close

एलेक्जा डटकम बन्द भएपछि यस्ता छन् साइट र्‍याङ्किङ हेर्ने ४ विकल्प

टेकपाना टेकपाना

बैशाख २२, २०७९ ८:४२

एलेक्जा डटकम बन्द भएपछि यस्ता छन् साइट र्‍याङ्किङ हेर्ने ४ विकल्प

काठमाडौं । करिब २६ वर्षदेखि वेबसाइटको ट्राफिक विश्लेषण र र्‍याङकिङ गरिरहेको प्रख्यात वेबसाइट एलेक्जा डटकम बन्द भएको छ ।

एलेक्जा विगत २५ वर्षदेखि सञ्चालनमा थियो । यसले वेबसाइटमा आउने ट्राफिक डेटाका आधारमा वेबसाइटहरूको मापन गर्नेगर्थ्याे भने त्यसैका आधारमा कुन देशमा कुन वेबसाइट कति औं नम्बरमा छ, विश्वमा कति स्थानमा छ भन्ने जानकारी लिन सकिन्थ्यो ।

त्यतिमात्रै नभएर यसले कुनैपनि वेबसाइटको एसईओ, अन्य प्रतिस्पर्धी कम्पनीको वेबसाइटको एनालिटिक डेटा समेत उपलब्ध गराउँदै आएको थियो ।

यदि तपाईं पनि आफ्नो वेबसाइटको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय र्‍याङकिङ पत्ता लगाउन, कुन किवर्ड सर्वाधिक खोजिएको छ भन्ने कुरा जान्न एलेक्जा साइट र्‍याङ्किङ प्रयोग गर्नुहुन्थ्यो भने तल उल्लेख गरिएका चार साइट उपयुक्त विकल्प हुनसक्छ ।  

सिमिलर वेब (similarweb)

सिमिलरवेब निःशुल्क वेबसाइट ट्राफिक तुलना गर्ने सकिने एक भरपर्दो माध्यम हो । यसको माध्यमबाट तपाईंले कुनै पनि वेबसाइटको विश्वव्यापी, देशव्यापी र क्याटेगोरी अनुसारको र्‍याङ्क हेर्न सक्नुहुन्छ ।

त्यस्तै सिमिलरवेबका माध्यमबाट प्रयोगकर्ताले आफ्नो प्रतिस्पर्धी, वेबसाइटको र्‍याङ्क तुलना र इन्गेजमेन्ट रेट हेर्न सकिन्छ ।

एलेक्जा डटकममार्फत साइट र्‍याङ्किङ, वेबसाइट ट्राफिक तुलना गर्नेहरूका लागि सिमिलरवेब उपयुक्त विकल्प हुनसक्छ ।

सामान्य सेवाका लागि निःशुल्क प्रयोग गर्न सकिने सिमिलरवेबकाे प्रिमियम सेवा प्रयोग गर्न मासिक २०० डलर शुल्क तिर्नुपर्छ ।

स्पाईफु (SpyFu)

एलेक्जा डटकमको विकल्पमा प्रयोग गर्न सकिने अर्को वेबसाइट हो, स्पाईफु। स्पाईफुका माध्यमबाट किवर्ड र्‍याङ्किङ ट्र्याक गर्न, अर्ग्यानिक प्रतिस्पर्धा जाँच गर्न, प्रतिस्पर्धीको पीपीसी किवर्ड हेर्ने लगायतका काम गर्न सकिन्छ ।

सिमिलर वेबभन्दा यसमा के विशेषता बढी छ बने तपाईंले यसमा डेटा पीडिएफ, सीएसभी वा एक्जल फाइलमा डाउनलोड गर्न सक्नुहुन्छ ।

सामान्य सेवा निःशुल्क प्रयोग गर्न सकिन्छ भने प्रिमियम फिचर प्रयोग गर्न मासिक ३३ डलर शुल्क तिर्नुपर्छ ।

सेर्पस्टाट (Serpstat)

यदि तपाईं किवर्ड रिसर्च, वेबसाइटको विश्लेषण, र्‍याङ्किङ ट्रयाक, साइट अडिट, प्रतिस्पर्धी विश्लेषण गर्न भरपर्दो साइट खोजी रहनुभएको छ भने सेर्पस्टाट उपयुक्त विकल्प हुनसक्छ ।

यसका सामान्य फिचरहरू निःशुल्क प्रयोग गर्न सकिन्छ भने सशुल्क सेवा प्रयोग गर्न मासिक ६९ देखि ३४९ डलरसम्म तिर्नुपर्ने हुन्छ ।

उबर सजेस्ट (Ubersuggest)

एलेक्जाको विकल्पमा निःशुल्क प्रयोग गर्न सकिने अर्को वेबसाइट हो, उबर सजेस्ट । यसका माध्यमबाट डोमेन ओभरभ्यु, टप र्‍याङ्किङ पेजको ड्याशबोर्ड, किवर्ड सुझाव, कन्टेन्ट आइडिया, ब्याकलिंक हिस्ट्री लगायत हेर्न सकिन्छ ।

सुरुवताकर्ताका लागि याे केही सहज र सरल छ । यसमा उपलब्ध सामान्य फिचर निःशुल्क प्रयोग गर्न सकिन्छ भने प्रिमियम फिचरका लागि मासिक २९ डलर तिर्नुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२