close

कानुन विपरीत मोडिफाई गरेको भन्दै ट्राफिकले हटायो गृहमन्त्री र गृहसचिवको गाडीबाट कालो सिसा

टेकपाना टेकपाना

असार १५, २०८३ १८:३५

कानुन विपरीत मोडिफाई गरेको भन्दै ट्राफिकले हटायो गृहमन्त्री र गृहसचिवको गाडीबाट कालो सिसा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सवारीबाट कालो सिसा हटाएको छ । कानुन विपरीत सवारी साधनको स्वरूप परिवर्तन गरेको भन्दै सोमबार ट्राफिक प्रहरीले सिसा हटाएको हो । 

टेकपानासँग कुरा गर्दै कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले गृहमन्त्री गुरुङ र गृहसचिव श्रेष्ठको सवारीबाट कालो सिसा हटाइएको जानकारी दिए ।

“सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ३९ र त्यससँग जोडिएको अन्य नियम अनुसार सवारीधनीले अधिकार प्राप्त अधिकारीको स्वीकृती नलिई रङ, सिट संख्या, स्वरूप, इन्जिन वा चेसिस परिवर्तन गर्न हुँदैन,” प्रहरी उपरीक्षक सुवेदीले भने, “कानुन विपरित भएपछि हामीले आइतबारदेखि नै सवारीमा राखिएका कालो सिसा हटाउन थालेका छौं ।” 

अपारदर्शी सिसा हुँदा सवारी साधनमा गैरकानुनी काम हुनसक्ने उनले बताए । “बाहिरबाट नदेखिने भयो भने त भित्र हिंसा गरिरहेको हुनसक्छ, हुण्डीको कारोबार गरेको हुनसक्छ, फरार व्यक्ति हुन सक्छ वा त्यस्तै अन्य अपराधजन्य काम गर्न सक्छ ।” स्वीकृति नलिएर गरिने मोडिफाई गैरकानुनी हुने भएकाले सबै किसिमका सवारीबाट पछि थपिएका सिसा हटाउन थालेको उनले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: असार १५, २०८३ १८:४२