काठमाडौं । एलन मस्कले ट्वीटरको सम्पूर्ण स्वामित्व आफ्नो हातमा लगिसकेपछि त्यसमा केही परिवर्तन ल्याउने घोषणा गरेका छन् । आजसम्म प्रयोगकर्ताले निःशुल्क प्रयोग गरिरहेको ट्वीटरमा भने अब केही प्रयोगकर्ताले पैसा तिरेर प्रयोग गर्नुपर्ने छ ।
मस्कले बुधबार विहान एक ट्वीट गर्दै अब केही प्रयोगकर्ताले ट्वीटर प्रयोग गर्न शुल्क तिर्नुपर्ने बताएका छन् । ‘सामान्य प्रयोगकर्ताका लागि ट्वीटर सधैँ नि:शुल्क हुनेछ । तर, व्यापारिक वा सरकारी प्रयोजनका लागि प्रयोग गर्न केही शुल्क तिर्नुपर्नेछ,‘ उनले ट्वीटमा भनेका छन् ।
उनको ट्वीटलाई आधार मान्य हो भने सरकारी वा व्यवसायका लागि ट्वीटर प्रयोग गर्ने कम्पनी वा संस्थाले ट्वीटर प्रयोग गरेवापत केही शुल्क तिनुपर्ने हुन्छ ।
मस्कले ट्वीटरको पूर्ण स्वामित्व आफूमा लिनुपूर्व नै त्यसमा परिवर्तन ल्याउने बताउँदै आएका थिए । उनले ट्वीटरमा ‘एडिट’ बटन ल्याउने भनिसकेपछि त्यो विश्वव्यापी रूपमा चर्चाको विषय बनेको थियो ।
त्यस्तै उनी केही समय अघिबाट ट्वीटर किन्न प्रयासरत थिए । तर, त्यसबेला ट्वीटर किन्ने विषय निकै विवादित बनेको थियो । त्यसको केही समयपछि मस्कले २५ अप्रिलमा ४४ अर्ब डलरमा ट्वीटरको सम्पूर्ण स्वामित्व खरिद गर्ने सम्झाैता गरेका थिए ।
Twitter will always be free for casual users, but maybe a slight cost for commercial/government users