close

संसद् सचिवालयमा ३२ जनाका लागि जागिरको अवसर, साउन्ड इन्जिनियरदेखि भिडिओ एडिटरसम्म माग

टेकपाना टेकपाना

जेठ ७, २०८३ १६:५६

संसद् सचिवालयमा ३२ जनाका लागि जागिरको अवसर, साउन्ड इन्जिनियरदेखि भिडिओ एडिटरसम्म माग

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्राविधिक समूहका १४ विभिन्न पदका लागि ३२ जना कर्मचारी माग गरेको छ । बुधबार एक सूचना जारी गर्दै सचिवालयले रिक्त रहेका पदमा पदपूर्तिका लागि करार सेवामा आवेदन माग गरेको हो । 

सचिवालयले रा.प तृतीय सरह श्रेणीका लागि दुई जना साउन्ड इन्जिनियर माग गरेको छ । रा.प. अन प्रथम श्रेणी अन्तर्गत इलेक्ट्रिक ओभरसियर ६ जना, भिडिओग्राफर, मेसेज सञ्चालक दुई/दुई जना, अडिओ भिडिओ एडिटर, प्रसारण सहायक चार/चार जना, माइक सञ्चालक दुई जना, ओभरसियर तीन जना माग गरिएको छ । 

यस्तै, रा.प. अन द्वितीय श्रेणी अन्तर्गत इलेक्ट्रोनिक्स हेल्पर, विद्युत हेल्पर, आईटी हेल्पर दुई/दुई जना, स्वास्थ्य हेल्पर एक जना माग गरिएको छ । श्रेणीविहीन अन्तर्गत हलुका सवारी चालक दुई जना र भारी सवारी चालक चार जना माग गरिएको हो । 

कसले दिन पाउँछन् आवेदन ?

विभिन्न पदका लागि तोकिएको शैक्षिक योग्यता पूरा गरेका १८ वर्ष पूरा गरी ५५ वर्ष ननाघेको नेपाली नागरिकले आवेदन दिन पाउनेछन् । दुई पाङ्ग्रे सवारीसाधनको लाइसेन्स भने अनिवार्य भएको हुनुपर्ने बताइएको छ । 

आवेदन पेश गर्दा नेपाली नागरिकताको प्रमाणपत्र, तोकिएको न्यूनतम शैक्षिक योग्यताको लब्धाङ्ग पत्र,  ट्रान्सक्रिप्ट, प्रोभिजिनल सर्टिफिकेट, क्यारेक्टर सर्टिफिकेट, समकक्षता, अनुभव आवश्यक हुने पदमा अनुभवको पुष्टि हुने प्रमाणपत्र, दुई पाङ्ग्रे सवारीको लाइसेन्स, दस्तुर बुझाएको रसिद लगायतका कागजपत्र बुझाउनु पर्ने छ । 

रा.प. तृतीय सरहको लागि १२ सय, रा.प.अन. प्रथम सरहको लागि सात सय, रा.प. द्वितीय सरहको लागि पाँच सय र श्रेणीविहीनको २५० रुपैयाँ परीक्षा शुल्क तोकिएको छ । प्रयोगात्मक परीक्षा र अन्तर्वार्ताको माध्यमबाट हुने यस परीक्षा सङ्घीय संसद् सचिवालयमा सञ्चालन गरिने छ । 

सचिवालयका अनुसार रिक्त पदमा असार मसान्तसम्म विभिन्न सेवामा नियुक्ति गर्नका लागि उक्त विज्ञापन निकालिएको हो । सचिवालयको आवश्यकता अनुसार करारमा नवीकरण हुन सक्ने बताइएको छ ।

तोकिएको योग्यता पुगेका उम्मेदवारहरूले भौतिक रूपमा सचिवालयमा उपस्थित भएर वा पदपूर्ति समितिको ईमेल ठेगाना ‘[email protected]’ मा दरखास्त फाराम बुझाउन सक्ने छन् । फारम भर्दा आवश्यक कागजातहरू एउटै पीडीएफ फाइल बनाएर बुझाउनु पर्ने छ । फारम भर्ने अन्तिम मिति १२ जेठ साँझ ५ बजेसम्म तोकिएको छ ।

यहाँ क्लिक गरेर विभिन्न पदका लागि तोकिएको न्यूनतम योग्यता सहितको संसद सचिवालयको विस्तृत विवरण हेर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: जेठ ७, २०८३ १७:४५