काठमाडौं । चिनियाँ स्मार्टफाेन निर्माता साओमीले फ्ल्यागशिप साओमी १२ सिरिजका केही माेडल सार्वजनिक गरिसकेको छ । याे सिरिजको अल्ट्रा माेडल भने अर्को महिना सार्वजनिक हुने भएको छ ।
हालै बाहिरिएको एक रिपोर्टका अनुसार याे फाेनमा ५००० एमएएच क्षमताको ब्याट्री हुनेछ, जुन पहिले नै साओमीका फोनमा उपलब्ध हुँदै आएको थियो ।
साओमी १२ को सबैभन्दा आकर्षक पक्ष भनेको यसको क्यामेरा हो । साओमी ग्रुपका अध्यक्ष, संस्थापक एवं सीईओ लेई जुनले साओमीको नयाँ फ्ल्यागशिपमा लेइकाले विकास गरेको क्यामेरा हुने बताएका छन्, जसले साओमी फोनको क्यामेरा एक्सपिरियन्स र मोबाइल इमेजको क्षमतामा सुधार ल्याउने उनकाे दाबी छ ।
रिपोर्टका अनुसार साओमी र लेइकाले निर्माण गरेको इमेज फ्ल्यागशिपमा तीनवटा रियर क्यामेरा हुनेछन् । यो फ्ल्यागशिप स्मार्टफोनमा एक मुख्य क्यामेरा, एउटा अल्ट्रा-वाइड-एङ्गल र एउटा पेरिस्कोप टेलिफोटो क्यामेरा समावेश हुनेछन् ।
यससँगै मुख्य क्यामेराले अप्टिकल इमेज स्टेबलाइजेसन सपोर्ट गर्ने बताइएको छ । त्यस्तै लेइका इमेज अल्गोरिदमले एटके मुभी र भिडिओ फिल्टर समावेश गर्ने रिपोर्टमा उल्लेख छ ।
वेइबो लिकस्टरका अनुसार यसको मुख्य क्यामेरा २०० मेगापिक्सेलको हुनेछ । त्यस्तै यस फोनले २०० वाट फास्ट चार्जिङ सपोर्ट गर्नसक्ने बताइएको छ ।
साओमी १२ अल्ट्रा स्नापड्रागन ८+ जेन वान चिपसेटद्वारा सञ्चालित हुने बताइएकाे छ ।