काठमाडौं । साओमी ब्रान्डका ल्यापटप नेपाली बजारमा भित्रिएका छन् । नेपालमा एमआई, रेड्मी, पोको फोन, एमआई टिभी, अडियो डिभाइस, एमआई राउटर र स्मार्ट जस्ता उत्पादन बिक्री गरिरहेको कम्पनीले अब ल्यापटप समेत ल्याएको हो ।
कम्पनीले हाल ७५ हजार रुपैयाँदेखि एक लाख ३७ हजार रुपैयाँसम्मका चार ओटा मोडलको ल्यापटप भित्र्याएको छ । जसमा रेड्मीबुक १५ , रेड्मीबुक १५ प्रो , एमआई नोटबुक प्रो र एमआई नोटबुक अल्ट्रा रहेका छन् ।
१. रेड्मीबुक १५
अनलाइन क्लासमा सहभागी हुने र प्रोग्रामिङ सिक्ने विद्यार्थीलाई लक्षित गर्दै साओमीले रेड्मीबुक १५ ल्यापटप ल्याएको छ । यो ल्यापटपमा आठ जीबी डीडीआर फोर र्याम र २५६ जीबी एनभीमी एसएसडी राखिएको छ ।
११ औँ पुस्ताको इन्टेल कोर आई थ्री प्रोसेसर भएको यो ल्यापटपमा इन्टेल आईआरआईएस एक्सई (iRIS xe) ग्राफिक्स कार्ड दिइएको छ। त्यस्तै ल्यापटपमा १० घण्टा लामो ब्याट्री ब्याकआप र १५.६ इन्चको फुल एचडी डिस्प्ले रहेको छ । यो ल्यापटपको मूल्य ७४ हजार ९९९ रुपैयाँ रहेको छ।
२. रेड्मीबुक १५ प्रो
पेसागत काम गर्ने व्यक्तिहरूका लागि लक्षित गरी ल्याइएको रेड्मीबुक १५ प्रो ल्यापटपमा आधिकारिक जेन्युन विन्डोज ओएस पाउन सकिन्छ । त्यस्तै सधैँभरका लागि लाइसेन्सयुक्त अफिस २०२१ को सुविधा पनि यसमा दिइएको छ ।
अनलाइन कक्षा र माइक्रोसफ्ट अफिस असाइन्मेण्टबीच मल्टिटास्क गर्न यो ल्यापटप निकै उपयोगी रहेको बताइएको छ। यसमा ११ औँ पुस्ताको इन्टेल कोर आई फाइभ प्रोसेसर र इन्टेल आईआरआईएस एक्सई (iRIS xe) ग्राफिक्स कार्ड दिइएको छ ।
आठ जीबी र्याम र ५१२ जीबी एसएसडी स्टोरेज रहेको यो ल्यापटपको ब्याट्री ब्याकअप समेत १० घण्टा नै रहेको छ । यसको बजार मूल्य ८९ हजार ९९९ रुपैयाँ राखिएको छ।
३. एमआई नोटबुक प्रो
पोर्टेबल र पर्फर्मेन्स दुवै कुरालाई ध्यानमा दिएर डिजाइन गरिएको यो ल्यापटपमा पनि ११ औँ पुस्ताको इन्टेल कोर आई फाइभ एच सिरिजको प्रोसेसर राखिएको छ । जेन्युन विन्डोज र लाइसेन्स युक्त अफिस २०२१ एक्सेस रहेको यो ल्यापटप १६ जीबी र्याम तथा ५१२ जीबी एसएसडीमा पाउन सकिन्छ ।
ल्यप्टपमा २.५के क्वालिटी एचडी प्लस मि ट्रु लाइफ डिस्प्ले रहेको एमआई नोटबुक प्रोमा ११ घण्टाको ब्याट्री ब्याकअप छ । इन्टेल आईआरआईएस एक्सई (iRIS xe) ग्राफिक्स कार्ड रहेको यो ल्यापटपको मूल्य एक लाख नौ हजार ९९९ रुपैयाँ रहेको छ ।
४. एमआई नोटबुक अल्ट्रा
११ औँ पुस्ताको इन्टेल कोर आई सेभेन एच सिरिज प्रोसेसर रहेको यो ल्यापटपमा १६ जीबी र्याम तथा ५१२ जीबी एसएसडी दिइएको छ ।
१२ घण्टासम्मको ब्याट्री ब्याकअप रहेको यो एमआई नोटबुक अल्ट्रामा पनि इन्टेल आईआरआईएस एक्सई (iRIS xe) कै ग्राफिक्स कार्ड प्रयोग गरिएको छ । ३.२के मी ट्रुलाइफ प्लस डिस्प्ले भएको यो ल्यापटपको मूल्य एक लाख ३६ हजार ९९९ रुपैयाँ छ ।