाउड कोवर्क’ विकास गर्ने टोलीको नेतृत्व गरिरहेकी छन् । उनका अनुसार इन्जिनियर एआई एजेन्टमा बढी निर्भर हुन थालेसँगै उनीहरू आफ्ना सहकर्मीबाट टाढिँदै गइरहेका छन् ।
“लामो समयसम्म आफ्नै एआई एजेन्टसँग मात्र काम गरिरहँदा यसले एक्लोपनको अनुभव गराउन थालेको हामीले पायौँ,” फङले एक पडकास्टमा कुरा गर्दै भनिन् ।
यो मनोवैज्ञानिक समस्यालाई सम्बोधन गर्न फङको टोलीले इन्जिनियरहरूलाई पुनः सामूहिक कार्यमा फर्काउने प्रयास सुरु गरेको छ । टोलीमा सामूहिक भावना विकास गर्न उनले ‘प्रोग्रामिङ लञ्च’ (प्रोग्रामिङ गर्दै दिवाभोज गर्ने), ह्याकाथन र सामूहिक ‘मेकर टाइम’ जस्ता सहकार्यमूलक कार्यक्रम आयोजना गर्न थालेकी छन् । यस्ता गतिविधिले इन्जिनियरहरूलाई एकअर्काको नजिक ल्याउने र एआई प्रयोग गर्ने आ-आफ्नो भिन्न शैलीबारे सिक्ने अवसर प्रदान गरेको उनको दाबी छ ।
उनले अगाडि भनिन्, “सबैले ‘क्लाउड कोवर्क’ प्रयोग गरे पनि हरेकको काम गर्ने तरिका फरक हुन्छ । सँगै बसेर काम गर्दा एकअर्काको कार्यशैलीबाट धेरै कुरा सिक्न सकिन्छ।”
स्टार्टअपमा क्लाउड कोडको बढ्दो प्रभाव
पछिल्लो समय सफ्टवेयर विकासको क्षेत्रमा क्लाउड कोडको प्रयोग तीव्र गतिमा बढेको छ । बिजनेस इन्साइडरले दुई दर्जनभन्दा बढी स्टार्टअप संस्थापक र भेन्चर क्यापिटलिस्टमाझ गरेको एक सर्वेक्षण अनुसार नयाँ स्टार्टअपमा क्लाउड कोड प्रमुख एआई कोडिङ टुलका रूपमा स्थापित भएको छ । कतिपय संस्थापकले जटिल इन्जिनियरिङ कामका लागि यसलाई ‘डिफल्ट टुल’ बनाएको बताएका छन् ।
एआईको आगमनसँगै इन्जिनियरको भूमिका पनि परिवर्तन हुँदै गएको छ । उनीहरू अहिले कोडिङ गर्नुको सट्टा एआई एजेन्टलाई प्रम्प्ट दिने, प्राप्त नतिजाको समीक्षा गर्ने र समानान्तर कामको समन्वय गर्ने काममा बढी समय बिताउन थालेका छन् ।
यसका साथै सामान्य भाषा प्रयोग गरेर सफ्टवेयर निर्माण गर्ने शैली अर्थात् ‘भाइबकोडिङ’ को लोकप्रियता बढेको छ । यसले गर्दा प्रविधिको ज्ञान नभएका संस्थापकले पनि छुट्टै इन्जिनियरिङ टोली नराखी आफैँ सफ्टवेयर बनाउन सकेका छन् । यस्तो कदमले एक्लै व्यवसाय चलाउने ‘सोलोप्रेनर’को संख्या पनि बढाएको छ ।
तर, यस्तो एकल कार्यशैलीले एक्लोपन निम्त्याउन सक्ने भएकाले धेरैजसो उद्यमीले सहकार्यको आवश्यकतालाई जोड दिने गरेका छन् । फङका अनुसार इन्जिनियरले एआईलाई फरक तरिकाले प्रयोग गरे पनि उनीहरूलाई सँगै बसेर काम गर्ने अवसर सिर्जना गर्नु आवश्यक छ । उनी थप्छिन्, “मैले अरू कसैले काम गरेको हेर्दा हरेक पटक आफैले पनि नयाँ कुरा सिकिरहेकी हुन्छु ।”
पछिल्लो अध्यावधिक: असार ११, २०८३ ८:३६
