काठमाडौं । भारतीय स्मार्टवाच कम्पनी एक्यूफिटले नेपाली बजारमा विभिन्न रेन्जका स्मार्ट वाच र स्मार्ट ब्याण्ड सार्वजनिक गरेको छ । कम्पनीले सस्तो मूल्यमा उच्च प्रविधि युक्त स्मार्ट वाच र स्मार्ट ब्याण्ड सार्वजनिक गरेको हो ।
नेपाली बजारमा सार्वजनिक भएको एक्यूफिट डब्लू९ बीटी कलिङ स्मार्टवाचमा विभिन्न फिचर उपलब्ध रहेको छ । जसमा हार्ट रेट, ब्लड अक्सिजन तथा क्यालोरी काउन्टजस्ता स्वास्थ्यसम्बन्धी फिचर छन् । यसका साथै यसमा फोन, म्यासेज, सामाजिक सञ्जाल तथा मौसम सम्बन्धी अपडेट लिन सकिने छ ।
यसमा रहेको ब्लुटुथ ५ मार्फत वाचलाई स्मार्टफोनसँग जोडेर वाचमा रहेको इन–बिल्ट स्पीकरमार्फत् ब्लूटूथ कलिङको सुविधा समेत लिन सकिने जनाइएको छ । यसबाहेक आफ्ना सबै कन्ट्याक्ट तथा कल रेकर्ड वाचमै रहने र कसरत गरिरहेका बेला पनि स्मार्टफोनमा नछोई वाचमार्फत् नै कल रिसिभ गर्न सकिने कम्पनीले जनाएको छ ।
एक्यूफिट डब्लू९मा १.३३ इच्नको एचडी थ्रीडी कर्भड् डिस्प्ले रहेको छ । यसका साथै वाचलाई पानी तथा धलो बाट बचाउनका लागि वाटर रेजिस्टेन्ट तथा आईपी६७ डस्ट प्रुफ उपलब्ध गराइएको छ । २८० एमएएच क्षमताको ब्याट्री रहेको वाच एक पटकको चार्जमा ७ देखि १० दिन सम्म टिक्ने दावी कम्पनीको छ ।
कम्पनीका अनुसार यो वाचको बजार मूल्य ७ हजार ४ सय ९९ रुपैयाँ तोकिएको छ ।