close

ट्वीटरको शेयर खरिदको विषय जानाजान लुकाएको भन्दै एलन मस्क विरुद्ध मुद्दा 

टेकपाना टेकपाना

चैत ३०, २०७८ १६:२८

ट्वीटरको शेयर खरिदको विषय जानाजान लुकाएको भन्दै एलन मस्क विरुद्ध मुद्दा 

काठमाडौं । ट्वीटरका पूर्व शेयर लगानीकर्ताले मङ्गलबार एलन मस्क विरुद्ध मुद्दा दायर गरेका छन् । मस्कले जानाजान ट्वीटरमा आफ्नो ९.२ प्रतिशत शेयर लगानीको विषय ढिलो गरी सार्वजनिक गरेको भन्दै उनी विरुद्ध मुद्दा दर्ता भएको हो ।

लगानीकर्ताले अमेरिकाको म्यानहाटनको संघीय अदालतमा एलन मस्क विरुद्ध मुद्दा दायर गरेका छन् । मस्कमाथि मुद्दा दायर गर्ने मार्क रसेलाले टेस्लाका प्रमुख कार्यकारी मस्कले जानाजान झुटो तथा भ्रामक बयान दिएको आरोप लगाएका छन् ।

यसका साथै उनले लगानीको विषयमा दिनुपर्ने महत्त्वपूर्ण जानकारी समेत लुकाएका छन् । मस्कले ट्वीटरको शेयर कम मूल्यमा खरिद गर्न चाहेका कारण यो जानकारी लुकाएको रसेलाले उल्लेख गरेका छन् ।

यूएस सेक्युरिटिज एक्सचेन्ज एन्ड एक्सचेन्ज कमिसनमा रहेको फाइल अनुसार ट्वीटरमा एलन मस्कको ९.२ प्रतिशत हिस्सेदारी रहेको छ । शेयर लगानीकर्ताको बुझाईमा एलन मस्कले भ्रामक बयान दिएर तथा लगानीको विषयमा उचित समयमा जानकारी नदिएर धोखेबाजी गरेका छन् ।

मस्कको अभिव्यक्तिका कारण ट्वीटरको शेयरमा मन्दी आएपछि केही लगानीकर्ताले आफ्नो शेयर सस्तो मूल्यमा बिक्री गर्नु परेको थियो । रसेलाले समेत आफ्नो ३५ शेयर ३९.२३ डलरको दरमा एक हजार ३७३ डलरमा बिक्री गरेका थिए । उनले आफ्नो शेयर २५ मार्चदेखि २९ मार्चको बीच बिक्री गरेका थिए ।

जब कि मस्कले ट्वीटरमा आफूले लगानी गरेको विषयको जानकारी ४ अप्रिलका दिन मात्रै सार्वजनिक गरेका थिए । यदि मस्कले ट्वीटरमा आफ्नो लगानीको विषयमा पहिले नै जानकारी बाहिर ल्याएको भए आफूहरूले शेयर बिक्री नगर्ने शेयर लगानीकर्ताको भनाई छ ।

मस्कले ट्वीटरमा लगानी गरेको विषय बाहिर आएसँगै ट्वीटरको शेयर मूल्य ३९.३१ अमेरिकी डलरबाट बढेर ४९.९७ डलर पुगेको छ । अमेरिकाको शेयर बजार सम्बन्धी कानून अनुसार यदि कसैले कुनै कम्पनीमा ५ प्रतिशत वा सोभन्दा बढीको शेयर लगानी गर्छ भने १० दिन भित्र यूएस सेक्युरिटिज एक्सचेन्ज एन्ड एक्सचेन्ज कमिसनलाई जानकारी गराउनु पर्ने हुन्छ ।

तर मस्कले २४ मार्चमा दिनुपर्ने उक्त जानकारी ४ अप्रिलमा मात्रै दिएका थिए । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४