काठमाडौं । कतिपय अवस्थामा हाम्रो स्मार्टफोनको पावर बटनले काम गरेको हुँदैन । त्यस्तो बेला फोन रिस्टार्ट गर्नपर्यो भने हामी अनेक उपाय अपनाउँछौं ।
आज हामी त्यस्तो उपाय बताउँदैछौं, जसको माध्यमबाट पावर बटन प्रयोग नगरी तपाईंले फोन रिस्टार्ट गर्न सक्नुहुन्छ । एन्ड्रोइड डिभाइसमा त्यस्ता विभिन्न विधि छन्, जसका माध्यमबाट पावर बटन प्रयोग नगरी फोन रिस्टार्ट गर्न सकिन्छ ।
कन्ट्राेल प्यानलकाे प्रयाेग
तपाईंले आफ्नो फोनमा रहेको कन्ट्रोल प्यानलबाट सहजै फोन रिस्टार्ट गर्न सक्नुहुन्छ । त्यसका लागि सबैभन्दा पहिले कन्ट्रोल प्यानललाई स्क्रोल डाउन गर्नुहोस् । त्यसमा वाई-फाई, ब्लुटुथ, डेटा आदिका अप्सन हुन्छन् ।
यदि त्यस पेजमा फोन रिस्टार्टको अप्सन देखिएन भने त्यसलाई एक्सपान्ड गर्नुहोस् । एन्ड्रोइड फोन अनुसार पावर अफ वा रिस्टार्ट गर्ने अप्सन तल वा माथि हुनसक्छ ।
हामीले प्रयोग गरिरहेको स्मार्टफोन (सामसङ ग्यालेक्सी एम६२) मा रिस्टार्टको अप्सन कन्ट्रोल प्यानलको माथिपट्टि रहेको छ ।
चार्जमा राखेर पावर अन गर्ने तरिका
कतिपय यस्ता फोन छन्, जो चार्जमा राख्दा स्टार्ट हुन्छन् । फोनको पावर बटनले काम नगर्दा त्यस्ता फोनमा यो विधि अपनाउन सक्नुहुन्छ । यो सबै फोनमा लागू हुन्छ भन्ने छैन ।
कुनैबेला तपाईंको फोनको पावर बटनले काम नगर्दा फोनलाई वेकअप गराउन पर्ने हुन्छ । त्यस्तो अवस्थामा फोनलाई चार्जमा राखेर प्लगको स्विच अन अफ गर्न सक्नुहुन्छ । यसरी फोनलाई वेकअप गर्न सकिन्छ ।
एडीबी
फोनको पावर बटन प्रयोग नगरी फोन रिस्टार्ट गर्ने सबैभन्दा उपयुक्त विधि एडीबी (android debug bridge) हो । यसले तपाईंको डिभाइस पावर अन भएको खण्डमा मात्र काम गर्छ ।
त्यसका लागि तपाईंले आफ्नो डिभाइसमा एडीबी इन्स्टल गर्नुपर्ने हुन्छ । एडीबी इन्स्टल गरेर आफ्नो पीसीबाट त्यहाँ देखाइएको प्रक्रिया अपनाई आफ्नो फोन वा ट्याब्लेट रिस्टार्ट गर्न सक्नुहुन्छ ।