close

कस्ता प्रयोगकर्ताले पाउँछन् टेलिकमको ई-सिम ?

टेकपाना टेकपाना

बैशाख १५, २०७९

कस्ता प्रयोगकर्ताले पाउँछन् टेलिकमको ई-सिम ?

काठमाडौं । केही महिनादेखि नेपालमा पनि चर्चामा रहेको ई-सिम चाँडै नै नेपाल टेलिकमले प्रचलनमा ल्याउने भएको छ । विश्वका केही देशमा ईसिमको प्रयोग सुरु भइसकेको छ ।

विभिन्न मोबाइल उत्पादक कम्पनीले ई-सिम पनि सपोर्ट गर्ने डिभाइस बजारमा निरन्तर ल्याइरहेका छन् । एप्पल त ई-सिमलाई नै लक्षित गर्दै आईफोन उत्पादन गर्ने तयारीमा छ ।

त्यस्तै सार्वजनिक हुन लागेको एन्ड्रोइड १३ मा मल्टिपल इनेबल्ड प्रोफाइल (एमईपी) फिचर उपलब्ध हुने भएको छ । यसअन्तर्गत एउटै ई-सिममा दुई फरक नेटवर्क (कम्पनी) को सेवा लिन सकिन्छ ।

यसरी मोबाइल उत्पादकसँगै अपरेटिङ सिस्टम र टेलिकम सेवा प्रदायकले ईसिम सुविधा दिन थालेका छन् ।

हालै नेपालमा पहिलो पटक ईसिम सेवा उपलब्ध गराउन नेपाल टेलिकमले मोन्टी युके ग्लोबलबीच सम्झौता गरेको छ । मोन्टी युके ग्लोबलले टेलिकमका ग्राहकहरुलाई ई-सिम सेवा उपलब्ध गराउनका लागि आवश्यक प्लेटफर्म उपलब्ध गराउने छ ।

कस्ता प्रयोगकर्ताले पाउँछन् ई-सिम
ई-सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो । ई-सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसका लागि ई-सिम सपोर्ट गर्ने डिभाइस आवश्यक हुन्छ ।

यसबाट फोन गर्ने र डेटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ । ई-सिम प्रयोगमा आएपश्चात सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन ।

मोबाइल सेटबाहेक ई-सिमलाई अन्य डिभाइस तथा स्मार्टवाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइसमा समेत प्रयोग गर्न सकिन्छ ।

हालका सबै प्रयोगकर्ताले ई-सिम प्रयोग गर्नसक्ने छन् भने नयाँ प्रयोगकर्ताले समेत ई-सिम लिनसक्ने टेलिकमले जनाएको छ ।