close

अब आफ्नो व्यक्तिगत जानकारी गुगल सर्चबाट हटाउन पाइने, थाहा पाइराख्नुहोस् यसको तरिका

टेकपाना टेकपाना

बैशाख १६, २०७९ १०:२४

अब आफ्नो व्यक्तिगत जानकारी गुगल सर्चबाट हटाउन पाइने, थाहा पाइराख्नुहोस् यसको तरिका

काठमाडौं । गुगलले सर्च रिजल्टबाट व्यक्तिगत पहिचान खुल्ने सूचना हटाउन सकिने विकल्पलाई विस्तार गर्ने भएको छ । यदि तपाईँ गुगल सर्च रिजल्टमा देखिनेगरी सूचिकृत भएको आफ्नो फोन नम्बर, ई-मेल अकाउन्ट त्यसबाट हटाउन चाहनुहुन्छ भने अब त्यसका लागि अनुरोध गर्न पाउनु हुनेछ ।

त्यसो त गुगलले वर्षौँ पहिले देखि सर्च रिजल्टमा देखिने व्यक्तिगत सूचना हटाउने अनुरोधलाई स्वीकार गर्दै आएको छ । जसमा आर्थिक ठगीमा प्रयोग हुन सक्ने बैंक अकाउन्ट डिटेल तथा क्रेडिट कार्ड नम्बर रहेका छन् ।

तर  आफ्नो व्यक्तिगत सूचना इन्टरनेटबाट हटाइदिन भन्दै मानिसहरूबाट माग बढ्दै गएपछि अब नयाँ नीतिले त्यसलाई समेत सम्बोधन गर्ने भएको हो । 

‘व्यक्तिगत सम्पर्क सूचना अनलाइनमा उपलब्ध हुने कुराले समस्या पैदा गर्न सक्छ र यो नचाहिँदो किसिमको सिधा सम्पर्क अथवा भौतिक जोखिम लगायतका हानिकारक तवरमा प्रयोग हुनसक्छ । सँगसँगै मानिसहरूले यस किसिमका सूचना सर्चबाट हटाउन सकिने उपायको लागि सुझाव समेत प्राप्त भएका छन्,’ गुगलले आफ्नो ब्लग पोस्टमा लेखेको छ ।

व्यक्तिगत जानकारी हटाउने प्रक्रियाले कसरी काम गर्छ  ?

गुगलले सहयोगी तथा उपयोगी सूचनाको उपलब्धता सीमित नहुने सुनिश्चितताका साथ सर्चमा देखिने व्यक्तिगत जानकारी हटाउने अनुरोधको मूल्याङ्कन गर्नेछ । सरकारी वेबसाइट तथा आधिकारिक स्रोतमा रहेका सार्वजनिक दस्तावेजको अंशको रुपमा रहेका सम्पर्क सूचना भने हटाइने छैन ।

तर यहाँनिर विचार गर्नुपर्ने कुरा के छ भने गुगल सर्चबाट तपाईँको सम्पर्क सम्बन्धी जानकारी हटाउनु भनेको इन्टरनेटबाटै त्यसलाई नामेट पार्नु भने होइन । यस्ता सूचना गुगल सर्चबाट हटाइए पनि अन्य सर्च इन्जिनमा भने फेला पर्न सक्छन् ।

तपाईँको सूचना निजी तवरमा सुरक्षित राख्न सबैभन्दा राम्रो तरिका भनेको उक्त सूचना तथा जानकारी होस्ट गर्ने वेबसाइटसँग नै सोझै सम्पर्क गर्नु हो । गुगलबाट आफ्नो व्यक्तिगत सूचना हटाउनका लागि तपाईँले यहाँ क्लिक गरी अनुरोध गर्न सक्नुहुन्छ । कम्पनीको भनाइमा यसबाट प्राप्त अनुरोध सामान्यतया केही दिनभित्रै प्रक्रियामा अगाडि बढ्ने गर्दछन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२