म एक जागिरे ठिटो I बल्लतल्ल आफैँ कमाएर सानै भए पनि एउटा गाडी किनौँ भन्ने सोचेँ । अनि १२-१५ लाखमा कुनै ‘सेकेन्ड ह्यान्ड’ गाडीहरू छन् कि भनेर खोज्न थालेँ । बुझ्दै जाँदा विद्युतीय गाडीहरूमा रुचि हुन थाल्यो I विद्युतीय गाडीहरू सबै महँगा थिए I
विद्युतीय गाडीमा १० प्रतिशत मात्र भन्सार भन्सार लाग्छ भन्ने सरकारको नीति रहेको सुनेको थिएँ । तर पनि किन यस्ता गाडीहरू महँगा छन् भनेर थोरै खोजी गर्न थालेँ । बुझ्दै जाँदा वास्तवमा विद्युतीय गाडीहरू बनाउनै महँगो पर्ने रहेछ ।
अनि चीनमा त विद्युतीय गाडीमा क्रान्ति नै आइरहेको थाहा पाएँ I नेटा (NETA) भन्ने कम्पनी ले एकदमै सस्तो मूल्यमा विद्युतीय गाडी बनाएर विश्वभर बिक्री गर्न थालेको रहेछ I मनमनै सोचेँ, यो गाडी नेपाल आयो भने त पक्कै किन्छु I
अनि भर्खरै मात्र सीजी ग्रुपले कम्पनीको नेटा भी मोडलको गाडी नेपाल ल्याउन लागेको समाचार देखेर खुशी भएँ । मनमनै अब त गाडी किन्छु भन्ने निधो पनि गरिसकेको थिएँ । कहिले आउला भनेर कुर्दै थिएँ । अनि भर्खरै नेटा भी मोडेलको मूल्य नेपालमा ३८ लाख रुपैयाँ पर्ने भन्दै एउटा समाचार आयो ।
अचम्म लाग्यो । जुन गाडी चीनमा १२ हजार अमेरिकी डलरमा पाइन्छ, त्यही गाडी नेपालमा आउँदा कसरी ३८ लाख पर्छ ? मैले यो गाडी किन्छु भनेर सोच्दै बस्दा नेपाल आइपुग्दा कति मूल्य पर्छ होला भन्ने लेखाजोखा गरिरहेको थिएँ । चीनमा एक लाख १४ हजार ६०० युआन अर्थात करिब २१ लाख आठ हजार रुपैयाँ पर्ने एमजी हेक्टरको मूल्य नेपाली बजारमा करिब ६१ लाख ४९ हजार रुपैयाँ पर्न आउँछ ।
नेपाल सरकारले विद्युतीय सवारी साधन प्रवर्द्धन गर्न भन्दै जम्माजम्मी १० प्रतिशत भन्सार शुल्क लाग्ने व्यवस्था गरेको छ । त्यस बाहेक १३ प्रतिशत भ्याट लाग्ने हो । नेपाल आइसकेपछि सडक तथा अन्य करहरू पनि छन् ।
यद्यपि विद्युतीय सवारी प्रवर्द्धन गर्न चीन सरकारले स्थानीय उपभोक्तालाई उच्च अनुदानको व्यवस्था समेत गरेको छ । चीनमा जस्तै सस्तो मूल्यमा विद्युतीय गाडी नेपालमा उपलब्ध हुने तर्फ सरकारले अझै पनि विचार पुर्याउनु पर्छ ।
यद्यपि सरकारले जनतालाई सहुलियत दिन र नेपालको विद्युत खपत गरी पेट्रोल डिजलको उपयोग घटाउन आफ्नो ढुकुटीमा आउने केही कर त छूट दिएको छ । तर सरकारको यो नीतिको लाभ जनतासम्म पुगेको छैन कि ?
विश्वभर नै विद्युतीय गाडीहरूको विकास भइरहेको छ I सुरुवाती दौरमा मूल्य महँगो भए पनि क्रमशः घट्दै गएको छ । पावर र रेञ्ज भने बढ्दो छ ।
संसारभरका कम्पनीहरूले विद्युतीय सवारी साधन र त्यसमा प्रयोग हुने ब्याट्रीको अनुसन्धान र विकासमा निकै मेहनत गरिरहेका छन् । नेपाली उपभोक्ताले पनि संसारभरका मान्छेले पाउने जस्तै उचित मूल्यमा उपभोग गर्न पाउनु पर्छ I
सीजीले इन्टरनेट क्षेत्रमा गरेको काम निकै सह्रानीय छ I जसले गर्दा कम्पनीले जनताको वाह वाही पनि पाइरहेको छ I निर्वाण चौधरीको अन्तर्वार्ता हेर्छु, वहाँले ढुक्क छाति फुलाएर भन्नुभएको छ, ‘इन्टरनेटमा अरुले असीमित फाइदा लिएर जनतालाई ठगिरहेका थिए । हामीले उचित मूल्यमा सेवा दियौँ ।’
तपाईँहरूले एउटा क्षेत्रमा मात्र होइन, सबै तिर त्यही नीति अपनाउनुहोस् । तपाईँहरूलाई भारतको टाटा ग्रुप जत्तिकै सम्मान प्राप्त हुनेछ ।
-ब्लग लेखकको व्यक्तिगत तथा निजी विचार हो । विचार पूर्वाग्रही र एकतर्फ जस्तो हुन गएकाले सच्याइएको छ । -स.