काठमाडौं । नेपाल प्रहरीका पूर्व डीआईजी डा. राजीव सुब्बा सूचना प्रविधि कम्पनी इन्फो डेभलपर्सको प्रमुख सञ्चालन अधिकृत (सीओओ) मा नियुक्त भएका छन् । नेपालको आईटी क्षेत्रमा सुपरिचित कम्पनीले सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा लामो अनुभव भएका सुब्बालाई कम्पनीको जिम्मेवारी दिएको हो ।
अमेरिकाको हवाई विश्वविद्यालयबाट सञ्चार तथा सूचना विज्ञान विषयमा पीएचडी गरेका उनीसँग सञ्चार, सूचना प्रविधि र व्यवस्थापन क्षेत्रको २५ वर्षभन्दा लामो अनुभव छ । नेपाल प्रहरीमा सञ्चार निर्देशनालय प्रमुखको रुपमा काम गरिसकेका सुब्बाले सुरक्षा संयन्त्रमा नयाँनयाँ प्रविधि भित्र्याउने कार्यमा महत्त्वपूर्ण भूमिका निभाएका थिए ।
उनी हाल त्रिभुवन विश्वविद्यालय र किंग्स कलेजमा भिजिटिङ प्रोफेसरको रूपमा समेत काम गर्दै आएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानबाट सम्मानित सुब्बासँग राष्ट्रिय योजना आयोग, संयुक्त राष्ट्र संघ, संयुक्त राज्य अमेरिका, अन्तर्राष्ट्रिय व्यापार केन्द्र तथा क्यान महासंघ जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूमा समेत काम गरेको अनुभव छ ।
टेकपानासँगको कुराकानीमा डा. सुब्बाले यो नयाँ जिम्मेवारी आफ्ना लागि उत्साहजनक र चुनौतिपूर्ण रहेको बताए । कम्पनीको सीओओको रुपमा सुब्बालाई स्वागत गर्दै इन्फो डेभलपर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उमेश रघुवंशीले यसबाट कम्पनी अझै उचाइमा पुग्ने विश्वास व्यक्त गरे ।
२०५९ सालमा स्थापना भएको इन्फो डेभलपर्सले सहकारी, बैंकिङ तथा वित्तीय क्षेत्र, सरकार, अन्तर्राष्ट्रिय एजेन्सी आदिका लागि सफ्टवेयर विकास गर्दै आएको छ । कम्पनीको सफ्टवेयरबाट ३५ लाख बढीले सेवा लिइरहेका छन् । ३५० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको इन्फो डेभलपर्समा पछिल्लो समय आईएमई ग्रुप समेत भित्रिएको छ ।